परासी ।
नवलपुर र चितवन क्षेत्रतिरका मान्छेहरू थियौं हामी तीर्थयात्रीहरू । हाम्रो परिवारका म, मेरी श्रीमती रिता, भाइ केशब र बुहारी सरिता । अघिल्लो दिन साँझ मात्र गया पुगेर बास बसेका । त्यसको भोलिपल्ट बिहानैदेखि पितृका नाममा श्राद्ध लगायतका कार्यहरू गर्न ब्यस्त थियौं हामी । यी विषयहरूमा यस अघिकै तीर्थयात्रा संस्मरण (गया तीर्थ र बाको अनुहार, अक्षरङ्ग, २०८१, असोज ११) मा उल्लेख भैसकेका सकेका छन् ।
‘मुण्डे मुण्डु मतिर भिन्न’ धेरै थरिका मान्छेको व्यवहार र सोंचहरू बेग्ला बेग्लै हुँनु कुनै अनौंठो कुरा भएन । यस्ता घटना हाम्रो यात्राका क्रममा पनि देखिए । कोहि भन्थे ‘पिसाब लाग्यो,’ कोहि गाडी किन रोकेको ?’ ‘एसि चलाउ, ‘बन्द गर,’ झ्याल खोल, बन्द गर । कोहि चुप लागेर बस्ने तर कोहि भने हल्ला गरिरहने । गित बजा, नबजा । यस्तै यस्तै बिचित्रका ब्यवहार देखाइरहन्थे हाम्रो बसका यात्रीहरूले । बस रोकेका बेलामा बाहिर निस्कने र बेलैमा नआउने । तिनै साथी खोज्न जाने भन्दै गएकाहरू पनि उतै हराउने । यस्ता घटनाहरू त कति हुन् कति ? विशेषतः अलि चलाख छुझैं गर्ने एकजना लामो टुप्पी पालेका भाइ र उन्को समुहमा देखा परिरहन्थे यस्ता समस्याहरू । भारतमा धेरैले मोवाइल चलाउने मेसो नपाउँदा पनि बेला बेलामा अनेक तरहका समस्या थपिन्थे । मोबाइलको महत्त्व त खुबै खड्कियो त्यो बेला । हामी सबैमा मोबाइलको लत कति बसेको रहेछ ? भन्ने अनुभुती गरीयो धेरैले । यस्तै विषयहरूलाई लिएर बेला बेलामा ठाक्क ठुक्क परिरहन्थ्यो बसका यात्रीहरूका बिचमा ।
आइपरेका हरेक समस्याहरू गएर ठोकिन्थे यात्राका ब्यबस्थापक मनुलालसंग । उनी सबैलाइ आफ्नो क्षमताले भ्याएसम्म सहजिकरणको प्रयत्न गरिरहन्थे । अनाहकमा निहुँ खोज्नेहरूलाइ पनि नम्र भाषामा सम्झाउँने प्रयत्न गरिरहन्थे । सम्झाउन नसके आफैँ मौंन बस्ने उनको यो तरिका जाति नै लाग्यो मलाई पनि । धेरै थरिका मान्छेहरूलाई लिएर हिंड्दा पाइने हण्डर बारम्बार भोगी नै रहे ठेकेदार र उनको टिम(स्टाफ)ले । यस्तो काम गर्न लरोतरो सहनशीलता बिना सम्भब नहुँने रहेछ भन्ने अनुभव भइनै रह्यो । हुनत यस्तो परिस्थितीमा चुप लागेर बस्नु नै ठिक हो । तर अनावश्यक कुरामा समय बितिरहेकाले हामी जस्ता धेरैको मन भने पिरोलिइ रहेको थियो । यस्तै यस्तै अलमलका बिच दिउँसोको करिब पाँच बजी पो हालेछ गया मै ।
अनि मलाइ खड्कीरहेको अर्को कुरा । मन्दिर वा तीर्थस्थल पुग्ने बित्तिकै प्रायः धेरै मानिसहरूको ध्याउन्न भाकल, दर्शन वा पुजापाठ तिर मात्र जाने गर्दछ । त्यसो भएपछि ती स्थानहरूको ऐतिहासिक, भौगोलिक, सामाजिक सांस्कृतिक र पर्यटकीय महत्व तर्फ ध्यानै पुग्दैन । अनि त कुहिरो लागेको बेला यात्रा गरेकाले आँधिखोला कस्तो थियो कस्तो ?’ भने जस्तै त हुँने भो ।
हामी बोधगयामा:
