• २०८१ माघ १ मङ्गलबार

अत्तर, अस्मिता र र उद्धार

मधुवन पौडेल

मधुवन पौडेल

लिफ्टबाट निस्कन खोज्दै थिएँ- निकै कडा अत्तरको सुवासले मेरो एकाग्रता भङ्ग भयो । मेरो अगाडि एकजना परिचित सञ्जन र अत्याधुनिक पहिरनमा एउटी कलिली केटी लिफ्ट कुरेर उभिइरहेका थिए ।
सर ! म एक छिनमा सरको कोठामा आउँछु’ भन्दै ती सज्जन मलाई अभिवादन गर्दै थिए । त्यसपछि टाउको हल्लाउँदै म आफ्नो कक्षतिर लागेँ । तर अत्तरको सुवास भने मेरो नाकबाट हटेको थिएन ।
दुई घन्टापछि ती सज्जन मेरो कोठाभित्र छिरे- उनीसँग त्यो केटी पनि थिई । नीलो आकाशे रङको कमिज र इन्द्रेणी रङको मिडी अनि हाई हिलमा थिई ऊ ! हातमा सानो ब्याग, छोटो कपाल, निकै गोरी तर शुष्क एवम् थकित देखिन्थी ऊ ! ऊ पस्नासाथ मैले केहीबेर अघि अनुभव गरेको अत्तरको सुवास फेरि छरिएको पाएँ ।
‘सर, यिनी विनीता बस्नेत ! बिचल्लीमा परेकी रहिछन् । हङकङ्मा काममा लगाइदिने भनेर एकजनाले भारतको बाटो गरी यहाँ ल्याएछ, अनि एउटी धन्दावाल्नीको हातमा बेचेर गएछ …।’ उनी हतासिएको स्वरमा भन्दै थिए । विनीता निकै डराएकी जस्ती देखिन्थी । उसका आँखा डबडबाएका थिए, ऊ बन्द झ्यालतिर हेरिरहेकी थिई । म उसलाई देखेर अवाक् हुँदै थिएँ ।
‘एक महिना अगाडि एकजना भाइले फेला पारेर धन्दाबाल्नीको चङ्गुलबाट फुत्काएछन् र अन्यत्र सुरक्षित ठाउँमा राखेका रहेछन् तर पासपोर्ट, कागज आदि केही नभएको र नेपाल जान्छु भनेकीले यता ल्याएका रे !’ ती सज्जन भन्दै थिए । विनीतासँग आफू आउँदाको भिसाको फोटोकपी, पासपोर्टको फोटोकपीबाहेक अरू केही थिएन । ऊ नेपाल फर्कन चाहन्थी ।
‘कति उमेर भयो  ?’ मैले उसलाई सोधेँ ।
‘अठार !’ उसले शिर निहुर्याएर जवाफ दिई ।
‘किन आएको ? घरबाट भागेर आएकी ?’ प्रायः धेरैजसो भागेरै हिँडेका हुन्थे ।
‘होइन बुवाले नै पठाएको ?’ म छक्क परेँ ।
‘उहाँ के काम गर्नुहुन्छ ?’ मेरो निमित्त विनीता त्यस बेलासम्म पहिली केटी थिई, जसलाई आफ्नै बाबुले जानीनजानी यस्तो नारकीय जीवन बाँच्न पठाएको थियो ।
‘बुटवलमा पसल गर्नुहुन्छ ।’
‘कति पढेकी छौ ?’ अनुहार र चालढाल हेर्दा  शिक्षित जस्तै लागेर मैले सोधेँ ।
‘नौ क्लास ।’
‘कहिले आएकी ?’
‘४/५ महिना भयो ।’
विनीतालाई एउटा दलालले दिल्ली ल्याएर अवैध मार्गबाट दुबाई पठाइदिएको रहेछ । दुबाईमा उसलाई एकजना स्थानीय अरबीको घरायसी नोकर्नी भनेर भिसा लिइएको कागजबाट थाहा हुन्थ्यो । तर उसको कुरा अनुसार उसलाई आएकै दिन एउटी नेपाली वेश्यावृत्ति चलाउने आइमाईले लगेकी रहिछ । हप्ता, दुई हप्तामा उसलाई केही रातको निमित्त बाहिर पठाउने, फेरि फिर्ता ल्याउने, फेरि पठाउने आदि क्रमले एक महिना अगाडिसम्म पनि उसको यौनशोषण भइरहेको रहेछ । पहिले अत्तिए पनि बिस्तारै ऊ आफ्नो भाग्य यस्तै रहेछ भनेर चुप लागिछ, तर ऊ कुनै मद्दत गर्नेलाई भेटे भाग्ने भन्ने मानसिकतामा रहिछ ।
उसको कुरो सुन्दा मनै कुँडिएर आउँथ्यो । एकपटक त मलाई आफ्नी किशोरी छोरीलाई यसरी डाँडो कटाउन तयार हुने उसको बाबुसँग रिस पनि उठेर आयो । त्यो पनि उल्टो ५० हजार दिएर आएकी रे- हङकङ् जाने लोभमा ! बावुलाई के थाहा उसकी छोरी हङकङ् होइन उचाइको रेडलाइट एरियामा छ भन्ने ?
