समाचार
								
							काठमाडौँ ।
कन्नड लेखिका बानु मुश्ताकले २०२५ को बुकर पुरस्कार जितिन, कन्नड पुस्तकले पहिलो पटक यो सम्मान पाएको हो । मुश्ताकले कथा सङ्ग्रह ‘हर्ट ल्याम्प’ का लागि पुरस्कार प्राप्त गरिन्, जसलाई दीपा भाष्टीले अङ्ग्रेजीमा अनुवाद गरेकी थिइन् । ‘हर्ट ल्याम्प’ दक्षिण भारतको पितृसत्ताको शोकगाथा हो, जसमा १९९० देखि २०२३ सम्म लेखिएका कथाहरू समावेश छन् ।
नयाँ दिल्ली, भारतकी कन्नड भाषाकी लेखिका बानु मुश्ताकले २०२५ को लागि बुकर पुरस्कार प्राप्त गरेकी छिन् । कन्नड भाषाको पुस्तकले यस्तो सम्मान पाएको यो पहिलो पटक हो । बानु मुश्ताकले आफ्नो कथा सङ्ग्रह ‘हर्ट ल्याम्प’ को लागि सो पुरस्कार जितेकी हुन् । किताबलाई दीपा भाष्टीले अङ्ग्रेजीमा अनुवाद गरेकी थिइन् । २० मे, मंगलबार राति टेट मोडर्नमा आयोजित एक समारोहमा बानुले उनको पुस्तकको अनुवादक दीपा भाष्टीसँगै पुरस्कार ग्रहण गरिन् । बानु एक लेखक, वकिल र सामाजिक कार्यकर्ता पनि हुन् । उनको यो कृति उर्दू, हिन्दी, तमिल र मलयालममा पनि अनुवाद गरिएको छ । सानै उमेरदेखि लेख्दै आएकी मुश्ताक पत्रकार पनि हुन् । उनले २९ वर्षको उमेरदेखि चाहिँ व्यावसायिक रूपमा आफ्ना अनुभवहरू लेख्न थालेकी थिइन् ।
उनका कथाहरूले महिला जीवनका विभिन्न समस्याहरूलाई औँल्याउँछन् । कथाका साथै उनले उपन्यास, निबन्ध र कविता पनि लेखे । उनको उपन्यास ‘करी नगरागालु’ माथि २००३ मा हसिना नामको फिल्ममा बनाइएको थियो ।
हार्ट ल्याम्प १२ कथाहरूको सङ्ग्रह हो । यी कथा दक्षिण भारतको पितृ सत्ताको शोकगाथा हो । दीपा भाष्टीले २०२२ देखि यी कथाहरूको अनुवाद गर्न थालेकी थिइन् । समग्रमा पुस्तकमा भएका कथाहरू ३० वर्षभन्दा बढीको अवधिमा लेखिएको थियो । ‘हार्ट ल्याम्पले धेरै वर्षपछि अङ्ग्रेजी पाठकहरूका लागि केही नयाँ कुरा ल्याएको छ ।
यसले अनुवादसम्बन्धी हाम्रो बुझाइलाई चुनौती दिएको छ ।’ बुकर २०२५ निर्णायक मण्डलका अध्यक्ष लेखक म्याक्स पोर्टरले भनेका छन् । आफ्नो कृतिले बुकर पुरस्कार पाउनुलाई बानु मुश्ताकले विविधताको जित भनेकी छिन् ।
