• २०८२ भाद्र ३१, मंगलवार

डम्बर बिकेलका दुई गीत

डम्बर बिकेल

डम्बर बिकेल

राम्री पनि कति राम्री

केटाः राम्री पनि कति राम्री अप्सरा मात खाने
जाने भए हुन्छ भन म त भएँ लाने
चट्ट कम्मर छिनेको
मायालाई मैले बल्ल चिनेको

केटीः राम्रो पनि कति राम्रो गन्धर्व जस्तै ठानेँ
लाने भए हुन्छ नि हौ म त भएँ जानेँ
चट्ट शरीर मिलेको
मायालाई मैले बल्ल चिनेको

केटा: गुलाबी छ ओठै तिम्रो अनार जस्तै दाँत
केटी: ओठ खोली हाँसिदिन्छु लागोस् तिम्लाई मात
केटा: जाती पनि कति जाती आफ्नै मान्छे मानेँ
केटी: लाने भए हुन्छ नि हौ म त भएँ जाने
केटा: चट्ट कम्मर छिनेको
मायालाई मैले बल्ल चिनेको
केटी: चट्ट शरीर मिलेको
मायालाई मैले बल्ल चिनेको

केटी: मोहनी छ हेराइ तिम्रो साह्रै मीठो बोली
केटा: मुख खोली बोलिदिन्छु लागोस् तिम्लाई गोली
केटी: बेस पनि कति बेस आफ्नै मान्छे मानेँ
केटा: जाने भए हुन्छ भन म त भएँ लाने
केटी: चट्ट शरीर मिलेको
मायालाई मैले बल्ल चिनेको
केटा: चट्ट कम्मर छिनेको
मायालाई मैले बल्ल चिनेको

जहाँ गयो उहीँ माया बसाउने

जहाँ गयो उहीँ माया बसाउने
जस्लाई भेट्यो उसैलाई फँसाउने
मनै जाली छ
बाहिर बाहिर देखिने न्यानो माया भित्र खाली छ

पोहोर साल पूर्वमा एउटी थी अरे
परार साल पश्चिममा नि अर्कै थी अरे
यसपालि मसँग नि ठिकै छ
फूल जडे नि दिलभरि फिकै छ
मनै जाली छ
बाहिर बाहिर देखिने मीठो बोली भित्र गाली छ

अर्कीसँग तिमी बाहेक कोही छैन भन्छौ रे
रुँदैरुँदै वाचा गरी किरिया खान्छौ रे
यसरी मसँग नि ठिकै छ
रङ जडे नि दिलभरि फिकै छ
मनै जाली छ
बाहिर बाहिर देखिने सुन्दर फूल भित्र फाली छ ।


डम्बर बिकेल