समाचार

काठमाडौँ ।
अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) मा सोनम याङ्जोमको ‘बटरफ्लाई भुटान’ ले इसिमोड सर्वोत्कृष्ट पर्वतीय फिल्म पुरस्कार प्राप्त गरेको छ । ‘आफ्टर द स्नोमेल्ट’ ले सर्वोत्कृष्ट फिचर डकुमेन्ट्री जित्दा डोमिनिक साइनरको ‘विन्टर टाइगा’ले सर्वोत्कृष्ट लघु वृत्तचित्र (डकुमेन्ट्री) अवार्ड प्राप्त गरेको छ ।
यसै वर्षबाट थप गरिएको ‘केयू इमर्जिङ फिल्ममेकर’ को अवार्ड भने भारतका मनोहर के।ले जिते । ‘बर्ड अफ अ डिफरेन्ट’ बाट उनले यो अवार्ड पाएका हुन् । ‘सर्वोत्कृष्ट माउन्टेरिङ एन्ड एक्स्प्लोरेसन फिल्म पुरस्कार’ भने केन्जी सुकोमोटो निर्देशित असिमाले जित्यो । फेलिन गेर्हाड्र्टको ‘माइनस १०३ डिग्रिज’ ले यही विधामा ‘स्पेसल मेन्सन’ प्राप्त र्गयो । अन्तर्राष्ट्रिय विधामा, फाम नोच लानको क्यू ली नेभर क्राइज्ले ‘सर्वोत्कृष्ट फिचर फिल्म फिक्सन पुरस्कार’ जित्दा याकुप तेकिन्तान्जाक निर्देशित ‘मोरी’ ले सर्वोत्कृष्ट सर्ट फिक्सन फिल्म जित्यो ।
नेपाल प्यानोरामाअन्तर्गत, सौरभ घिमिरे निर्देशन रहेको ‘सङ्गस अफ लभ एन्ड हेट’ ले सर्वोत्कृष्ट नेपाली फिक्सन फिल्म अवार्ड जित्यो । ७४ औं बर्लिन अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा यो फिल्मले जेनेरेसनतर्फ ‘स्पेसल मेन्सन’ पाएको थियो । फिल्मलाई मिन्सो लिम्बू र मीन भामले निर्माण गरेका हुन् । त्यस्तै साजा सुनुवार निर्देशित ‘छाउ’ ले सर्वोत्कृष्ट नेपाली वृत्तचित्र जित्दा ‘अडियन्स अवार्ड’ अस्ट्रेलियन फिल्मकर्मी कलनी ग्याकनको ‘फ्यामली म्यान’ ले जित्यो ।
यो वर्ष ‘कट कथा’ को लाइभ पिचतर्फ सुस्मिता बोगटीले शान्ता नेपाली प्रोडक्सन पुरस्कारबाट नगद ३ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन् । त्यस्तै श्रेया सिंहले ब्रिटिस काउन्सिल पुरस्कारबाट नगद १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्दा आकृति श्रेष्ठले गोथे सेन्ट्रम पुरस्कारबाट नगद एक लाख जितिन् । ‘खण्डित आवाज, निर्मित भाष्य’ नाराका साथ जेठ १४ देखि काठमाडौंमा सुरुमा भएको किम्फको २२ औं संस्करण आइतबार सम्पन्न भएको हो । महोत्सवमा ३० देशका ६५ भन्दा बढी चलचित्रहरू प्रदर्शन गरिएको थियो ।