गया क्षेत्रलाई बिहारको आध्यात्मिक राजधानि नै मानिन्छ । उसो त पाल्हि भाषामा बिहारको अर्थ बौद्ध भिच्छुहरू बस्ने ठाउँ वा आवास’ भनेर बुझिदो रहेछ । संस्कृत भाषामा चैं ‘शिक्षा आर्जन गर्ने ठाउँ’ भन्ने बुझिन्छ क्या रे । अब गयाबाट बोधगयातर्फ लाग्दै थियौं हामी । त्यै भएर पनि कताकता फुरूङ्ग हुँदै थियो यो मन । चार पाँच किलोमिटर पारगरी सकेपछि खानाको बन्दोवस्तिमा रोकिने कुरा भो । हुनपनि हो, जहाँगए पनि चारो (खाना)को जरूरत त परि नै हाल्ने । ‘शरिरलाइ कष्ट दिएर भन्दा एकाग्रता र चित्त शुद्धिले मात्र फल(ज्ञान) प्राप्त गर्न सकिन्छ ।’ आफै भुक्तभोगी भएर नै सिद्धार्थ गौतम बुद्ध (जन्म ई.पु. ५६३, लुम्बीनी)ले यस्तो उपदेश दिनुभएको होला । नदीको किनारमा रहेको एउटा मन्दिर प्राङ्गणमा रोकीयौं हामी । नदीको तटैमा रहेकोे त्यो स्थल अलि खुल्ला र रमणिय देखियो । गायातिरझैं लुप्त अवस्थामा नभइ सतह मै कल्कल् बगिरहेको देखिन्थ्यो फाल्ग नदीको पानी । अनि परैसम्म देखिए विशाल र हरियाली फाँटहरू । र अलि पर पट्टि देखिए ससाना र हरिया पहाडका बुकुराहरू । याने कि ससाना पहाडहरूले वरिपरीबाट घेरिएको रहेछ यो गया उपत्यका । वास्तवमा अन्यत्रको भन्दा त्यो क्षेत्रको पर्यावरण अलि फरक थियो भन्दा पनि हुने । त्यसैले त्यतै–त्यतै बसिरहुँझैं पनि लाग्ने । आखिर अवकाश पछिको जीवनमा त्यस्ता परिदृश्यहरू देख्दा धेरैको मन वहकिनु अनौठो पनि त भएन ।
खाना पकाइवरी कपाकप् खाइयो, भोकको झोंकमा । त्यस पछिको हाम्रो यात्रा सोझियो बोधगयातर्फ । साँझको करिब सातबजेतिर मन्दिरै मान्दिर र बिहारहरू भएको स्थानमा पुगेछौं । त्यहिं रहेछ सिद्धार्थ गौतमले बुद्धत्व प्राप्त गर्नु भएको स्थान, बोधगया । अलिपर पुर्वमा देखियो उहि निरंजना(फाल्गु) नदी पनि । समय घर्किसकेकाले हतपत् हज्जारौं दर्शनार्थीहरूका भिडभाडमा मिसियौं हामी । गेटबाट भित्र छिर्ना साथ यो मन पनि शान्तिमार्गतर्फ डोरिएझैँ महसुस हुन थालिहाल्यो । सायद त्यहाँको त्यस्तै वातावरणले गर्दा पनि होला । बुद्ध र बुद्ध धर्मसंग जोडिएका अनेकौं प्रतिमा र संरचनाहरू देखिए त्यहाँ । बोधगया परिशर भित्रका थाइ मन्दिर, बुद्धको विशाल मुर्ती, सुजाता स्तुफा, महाबोधी लगायतका मन्दिर एवं बिहारहरू ।
अन्तिममा छिरियो सम्राट अशोकद्वारा स्थापित शिखर शैलिमा बनेको महाबोधी मन्दिर । देख्दैमा पनि अत्यन्त भब्य देखिंदो रहेछ । मन्दिर भित्र पस्ने बित्तिकै सबैको नजर परिहाल्छ ध्यान मुद्रास्वरूपमा रहेको बुद्ध प्रतिमा (मुर्ति) मा । वास्तवमा गया क्षेत्रका राजगिर, बोधगया भन्ने बित्तिकै महामानव सिद्धार्थ गौतम संग जोडिएका पवित्र ठाउँ हुन् । भनिन्छ, लामो समयसम्म तिनै क्षेत्रमा निलाहार रहेर तपस्या गर्नु भो उहाँले । तर शरीर सुक्दै गएर पनि कुनै ज्ञान प्राप्त भएन त्यसो गरिरहँदा । त्यसपछि एकजना महिलाको हातबाट खानाको सुरूवात गर्दै खाना खाएरै त्यहि बोधगयाको पिपलको बोटमुनी ‘भुमिस्टक’ मुद्रा (ध्यान)मा बस्न थाल्नु भएछ उहाँ ।
