लघुकथा

पोखरा ।
गण्डकी साहित्य सङ्गम, पोखराको आयोजनामा सङ्गमका सदस्य छविलाल आचार्यको यात्रा संस्मरण ‘मध्यरातमा सूर्य देख्दा’ पुस्तकको लोकार्पण सम्पन्न भएको छ ।
पोखरामा सम्पन्न भएको कार्यक्रममा हरिदेवी कोइराला प्रमुख अतिथि र प्रा. रघुनाथ अधिकारी विशिष्ट अतिथि रहनुभएको थियो । कार्यक्रममा टिप्पणीकार रामराज रेग्मी र असफल गौतमले आचार्यको कृतिले युरोपका विभिन्न देशहरू- स्विट्जरल्यान्ड, नर्वे, बेलायत, फ्रान्स लगायत- को सांस्कृतिक अवस्था, प्राकृतिक सौन्दर्य, भौगोलिक बनावट, सङ्ग्रहालयका कलाकृति, जातजातिहरूको रहनसहन र ऐतिहासिक दरबारहरूको जीवन्त चित्रण गरेको बताउनुभयो । उहाँहरूले यस पुस्तकलाई सर्वसाधारण पाठकका लागि उपयोगी मान्नुभयो ।
झलकपाणि तिवारी, तोयानाथ लामिछाने र यादवचन्द्र भुर्तेलले शुभकामना मन्तव्य दिँदै युरोप भ्रमणका क्रममा आचार्यले देखेका र भोगेका अनुभवहरूको यथार्थपरक चित्रणले पुस्तकलाई विशेष बनाएको उल्लेख गर्नुभयो। कार्यक्रममा सङ्गम सांस्कृतिक मञ्चका कलाकारहरू काजी गाउँले, विकास लुङ्गेली, डी. बि. बान्तवा लगायतले आचार्यद्वारा रचित गीत प्रस्तुत गर्नुभएको थियो भने गोविन्दप्रसाद बरालले कविता वाचन गर्नुभएको थियो ।
कार्यक्रममा प्रा. डा. यदुनन्दन उपाध्याय, प्रा. डा. यमबहादुर पौडेल क्षेत्री, प्रा. डा. जगन्नाथ रेग्मी लगायतका साहित्यकार र शुभचिन्तकहरूको उपस्थिति रहेको थियो । ताराप्रसाद तिमिल्सिनाले कृतिकारको परिचय गराउनुभएको थियो भने आचार्यले आफ्नो युरोप बसाइको अनुभव सुनाउनुभएको थियो । भीम रानाभाटले कार्यक्रमको अध्यक्षता गर्नुभएको थियो भने पद्मराज ढकालले स्वागत मन्तव्य र प्राज्ञ नारायण मरासिनीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।