समाचार

एउटा पहाडको टाकुरामा
केवल पहाड चढेरै पुगिँदैन-
बाटामा पर्ने
असंख्य चुनौतीका बारहरू
पार गर्नुपर्छ संगसंगै ।
शिखर छुन
नाघ्नुपर्छ केही थुम्काहरू
केही कुइनेटा,
केही ढुङ्गेनी बाटाहरू
केही हिलाम्मे माटो,
केही भुमरी, केही हुरी
केही फुट्नै आँटेका हिमतालहरू
बर्बर र हिंश्रक जङ्गलहरू-
हिँड्दै गर्दा
झेल्नुपर्छ ज्यानमारा चट्याङहरू पनि ।
छिचोल्नुपर्छ-
केही साँघुरा गल्छेडाहरू,
केही भञ्ज्याङ
केही देउराली
पैताला पोल्ने तातो बगर
केही हिमपात, केही झरी
चिप्ला रातमाटे तर्पेनीहरू
शिरमै खस्न खोज्ने पहराहरू ।
घुम्नुपर्छ केही फेरोहरू,
मोेडिनुपर्छ केही घुम्तीहरू
तर्नुपर्छ केही खहरेहरू
केही छहराहरू, भूमरीहरू
नाघ्नुपर्छ केही तरेलीहरू
उत्साह हराएका मझौला पहाडहरू ।
चिर्नुपर्छ-
घोर कालरात्रीहरू
केही असफलता
केही थकान, केही निराशा
केही अप्रत्यासित रूकावटहरू पनि ।
शिखर चुम्न
पन्छाउनै पर्छ-
बाटो छेक्ने शीतल चौतारीहरू
केही मायावी इन्द्रेणीहरू
मोहमा अल्झाउने केही सौन्दर्यहरू-
अचानक आउने ओरालीका पाटाहरू पनि ।
भूगोलको यात्राझैँ
जिन्दगीको यात्रामा पनि
अनन्त सकसहरू हुन्छन्
आरोह-अवरोह हुन्छन्
र हुन्छन्-
आँधीबेहेरीले दिशाविहीन बनाएको
डुंगाको यात्राजस्तै
लक्ष्य नजिकै पुगेर पनि
अचानक बाटो बदल्नुपर्ने केही जोखिमहरू ।
घोडा चढ्न
घोडाको लात सहने साहस हुनुपर्छ,
खोला तर्न
खोलासँगै बग्ने आँट गर्नुपर्छ,
उकालो चढ्न पनि
फेरि फेदी झर्ने हिम्मत जुटाउनुपर्छ-
जहाँबाट सुरू हुन्छ
संघर्षको नयाँ अध्याय ।
भूगोलको उकालो चढ्नजस्तै
जीवनको उकालो चढ्न पनि
धैर्यताको अपरिहार्य भूमिका हुन्छ ।
दिपक चौलागाई