मन्दिरकै समिपमा पश्चिमतर्फ रहेको छ महाबोधी – पिपलको रूख) बृक्ष । त्यहि बृक्षको फेदमा पुर्वतर्फ फर्केर ध्यानमा बस्दा ज्ञान (सम्यकसम्वोधि) प्राप्त गर्नु भएको थियो रे बुद्धले । त्यस पछि ४५ बर्षसम्म उहाँ भारत र नेपालका विभन्न ठाउँहरूमा पुग्नु भई धर्मचक्र प्रवर्तनमा लाग्नु भो । भनिन्छ मुर्तिपुजालाई भने बुद्धले अस्विकार गर्नुहुन्थ्यो । तर हामी हिन्दुहरूलाई मुर्तिका वरिपरी झुम्मीएर आफ्ना मागहरू तेस्र्याउने बानी नै छ । त्यति गर्न पाउनु मात्र पनि आफूलाई भाग्यशाली ठान्ने हाम्रो स्वभाव । बुद्ध मुर्तिका अगाडी केहि क्षण भएपनि भाव विभोर जस्तै भएर ठिङ उभिइनैरहें म । त्यहाँका स्वयंशेवकले ‘जल्दी करो’ भने पछि पो बल्ल झल्याँस्स भएँ । तर बुद्धले ध्यान (एकाग्रता) र आत्मज्ञान (चित्तशुद्धि)मा जोड दिएका छन । गर्मि ठाउँ भएर पनि त्यहाँ रहँदासम्म एक किसीमको शितलता महसुस भइनैह्यो । हामीले त्यस मन्दिर वरिपरी एकतमासले टहलिंदै गरेका तमाम तीर्थयात्रीहरू लाई देख्यौं । बुद्धले बुद्धत्व प्राप्त गरेको ठाउँ–पिपलको रूख) तथा मन्दिर परिषर वरिपरी भावबिभोर हुने, झुम्मिने र टहलिने दर्शनार्थीहरूको घुँइचो त कति हो कति । त्यस्तै त्यस्तै माहौल देखिन्थ्यो कम्पाउण्ड भित्रको पुरै चउरमा । सायद, हामीलाई झैँ तिनिहरूको मनमा पनि सितलताको महशुस भै राखेको थियो कि । हामीलाइ पनि त्यै परिषर भित्र रहेर घण्टौंसम्म टहलिन पाए कति आनन्द हुन्थ्यो होला ? जस्तै लागेको पनि थियो । तर समयको पावन्दीले त्यो एउटा कल्पना मात्रै हुन पुग्यो ।
तर बुद्धमा त्यस्तो क्षमता थियो कि उनको उपदेश (ज्ञान) सुनिसके पछि जस्तो सुकै अधर्मि, वेविचारी, हिंस्रक मनोवृती भएकाहरू पनि बदलिन्थे। बुद्धले कडा शारीरिक कष्ट र कामभोग जस्ता अतिहरूलाइ अस्विकार गरे । मानवीय तृष्णा र जातिवादका विपक्षमा जिवन भर संघर्ष गरिरहे । वास्तबमा बुद्ध धर्मगुरू भन्दा पनि महानदार्शनिक, वैज्ञानिक मात्र नभइ समाजसुधारक थिए । मान्छेको आफ्नो भन्नु नै उसले गरेको कर्म हो भनेका छन् बुद्धले । अनि दुःख, दुःखको कारण, दुःखको निरोध र दुःख क्षयको मार्ग लाई चार आर्यसत्य मानेका छन् उनले । आज बुद्धको मृत्यु भएको करिब पच्चिस सय बर्ष भैसक्दा पनि उनका यी बिचार सान्दर्भिक नै छन् । बुद्धका, नेपालको लुम्बिनी, भारतका बोधगया, सारनाथ र कुशीनगर क्रमशः जन्म, सिद्धि, पहिलो प्रवचन र मृत्यु (महापरि निर्वाण) भएका स्थलहरू हुन् । त्यसैले ती ठाउँहरू उनका अनुयायी र प्रशंसकहरूका लागि महातीर्थ जस्तै मानिन्छन् ।
घाटै घाटको तीर्थ, काशी/वाराणसी:
त्यसै दिनको साँझ आठ बजेतिर बोधगयाबाट हिंड्यौं हामी । भोलीपल्ट बिहानको पाँच बजेसम्ममा पार गरिएछ करिब २५० किमीको सडक यात्रा र वनारस अथवा काशी आइपुगिएछ । धर्मशालामा पनि छुट्टै कोठा पाउँन सकिन्छ भन्ने कुरा सत्य सावित गरिदिए यात्रा व्यवस्थापकले । उक्त कोठामा कावासोतीतिरका अरू चारजना थपिएर पनि असहजको अवस्था भने आएन । तीन दिन दुई रातको बसाइमा राजघाटमा रहेको रविदास धर्मशालाले नबिर्संन नसकिने गुन लाएरै छाड्यो ।
