• २०८२ आश्विन २२, बुधबार

‘मेरा काका चाउ एनलाई’ नेपालीमा सार्वजनिक

काठमाडौंँ

नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वार्षिकोत्सवको अवसर पारेर चाउ एर्लियुद्वारा लिखित पुस्तक ‘My Uncle Zhou Enlai’ को नेपाली संस्करण ‘मेरा काका चाउ एनलाई’ काठमाडौंमा लोकार्पण गरिएको छ । बेल्ट एण्ड रोड पुस्तकालयमा आयोजित एक समारोहमा प्रधानमन्त्री चाउ एन लाईकी नातिनी चाउ रोंग, नेपालस्थित चिनियाँ दूतावासका उपप्रमुख वाङ सीन लगायतको उपस्थितिमा यस पुस्तकको विमोचन गरिएको थियो ।

अजय शर्माले नेपालीमा अनुवाद गर्नुभएको यस पुस्तकले प्रधानमन्त्री चाउ एनलाईको जीवन, नेपाल–चीन सम्बन्धमा उहाँको योगदान र कूटनीतिक भूमिकाको मार्मिक चित्रण गरेको छ। कार्यक्रममा बोल्दै नेपालस्थित चिनियाँ दूतावासका उपप्रमुख वाङ सीनले प्रधानमन्त्री चाउको नेपाल–चीन सम्बन्ध सुदृढीकरणमा र्पुयाएको अतुलनीय योगदानको प्रशंसा गर्नुभयो । उहाँले सन् १९५७ र १९६० मा चाउ एनलाईको नेपाल भ्रमणदेखि सगरमाथारचोमोङ्मा सीमा समाधानसम्मका ऐतिहासिक घटनाहरू स्मरण गर्दै यो पुस्तकलाई केवल जीवनी मात्र नभई हिमालवारपारको आत्मिक पुलको संज्ञा दिनुभयो ।

चाउ रोंगले नेपालमा पाएको आत्मीय स्वागतप्रति आभार व्यक्त गर्दै आफ्नो परिवारको नेपालप्रतिको गहिरो सम्बन्धबारे प्रकाश पार्नुभएको थियो । चाइना स्टडी सेन्टरका महासचिव डा. उपेन्द्र गौतमले चाउ एनलाईको कूटनीतिक योगदानलाई हिमालय क्षेत्रको भू–राजनीतिक सन्दर्भमा विश्लेषण गरे भने अनुवादक अजय शर्माले पुस्तक अनुवादको आफ्नो अनुभव सुनाउनुभयो ।

पुस्तकका सम्पादक तथा प्रकाशक किरण गौतमले दुई वर्षअघि चाउ एनलाईको पुण्यतिथिको दिन नेपाल पोस्टको १९७६ जनवरी ११ को अङ्क सामाजिक सञ्जालमा शेयर गरेपछि यिलिन प्रेसकी मिस याङसँग सम्पर्क भई पुस्तक अनुवादको सहकार्य शुरु भएको बताउनुभयो । उहाँले आफ्नो बुबा पत्रकार स्व. देवेन्द्र गौतमबाट सुनेको सन् १९५७ मा प्रधानमन्त्री चाउको नेपाल भ्रमणको बेला पशुपतिनाथ मन्दिरको दर्शनसँग सम्बन्धित एउटा दुर्लभ संस्मरण पनि सुनाउनुभयो ।

करेन्ट पब्लिकेशन र चीनको यिलिन प्रेसको संयुक्त आयोजनामा सम्पन्न यस कार्यक्रमले नेपाल–चीन जनस्तरीय सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ। प्रधानमन्त्री चाउ एनलाईको दूरदर्शी नेतृत्वप्रतिको श्रद्धाञ्जली अर्पण गर्दै कार्यक्रमले इतिहासको महत्व र वर्तमानसँगको सम्बन्धलाई उजागर गरेको छ ।