• २०८२ आश्विन २२, बुधबार

दोलखाली नेवार भाषा शब्दकोश ‘द्वाल्खा खँकुठी’ लोकार्पण

दोलखा ।

बागमती प्रदेश दोलखाको भीमेश्वर नगरपालिका वडा नं २ द्वाल्खा नगर निवासी संस्कृतिप्रेमी तथा जेष्ठ नागरिक यज्ञकुमार प्रधानको ‘द्वाल्खा खँकुठी’ (दोलखा नेवार भाषा शब्दकोष) लोकार्पण भएको छ । नेपाल भाषा एकेडेमीका चान्सलर एवम् नेवाः देय् दबूका संरक्षक मल्ल के. सुन्दरको अध्यक्षता तथा अमेरिकाको क्यालफिोर्नियामा जन्मेर हाल अबुधाबीस्थित विश्वविद्यालयमा भाषाशास्त्र अध्यापन गरिरहेकी डा. क्यारोल जिन्नेटको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा नेपाल भाषा एकेडेमीका नरेन्द्रकुमार प्रधानले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

नेपाल भाषा एकेडेमीका मुख्य व्यक्तित्वहरू लगायत अमेरिकी निवासी पावल (क्यारोलका पति महोदय), अबुधावीस्थित विश्वविद्यालयमा अध्ययनरत विभिन्न देश (जापान, चीन, कजाकिस्तान, घाना, कोरिया लगायत) का विद्यार्थीहरूको उपस्थिति रहेको थियो । साथै दोलखाली विशिष्ट व्यक्तित्वहरूको साथमा दोलखाली संघसंस्थाका अध्यक्षहरूको सहभागी रहेको थियो । नेपाल भाषा एकेडेमीका चान्सलर मल्ल के. सुन्दर, प्रमुख अतिथि अमेरिकी नागरिक प्रा. डा. क्यारोल जिन्नेट, शब्दकोष लेखक तथा संकलक यज्ञकुमार प्रधानको लोकार्पित ‘द्वाल्खा खँकुठी’ नामक यो शब्दकोष १०६ पृष्ठको छ । जसमा चार भाषा समावेश छ ।

यस पुस्तकको प्रकाशन नेपाल भाषा एकेडेमी रहेको छ भने पुस्तक प्रकाशन तैयारीका लागि कालिञ्चोक युवा क्लवका अध्यक्ष अनिलचन्द्र श्रेष्ठको देन छ। दोलखाली युवा उज्ज्वल प्रधानद्वारा सञ्चालित कार्यक्रममा प्रोफेसर डा. क्यारोल जिन्नेट, चान्सलर मल्ल के. सुन्दर, अमरकुमार प्रधान र पुस्तक लेखक यज्ञकुमार प्रधानले आआफ्नो विचार व्यक्त गरेका थिए ।