भारतीय इतिहासमा काशी–तीर्थस्थल) बनारस (शहर)को महिमा ठुलो रहेछ । संसारकै प्राचीन शहर मध्यमा पर्छ वनारस । यो शहरको (१६३८ व. कि.मी.)को जनसंख्या करिब बाह्रलाख (सन २०११) छ । शिक्षा, धर्म– कर्म तथा संस्कृतिका हिसाबले अत्यन्त समृद्धशाली र ऐतिहासिक मानिन्छ यसलाई । एकताका शिक्षा आर्जन गर्नकालागी नेपालीहरूको प्रमुख गन्तब्य मध्य मै पथ्र्यो वनारस । नेपालमा अझैपनि त्यतैतिरबाट पढेर आएका विद्धान र राजनितीज्ञहरूको कमि छैन ।
गंगा तटैमा रहेको छ काशी । अनेकौं घाटैघाट र मठमन्दिरहरूले भरिपुर्ण । भनिन्छ करिब चौरासी वटा घाटहरू छन् काशीमा । नमो, राज, सक्का, पंचगंगा, ग्वालियर, मनिकर्णिका दशास्वभेद । साथै चेतसिह, हरिशचन्द्र, त्रिपुरामुखी, तुल्सी, मनमन्दिर, पंचगंगा, गाइ, राम, केदार, असी लगायत । हामी पनि एकाबिहानैदेखि ती घाटहरू हेर्नकालागी डुङ्गासयरमा निस्कियौं । र विभिन्न घाट एवं मन्दिरहरूको अवलोकन/दर्शन गर्दे मनिकर्णिका घाटसम्म पुगेका थियौं । मनिकर्णिका घाटमा दाहसंस्कारका लागि निरंतर रूपमा एकपछि अर्को गरि लासहरूको लर्को आइरहने । त्यस्तो अवस्था देख्दा यो मन पनि झसङ्ग हुने । हो त समय बलवान छ , हामी पनि एक दिन यस्तै लाइनमै परिने छ । जीवनको अन्तिममा लिएर जानु नै के रै छ र ? त्यसैले बाँकी रहेको जिवनलाइ भए पनि सार्थक बनाउनु जरूरी रहेछ है । यस्तै हेक्का भयो त्यो दृश्य देख्दाखेरि । तर अफसोंच हिँड्दै छ, पाइला मेट्दै छ’ जस्तै त हुन्छ, हाम्रो चालामाला, केहि क्षण पछि, फेरी पुरानै पारा ।
पण्डा/गाइडका चलाखी
कुनै मान्छेलाइ ‘कस्तो गया–काशीको पण्डा जस्तो ?’ भनेर उदाहरण दिइयो त्यस्तो मान्छेलाइ हाम्रो समाजले ‘लोभीपापी’ रहेछ भनि बुझिन्छ । तर यसपाली त प्रत्यक्ष रूप नै अनुभव गरयौँ पण्डाहरूको यस्तो चालामाला । श्राद्ध गर्ने क्रममा दान, दक्षिणाका लागि हामीसंग पण्डाहरूले गरेका मोलतोल (वार्गेनिङ) उदेक लाग्दा थिए । पितृश्राद्ध गराउने क्रममा उनिहरू भन्दै थिए, ‘यदि आफ्ना पितृहरूलाइ स्वर्गमा बास गराउने भए यति (उच्च), मत्र्यमा यति, नर्कमा पार्ने नै भए यति दान, दक्षिणा गर ।’ श्राद्ध सुरू हुनु भन्दा पहिल्यै अकस्मात रूपमा आएका त्यस्ता प्रस्तावहरूले हामी त अक्क न बक्क परयौँ । शुरूमा जोकोहीसंग पनि यस्तै–यस्तै कुरा गरेर सकेसम्म बढि पैसा झार्ने चलाखी गर्दा रहेछन् पण्डाहरूले ।
उनीहरूले यसो गर्नाको कारण प्रथमतः लामो बाटो, पैसा र समय खर्चेर आएका हुन्छन् तीर्थयात्रीहरू । दोश्रो, परदेशी ठाउँ भएकाले परिस्थितिप्रतिको अनभिज्ञता वा सोझोपन, तेश्रो पिण्ड तर्पण गर्दाका बखत आफ्ना पितृहरूको सम्झनामा भावुक बनिरहेको अवस्था । यस्तै परिवेशको फाइदा उठाउँदा रहेछन् पण्डाहरूले । त्यहि भएर त त्यता – भारततिर तीर्थ व्रत गरेर फर्कने नेपालीहरूले तीर्थको महिमा भन्दा आफू ठगिएका, लुटिएका जस्ता अनेकौं घटनाहरूको उखान (चर्चा) गर्ने गरेका ।
