• २०८१ कातिर्क २३ शुक्रबार

साहित्यपोस्ट उत्तम गैरआख्यान पुरस्कार डा. उपाध्यायको ’मुटुसँग सहयात्रा’ लाई

०७९ सालको ‘साहित्यपोस्ट उत्तम गैरआख्यान पुरस्कार’ डा. अवनिभूषण उपाध्यायको आत्मवृत्तान्त ‘मुटुसँग सहयात्रा’ले प्राप्त गरेको छ । साहित्यपोस्ट उत्तम गैरआख्यान पुरस्कारको अन्तिम सूचीमा रामविन्दु श्रेष्ठको संस्करणात्मक कृति ‘मेरा सोभियत सम्झनाहरू’ र डा. शिवराज भट्टराईको संस्मरणात्मक कृति ‘राँको बालेर यात्रामा’लाई पछि पार्दै मुटुसँग सहयात्राले पुरस्कार हात पारेको हो ।

चर्चित साहित्यिक (इ) पत्रिका साहित्यपोस्टले डेब्यु कृतिलाई प्रदान गरिने वर्ष २०७९ को ‘साहित्यपोस्ट उत्तम काव्य, आख्यान तथा गैरआख्यान पुरस्कार’को घोषणा तथा वितरण कार्यक्रम सम्पन्न गरेको छ । धुम्बाराहीस्थित होटल अकमा प्रालिमा भएको एक समारोहका बिच पुरस्कारका संस्थापकद्वय उत्तमप्रसाद पन्त र उत्तम भौकाजीको उपस्थितिमा पुरस्कृत कृतिको घोषणा र पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको हो ।

डा. उपाध्याय हाल अमेरिका रहेकाले पुस्तकका सम्पादक लक्ष्मण अधिकारीलाई पुरस्कार हस्तान्तरण गरिएको थियो । घोषणाअनुसार ०७९ को ‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार’ प्रदीप रोदनको गजलसङ्ग्रह ‘मफलर’ले प्राप्त गरेको छ भने ‘साहित्यपोस्ट उत्तम आख्यान पुरस्कार’ हरिबोल काफ्लेको उपन्यास ‘यशोधरा’ले प्राप्त गरेको ।

कार्यक्रममा पुरस्कृत कृतिहरूको घोषणा विधागत निर्णायकहरू केदार वाशिष्ठ (गैरआख्यान), शीतल दाहाल (आख्यान) र वासुदेव अधिकारी (काव्य) ले गर्नुभएको हो । उहाँहरूले सम्बन्धित पुस्तकलाई पुरस्कृत गर्नुको कारण तथा मूल्यांकनको आधारको बारेमा समेत प्रकाश पार्नुभएको थियो ।सो अवसरमा पुरस्कार विजेता कृतिका सर्जकहरूलाई पुरस्कारका संस्थापक उत्तमद्वय तथा कार्यक्रमका सभापति अश्विनी कोइरालाले ५०–५० हजार राशिका साथमा प्रमाणपत्र हस्तान्तरण गर्नुभयो । आख्यान र गैरआख्यान विधाको दुई पुरस्कारको प्रयोजन उत्तमप्रसाद पन्तले गर्नुभएको हो भने काव्य विधाको पुरस्कारको प्रायोजन उत्तम भौकाजीले गर्नुभएको हो ।

कार्यक्रममा बोल्दै पुरस्कार संस्थापक उत्तमद्वयले साहित्यपोस्टको सर्वोत्तम कार्यमा जोडिएर साहित्य क्षेत्रका नवप्रवेशीलाई आफ्नो नामको पुरस्कार अर्पण गर्न पाउँदा खुसी महसुस गरेको बताउनुभयो । साहित्यपोस्ट उत्तम काव्य, आख्यान र गैरआख्यान, तीनै पुरस्कार आफ्नो पहिलो पुस्तक प्रकाशन गर्दै नेपाली साहित्य क्षेत्रमा औपचारिक पाइला चालेका नवप्रवेशीहरूमध्ये उत्कृष्ट ठहरिएका कृतिका सर्जकलाई प्रदान गरिन्छ । विक्रम सम्वत् २०७७ बाट नयाँ लेखकहरूलाई प्रोत्साहन गर्ने हेतुले सुरु गरिएको ‘साहित्यपोस्ट उत्तम कृति पुरस्कार’ ०७९ मा आइपुग्दा काव्य, आख्यान र गैरआख्यान गरी तीन विधामा फैलिसकेको छ ।

साहित्यपोस्टका सम्पादक महेश पौड्यालले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन अच्युत कोइराला तथा कृष्ण ढुङ्गेलले सयुंक्त रूपमा गर्नुभएको थियो । उक्त समारोहमा साहित्य क्षेत्रमा मूर्धन्य तथा साहित्यानुरागी व्यक्तित्वहरूको गरिमामय उपस्थिति रहेको थियो ।