• २०८१ पौष २९ सोमबार

हारिरहेछ देश

बसन्त चौधरी

बसन्त चौधरी

आधुनिक महाभारतको
नयाँ अध्याय
फेरि सिर्जना भयो
लोकतन्त्रको चीरहरण
एकपटक फेरि हुँदैछ
मौन छ कृष्ण
र मनमानी गरिरहेछ द्यूतसभा
देशको अस्मितासँग
खेल्दै पासा
ठटाउँदै तिघ्रा !

दिग्भ्रमित छन् देशवासी
भ्रमले रूमल्याइएको
कुरुक्षेत्रभरि
शकुनिका जालहरू
यत्रतत्र छन् बिछ्याइएका
अन्योल समयमा
खोज्ने कहाँ गाण्डीवधारी  !

देशको नाउँमा
देशलाई नै बन्दकी राखेर
देशको इज्जत ढाक्न
व्यस्त छन् चारैतिर
भेषधारी अर्जुन

अर्जुन
आज निरस्त्र लाचार छ
गाण्डीव खोसिएको छ
र पटकपटक,
छलिएका छन् देशवासी
नक्कली पाण्डु पुत्रहरूबाट
अर्जुनको नाममा
यो स्वार्थको महाभारत
गरिरहेछन् मनोमानी
लोकतन्त्रको स्टिकर टाँसेर
गरिरहेछ तानाशाहातन्त्रको
खेती
उमार्दै छन्
भ्रष्टाचार, बेतिथि र विकृति

हारिरहेछ देश !!

साभार: तिमीविनाको म(कवितासङ्ग्रह)


[email protected]
(चौधरी विशिष्ट साहित्यकार हुन् ।)