बनारस शहर भित्र पर्छ सारनाथ पनि । काशीबाट उर्वोत्तर करिब दश किमीको दुरीमा छ त्यो स्थल । बुद्धले बुद्धत्व प्राप्त गरिसकेपछिको पहिलो उपदेश त्यहिँ दिनु भएकाले त्यसको महत्व बेग्लै छ । त्यसैले ‘धर्म चक्र प्रवर्तन’ नामले चिनीदो रहेन्छ त्यो स्थल । बुद्ध सम्बन्धी ग्रन्थहरूमा पनि मगध, काशी, कोसल, वंस, आवन्ति, शाक्य, लिच्छवि जस्ता तत्कालिन राज्य र शासकहरूको चर्चा पाइन्छ । यात्राका क्रममा छोटै समय निकालेर भएपनि हामी चारजना त्यहाँ पुग्न सफल भयौं । त्यहाँ पुग्नासाथ एकजना घाँटीमा परिचयपत्र झुण्ड्याएका गाइड भाइ हाम्रा पछि लागिहाले । हामीलाइ घुमाए वापत उनले पाउने फि’ को दर पनि तय भयो त्यहि नै । तर अलिपर पुगेपछि उनले अर्का अलि प्रौढ खालका गाइडलाइ जिम्मा लगाए हामीलाइ । सायद ती गाइड नक्कली वा कनिष्ट केहि परेछन् क्यारे ? पछिल्लाले हामीलाइ एक दुइ स्थानको अवलोकन गराए । तर लगत्तै उनले पनि हामीसंग स्थानिय( वनारसी) घरेलु उत्पादन (ह्याण्डलुम)का बारेमा चर्चा गर्न थालीहाले । र त्यहीँको एउटा त्यस्तै उत्पादन बेच्ने पसलमा लिएर गै छाडे । हाम्रा महिलाहरूको ध्यान वनारसी साडी, सलवारतर्फ जान थालिहालेको थियो । तर हामीले गाइडको चलाखी मनन् गर्दै महिलाहरूलाइ बेलैमा संकेत गरेकाले किनमेलमा ठगिने सम्भावना टरेर गयो । वास्तवमा मान्छेहरूको अत्याधिक चहलपहल हुने स्थानमा रहेका किनमेल पसलहरूमा ठगिने सम्भावना बढि नै हुन्छ । ती गाइडको चालामाला निको नलागेकाले उनलाई त्यहि नै फि (दस्तुर) दिइ बिदा गरेका थियौं ।
यस्ता पवित्र स्थलहरूका वरिपरी कै मानवीय ब्यबहार उदेक लाग्दो थियो । विशेषतः तीर्थस्थल, मठमन्दिर परिसरहरूका पुजारी, पंडित, पण्डा र सडक ब्यापारी हरूको ब्यवहारले आजित पर्दा रहेछन् धेरै तीर्थयात्रीहरू । त्यसो त यो संसारमा अहिले मात्र होइन बुद्धकाल र सो भन्दा अधि–पछि पनि छलछाम, काटमार, लुछाचुडि गर्नेहरू कै बोलवाला थियो भन्दा हुन्छ ।
अब भने हामी आफैँले मान्छेहरूको बिशाल भीड छिचोल्दै बिशाल धमेख स्तुपा, अशोकको चतुर्भुज सिंह स्तम्भको अवलोकन गरयौँ । त्यसैगरि बुद्धको मन्दिर, चौखण्डि स्तुपा, राजकिय संग्राहालय, जैन मन्दिर, चिनी मन्दिर, मुलंगध कुटी, नविन बिहार लगायतका ठाउँहरू पुग्न पनि भ्यायौं । त्यो वेलामा पनि हामीलाई समयाभाव नै खड्कीराखेको थियो । जाबो एक–दुइ घण्टामा बिशाल सारनाथ घुम्ने प्रयास गर्नु भनेको एउटा धृष्टता जस्तै रहेछ । कुनै एउटा बिषयको झाँकी मात्र हेरेर चित्त बुझाए जस्तै महशुस भयो हामीलाइ । सन् १९०५मा भारतीय पुरातत्व विभागले यहाँ उत्खनन्को काम सुरू गरेको बताइन्छ । जेहोस एकसरो रूपमा मात्र भएपनि घुमियो सारनाथ । जीवनमा एकचोटी भएपनि पुग्नै पर्ने ठाउँ रहेछ सारनाथ । त्यहाँ पुग्न पाएकोमा धन्य ठानें मैले आफूलाई ।