विनीतालाई मैले चाहेर पनि नेपाल फर्काउन सक्दिनँ । कानुनी प्रक्रिया पूरा नगरी हामीले केही गर्न सकिँदैनथ्यो । आफ्नो छोटो बसाइमा मैले सुनेको थिएँ- धेरै अरू विनीताहरूले यहाँ गैरकानुनी प्रवेश गरेका छन् रे र गर्दै पनि छन् रे । तर मेरो काम त समस्या सिर्जना भएपछि चासो राख्नेसम्म मात्र सीमित थियो । त्यो पनि मेरो सम्पर्कमा आउन सक्नेहरूको लागि मात्र । आफ्नो निरीहता सम्झेर मलाई दिक्क पनि लाग्छ ।
मलाई विनीतालाई सोध्न मन लाग्यो- एक महिनादेखि भौँतारिदै हिँडेको उसलाई यस्तो सुवासयुक्त अत्तर छर्कने पैसा कसले दियो ? तर डबडबाएका उसका आँखा हेर्दा मैले केही कुरा सोध्नु उचित ठानिनँ र ती सज्जनलाई उसलाई लिएर बाहिर जान भनेँ । त्यसपछि स्थानीय अधिकारीको नाममा लेखेको पत्र लिएर उनी हिँडे । विनीतालाई फिर्ता पठाउने काम सजिलो थिएन चाहेर पनि । चेलीबेटी बेचबिखन विरूद्धको कानुन आफ्नो ठाउँमा भए पनि विदेशमा प्रक्रियागत कठिनाइ थुप्रै थिए । विनीता त हाम्रो सम्पर्कमा आउन सकी, तर अरू थुप्रै अँध्यारो छिँडीमा बसेर आफ्नो भाग्य सम्झेर रूने पनि होलान् नै !
उसले रूञ्चे स्वरमा भनेका कुरा मेरो कानमा बज्रिरहेका थिए- विनीताको बावुले घर छाड्नुअघि उसलाई यसरी फकाएका रे !
‘हेर् छोरी, दुई वर्ष हङकङ् बसेर आइस् भने त हाम्रो कायापलट भइहाल्छ, पसल पनि बढाऊँला, त्यसपछि पढ्न मन लागे पढेस् नत्र राम्रो ठाउँमा बिहे गरेर गएस् ।’ फेरि काम पनि त गाह्रो होइन नि ! घरभित्रको काम हो, परिवार भित्र बस्ने हो, यहाँ जस्तो भाँडा मस्काउनु पर्ने होइन !’
बाबुले यी कुरा बुझेर भने कि लहलहैमा लागेर भने उसले बुझिन । तर उसलाई पनि हङकङ् कस्तो होला ? नयाँ ठाउँमा बस्दाको अनुभव कस्तो होला भन्ने कौतूहल थियो । घर छोडेको केही दिनमा यसरी नाङ्गिएर आफ्नो किशोरावस्था पशुहरूलाई समर्पण गर्नुपर्ला भन्ने उसलाई के थाहा ? भर्खरै फुटेको बैँसलाई गिद्धहरूको लुछाइमा छोडि दिनुपर्ला भन्ने उसले कहाँ सोचेकी थिई र ? दिदी भनाउँदीले लछारपछार गरेर पहिलोपल्ट एउटा भारतीय व्यपारी कहाँ पुर्याएको दिन सम्झदै ऊ धर्धरी रोएकी थिई रे !
‘समय नै सबै कुराको औषधी हो, बिस्तारै बानी बस्दै जान्छ अनि तँलाई दिक्क लाग्दैन, जा, जा !’ भन्थी रे दिदी भनाउँदी !
‘त्यस्तै भए तेरो बाबुले किन तँलाई एक्लै पैसा कमाउन पठायो त ? तेरो बाबुलाई सबै थाहा छ ।’ भन्थी रे । ‘मेरो यत्रो पैसा खर्च भइसक्यो नगएर सुख पाउँछेस् ?’ भन्दै दुत्कार्थी रे !
त्यो दिन विनीतालाई उद्धार गर्न अनुरोध गर्दै स्थानीय अधिकारीलाई लेखिएको चिठी लिएर गएका सञ्जन गएपछि मैले दिनदिनै उसको खबर लिइरहेको छु । सायद केही दिनमा प्रक्रिया सकिनेछ, अनि विनीता फर्किने छ- आफ्नो अस्मिता लुटाएर । त्यसपछि अर्की विनीता, प्रलिता, अनिता आउनेछन् आफ्ना कथाव्यथा सुनाउँदै नेपाल फर्कन अनुनय विनय गर्नेछन् र घाटे वैद्यले जस्तो म चिठी लेख्नेछु । उसलाई स्वदेश फर्काउने कारवाही गर्नेछ र नेपाली समाजका मित्रलाई थम्याइदिनेछु- तथाकथित उद्धारको अनुरोध सहित । कताकता मन चसक्क दुखेर आउँछ, आफ्ना चेलीबेटीहरूको वियोग कथा सम्झँदा !

२७६ भीमनिधि तिवारी मार्ग
काठमाडौँ– ९


(पौडेल स्थापित साहित्यकार हुन ।)
[email protected]