• २०८२ आश्विन ६, सोमबार

भोजराज रेग्मी ‘मुखाले’का दुई हास्यव्यङ्ग्य कृति लोकार्पित

काठमाडौँ ।

स्रष्टा भोजराज रेग्मी ‘मुखाले’का दुई हास्यव्यङ्ग्य कृति आज वैशाख २३ गते एक समारोहबीच लोकार्पित भएका छन् । ‘औडाहा डट कम’ (कवितासङ्ग्रह) र ‘जङ्गबहादुरको फ्रेन्ड रिक्वेस्ट’ (आख्यानसङ्ग्रह) नामक ती कृतिलाई फित्कौली अनलाइन मिडियाले प्रकाशनमा ल्याएको हो ।

नेपाल प्रज्ञा प्रतिष्ठानको पारिजात सभाकक्षमा आयोजित समारोहमा प्रमुख अतिथि डा. गोविन्दराज भट्टराई सहित मञ्चासिन व्यक्तित्वहरू चट्याङ मास्टर, डा. रमेश शुभेच्छु, नरनाथ लुइँटेल, नरेन्द्रराज पौडेल, लक्ष्मण गामनाङे, डा. नवराज खतिवडाले सामुहिक रूपमा ती कृतिहरू लोकार्पण गर्नुभएको थियो ।

उक्त कार्यक्रममा प्रमुख अतिथि प्राध्यापक डा. गोविन्दराज भट्टराईले नेपाली सहित्यमा बढी लेखिने विधा हास्यव्यङ्गय भएको र यस विधा मार्फत् विशेष गरेर समसामयिक राजनीतिक विषयमा प्रहार हुने प्रचलन विश्वमै रहेको प्रसङ्गको चर्चा गर्दै लगभग पतन भइसकेको, भत्किसकेको देशको वर्तमान अवस्थालाई उपर्युक्त हास्य हास्यव्यङ्ग्य कृतिहरूमार्फत् स्रष्टा मुखालेले अभिव्यक्त गर्न प्रयत्न गर्नुभएको बताउनुभयो ।

लोकार्पित कृतिमध्येको औडाहा डट कम कविता सङ्ग्रहमाथि टिप्पणी गर्दै डा. रमेश शुभेच्छुले नेपाली कविताको मूल धार व्यङ्ग्यले समातेको प्रसङ्गको चर्चा गर्दै कृतिकारको प्रस्तुत कृतिभित्र पनि अधिकांशतस् वर्तमान राजनीतिक विसंगतिका विषयहरूलाई समेटेर व्यङ्ग्य गरिएको उल्लेख गर्नुभयो । कविताको शीर्षकीकरण र प्रस्तुतिकरणमा समेत कविको व्यङ्ग्य गर्ने सामथ्र्य देखिएको उहाँको कथन थियो ।

मुखालेकै अर्को कृति जङ्बहादुरको फ्रेन्ड रिक्वेस्ट आख्यान सङ्ग्रहमाथि डा. नवराज खतिवडाले समीक्षात्मक मन्तव्य राख्नुभएको थियो । वहाँका अनुसार अराजक अभिव्यक्ति, दर्शन, अवास्तविक महत्वाकांक्षा, राजनीतिक व्यङ्ग्य, बुद्धिजीवीहरूको उपहास, डार्क ह्युमर आदिजस्ता सन्दर्भहरूलाई हास्यव्यङ्ग्य लेखन मार्फत् मुखालेले प्रस्तुत कृतिमा समाहित गर्नुभएको छ ।
उक्त कार्यक्रममा कवि बम बहादुर थापा जिताली, चट्याङ मास्टर, लक्ष्मण गामनाङे, अनिल पौडेल कीर्ते, डिल्लीप्रसाद मूलतिहुनले विभिन्न शीर्षकका हास्य कविता पनि वाचन गर्नुभएको थियो । त्यसैगरी थरेन्द्र बरालको प्यारोडी गायन र जनक घिमिरे- बबिता ढकालको युगल गायन पनि त्यहाँ प्रस्तुत भएको थियो ।

दर्शकहरूलाई हास्यानुभूति हुने किसिमले अन्य कार्यक्रम भन्दा बेग्लै शैलीमा भएको उक्त कार्यक्रमको सञ्चालन सरोज घिमिरेले र सभापतित्व फित्कौली अनलाइन मिडियाका अध्यक्ष नरनाथ लुइँटेलले गर्नुभएको थियो ।