गंगा नदीको तटैमा रहेको छ सुन्दर काशी । विश्वनाथ, कालभैरब, दुर्गामाता, सत्यनारायण तुल्सीदास, संकटमोचन हनुमान, नेपाली, भारतमाता लगायतका प्रख्यात मन्दिरहरू, विश्वविद्यालयहरू दर्शन गर्न वा घुम्न अतिनै लायक छन् । त्यसै संग्राहालय, रामनगर किल्ला यस वरपरको परिवेश अत्यन्त मनमोहक छ । अलि फुर्सदिलो समय निकालेर आउँन पाएको भए कति जाति हुने रहेछ’ भन्ठान्याथ्यो यो मनले पनि । समायाभावले गर्दा काशी –वानारसका घुम्नै पर्ने अनगिन्ती ठाउँहरू पनि घुम्न छुटे । पुगेको तेश्रो दिनको एकाबिहानै हामीले काशी छाड्यौं । अब भने प्रयागराज ( करिब १२० किमी) तर्फ प्रस्थान गर्दै थियौं ।
गंगा नदीको तटैतट:
गंगा नदी आसपासका समथर भूभागहरू हुँदै जाँदै थियौं हामी । काशीबाट पश्चिमोत्तर दिशातर्फको यात्रा । सडक दायाँ बायाँबाट देखिने हरियाली फाँटहरू, सिमसार, वन बुट्यानका प्राकृतिक सुन्दरताले मनै लोभ्याइरहेका थिए । अनि क्षण–क्षणमा झुरूप्प परेर बसेका मानव बस्तिहरू पनि आइरहन्थे । यी सबै कुराहरूले हामी गंगा नदी आसपासबाटै गुज्रीरहेको संकेत गर्दै थिए । उसो त नदी र मानव बस्ति बीचको सम्बन्ध धेरै पुरानो र अटुट मानिन्छ । मानव मात्र होइन हरेक जीवनका जिउने मुख्य आधारहरू भनेका हावा, पानी , माटो, ताप र आकाश जस्ता तत्वहरू नै हुन् । यी कुराहरूको विकल्प पृथ्बीमा बाहेक अन्त छैन । पृथ्बीको महत्त्व यसलाई छाडेर अन्तै जानुपर्दा मात्र थाहा हुन्छ । मानिस अरू प्राणीहरू भन्दा बढि चलाख छ । त्यही भएर पनि हो की ? आफ्नै हित (भौतिक प्रगती ?) का नाममा जल, थल, आकाशमा उपद्रो मच्चाउदै छ पृथ्वीमा बसेर । बसोवासका लागि पृथ्वी जत्तिको सहज अर्को विकल्प नरहेर पनि यसैको ध्वंसमा रमाउँदै छ उ । यतिमात्र कहाँ हो र अन्य ग्रहहरूमा जाने होडबाजी चल्दै छ अहिले । विशेषतः पैसा र शक्ति को बलमा । तर गरिब दुखीहरूका लागी भने यस्ता (अन्तरिक्षका) कुराको ‘कागलाइ बेल पाक्यो, हर्ष न विस्मत’ जस्तै त हो ?
त्यतातिर पनि देखियो त्यस्तै मानविय चर्तिकला, प्राकृतिक सुन्दरताले भरिपूर्ण हरियाली फाँटहरूलाई चिर्दै जथाभाविरूपमा तानिएका बिजुलीका लठ्ठा र खनिएका चौडा सडक वा रेलवे लाइनहरूले यस्तै संकेत गरिरहेका थिए । त्यति हुँदाहुँदै पनि भारततिरको एउटा परम्परागत तरिका भने जाति नै लाग्यो मलाई । केहि क्षणको कुँदाइ पछि मात्र एकैठाउँमा झुरूप्प परेका मानव वस्तिहरू आउँथे । नेपालमा जस्तो जतापायो त्यतै घर वा बस्ती बस्ने, बसाल्ने चलन अलि कम हो की झैं लाग्यो उता (भारत)तिर । वास्तवमा यस्ता बस्तीहरू पूर्वाधारमा लगानी, सुरक्षा र सामाजिकताका दृष्टिले जाति नै मानिन्छन् ।
हामी प्रयागमा:
