समाचार

काठमाडौं,
गायक प्रकाश दूतराजलाई ‘नूर-गंगा नवप्रतिभा राष्ट्रिय लोकगायन पुरस्कार २०८१-’ प्रदान गरिएको छ । लोकगीतको संरक्षण र प्रवर्धनमा र्पुयाएको योगदानको कदर गर्दै पुरस्कार गुठीले नगद २५ हजार रुपैयाँसहित पुरस्कृत गरेको हो । म्याग्दी घर भएका दूतराज मौलिक लोकगीत सिर्जनामा सक्रिय छन् । ‘घर कता हो बैनीको’, ‘रिमै’, ‘रेशम’लगायत उनका गीतहरू युट्युबमा चर्चित छन् । हालै सार्वजनिक गरेको ‘रामसाइँली’ गीत पनि चर्चित छ ।
उनले साम्राज्ञी शाह र रिहान गिरीसँगको फिल्म ‘आहुतीः द वे अफ चेन्ज’बाट फिल्म अभिनयमा समेत डेब्यु गरेका छन् । गुठीले यस वर्ष विभिन्न पाँच स्रष्टालाई पुरस्कृत गरेको छ । ‘नूर-गंगा स्थापित राष्ट्रिय बालसाहित्य पुरस्कार’ रामबाबु सुवेदी (कास्की) र रामकुमार पाण्डे (ललितपुर)लाई प्रदान गरिएको छ । ‘नूर–गंगा स्थापित क्षेत्रीय लोकगायन पुरस्कार’ रूपन्देहीका डिल्लीनारायण पाण्डेले प्राप्त गरे भने ‘नूर-गंगा क्षेत्रीय साहित्य पुरस्कार’ सागर पौडेल (रूपन्देही) लाई प्रदान गरिएको हो । नूर–गंगा प्रतिभा पुरस्कार गुठीको स्थापना २०४९ सालमा भएको हो ।