नयाँ चिज पाए पछि पुरानालाइ बिर्सदैँ जाने मानविय स्वभाव हो । त्यसैले होला छोटो घुमाइ मै काशी छाड्नु पर्दाको जस्तो भारी मन अब रहेन । केहिबेर मै पुग्दै थियौं गंगा, यमुना र सरस्वती – लुप्त)नदीको संमग स्थल प्रयागराज । अब फेरि मनमा नयाँ ठाउँका वारेमा कौतुहलता जाग्दै थियो । दिउँसोको करिब एक बजे पुगियो प्रयागराज । धार्मीक, ऐतिहासीक एवं भौगोलिक महत्व बोकेको छ यसले । नजिकै पर्छ युपीको तत्कालिन राजधानी समेत रहेको इ(अ)लाहाबाद शहर । अन्य शहरहरू भन्दा अलि व्यवस्थित पनि मानिदो रहेछ यसलाई । बाह्रबर्षे मेला लाग्ने प्रयागमा स्नान गरी पिण्ड तर्पण दिनाले पुर्खाहरूलाइ स्वर्गको बास मिल्छ भन्ने जनविश्वास छ । प्रयाग क्षेत्रका घुम्न लायक ठाउँहरूमा संगमघाट, अकबरले बनाएको किल्ला, आनन्द भवन म्युजियम, चन्द्रशेखर आजाद पार्क, प्लानेटोरियम, पातालपुर मन्दिर लगायत रहेछन् ।
तीर्थयात्रीहरूसँग पैसा असुल्ने फेरि अर्को एउटा नौलो काइदा देखियो त्यहाँ पनि । जमिन मात्र होइन नदी –पानी)को भागलाई समेत भागबण्डा –क्याप्चर) गरेर बसेका रहेछन् त्यहाँका केहि व्यवसायीहरूले । तिनैले तोकेको शुल्क वा दस्तुर तिरेर संगमघाट, स्थल –गंगा र यमुनाबाट डुँगामा सयर गर्न थाल्यौं । अनि त्यहाँबाट गंगा–यमुना संगम स्थल(पानीमाथी) मै बनाइएका कृत्रिम मचानहरू सम्म पुगेका थियौं । जे होस ती मचान माथि बसेर आ–आफ्ना पितृहरूलाई स्मरण गर्दा भने आनन्दको अनुभूति धेरै नै हुने रहेछ । त्यहाँ पनि पानी चरा एवं अन्य मानव क्रियाकलापहरू र प्राकृतिक सुन्दरताको अवलोकन गर्न पाउँदा फुरूङ्ग थियौं । यस्तै मानविय आनन्दी र अनभिज्ञताको फाइदा उठाउँदा रहेछन् हरेक तीर्थस्थलका ब्यवसायी ,पुजारी, रिक्सावालाहरूले । हाम्रा बुढा पुरानाहरूले ‘पैसा फेंको तमासा देखो’ भन्दै बेला –बेलामा मजाक गर्ने गरेको यस्तै–यस्तै घटनाहरूलाइ जोडेर पनि हो क्या र ।
अब अर्को एउटा सानो प्रसंग, प्रयागमा दिशाभ्रम जस्तै भयो मलाई । गंगा र यमुना नदीको संगम स्थलबाट उभिएर हेर्दा गंगा पूर्व र यमुना उत्तर तर्फबाट बगेर आइरहेझैं लाग्यो । तर त्यहाँका जानकारहरूसंग सोधखोज गर्दा मेरो उक्त अन्दाज मिलेन । वास्तवमा गंगा पस्चिमोत्तर र यमुना दक्षिण पश्चिम तर्फबाट मिसिएको कुरा सत्य थियो । मोबाइल खोलेर दिशा पत्ता लगाउने तरिका अपनाएँ । नाङ्गा आँखाले सुर्यतर्फ हेर्ने जस्ता विधिहरू पनि अपनाएँ । तर पनि मलाई दिशाभ्रम भइनै रह्यो । यसप्रकारका भ्रमहरू अरूलाइ पनि हुन्छ कि कुन्नि ? उहिले–उहिले रातको समयमा तराई वा समथर क्षेत्रमा हिंडडुल गर्दा यस्तै दिशाभ्रम भएका घटना सुनिन्थे । त्यस्तो अवस्थामा यात्रुहरूले बाटो बिराएर आफ्नो गन्तब्य भन्दा भिन्दै ठाउँतिर रात भरिनै भौतारिइ रहन्थे रे । तर प्रयागमा त मलाई दिउँसै यस्तो भ्रम पर्न गयो । ‘घैंटो फुटाउँने खेल’को मुख्य पात्रले घैंटो पत्तालाउँन नसकेको अवस्था जस्तै ।
सरयु नदीको किनारबाट:
भारतको उत्तराखण्ड स्थित सरमुल नामक स्थानलाई सरयु नदीको उद्गम स्थल मानिन्छ । त्यसमा नेपालका महाकाली (सारदा) र कर्णाली (घाघरा) ठुल्ठुला नदीहरू भारतीय भूभाग क्रमशः पञ्चेश्वर र बहराइच नजिकै ब्रम्हाघाटमा मिसिन्छन् । नेपालका ठुल्ठुला नदीहरू मिसिएर पनि सरयु नाममा भारतीय पन देखियो । यहि सरयु नदीको किनारमा पर्छ अयोध्या । नजिकै पर्दो रहेछ गोंडा रेल वे जक्सन पनि । नानपारा, बहराइच, गोंडा, बढनी, फरेन्दा, गोरखपुर भन्ने बित्तिकै पुराना यादहरू आइहाले मेरो मानस्पटलमा । बुटवलबाट नेपालको पश्चिमतर्फ जाने महेन्द्रराजमार्ग खण्ड नबन्दैको तत्कालिन अवस्था थियो त्यो । त्यो बेलातिर यिनै भारतीय भुभागहरू हुँदै रेल यात्रा गर्नु पर्दाका यादहरू ।
प्रयागबाट हामी सोहि दिन सांझपख अयोध्या पुगेका थियौं । हिन्दु धर्मावलम्बीहरूमा राम जन्मभूमी भनेर चिनिने त्यो ठाउँको महत्त्व बेग्लै छ । राममन्दिर हाल निर्माणाधिन अवस्थामा रहेकाले सुरक्षा व्यवस्था पनि कडै देखिन्थ्यो त्यहाँ । हुनत अन्य धर्मावलम्बी (बौद्ध र मुश्लीम आदि)हरूको पनि अलग्गै खालको दावी छ अयोध्याका बारेमा । त्यो साँझको गाँस र बासको व्यबस्था भने ठिक्ठिकैको रह्यो । खाना पकाउने र खाने बेलामा बर्षाद र हावाहुरीले बिथोल्दा हाम्रो समुहका कतिपयले स्वस्थानी ब्रतकथाकी पात्र ‘चन्द्रावती’लाइ पनि संझिन भ्याए । तर जे–जस्तो भएपनि भोकै चाहिँ कोही बसेनन् भन्दा हुन्छ । यात्राका बखत ‘जे पर्छ, त्यहि टर्छ ।”
अन्तमा:
अयोध्या पुगेको भोलीपल्टै गोरखपुर हुँदै स्वदेशतर्फ फिर्दै थियौँ । फर्कनेक्रममा आफ्ना परिवार र गाउँघर तर्फकै कुरा फुर्न थालीसकेका थिए धेरैका मुखबाट । गाउँ ठाउँ, छोराछोरी, वस्तुभाउ र खेतवारीका कुराहरू । पढालिखा हुँ भन्नेहरूको भाषामा सायदः ‘जननी जन्मभुमिस्चः स्वर्गादपी गरियसी’ मलाई त्यति खेरै लाग्यो किः ‘यति छोटो (करिब एक हप्ते) बसाइ मै पनि हामीलाइ घर परिवारप्रतिको न्यास्रोले छुन थालिसकेको रहेछ । अझ अनिश्चित कालका लागि विदेशिन बाध्य हाम्रा छोराछोरीहरूलाई गाउँघर प्रतिको न्यास्रोले कति सताउँदो हो ?
म सोंच्दै गएँ – ‘प्रतिशोध, बेइमानी र धुत्र्याँइपूर्ण व्यवहारले गर्दा गन्जागोल अवस्थामा छ, अहिले हाम्रो समाज । यीनै कुराहरूले आजित भैरहेकाछौं हामी पाका मान्छेहरू पनि । उमेर अवस्था आदिले गर्दा अन्य विकल्पको सम्भावना पनि छैन हामीसंग । तर लामो उमेर भएकाहरूले आफ्नो भविस्यको सुनिश्चिताको खोजी गर्नुलाई पनि कुनै अन्यथा नठानौं । भविष्य सुनिश्चितताका लागि नै देशबाट टाढिएका होलान् हाम्रा कतिपय युवा (छोराछोरी)हरू ।
यता बुद्ध भन्नु हुन्छ, ‘सकारात्मक सोंचले मात्र जीवनलाई बदल्न सकिन्छ’ तर हामी जस्ता अल्पज्ञानीहरूलाइ यसप्रकारको चेत त जीवनको उत्तरार्धतिर मात्र आउने रहेछ । ’घैंटामा घाम त लाग्यो, तर ढिला’ भने झैं । बुद्धका अनुसार ‘हरेक दिन, एउटा नयाँ दिन हो’ र ‘हाम्रो जन्म प्रत्येक बिहान हुन्छ ।’ त्यसैले हिजो के थियो र भोली के होला ? भनेर चिन्ताको सागरमा डुब्नु भन्दा वर्तमान मै रमाउन जान्नुनैै बुद्धिमानी हो ।
जनक तिवारी
गैंडाकोट, नवलपुर