• २०८१ बैशाख १६ आइतबार

आधा–आधा

कात्यायन

कात्यायन

हिजैदेखि
उसको एकखुट्टामा मात्र चप्पल छ
आधा सुरुवाल मात्र लाएको छ
आधा भाग मात्र जिउ ढाकेको छ
टोपीको आधा भाग मात्र शिरमा छ
बिहान भात मात्र खान्छ
साँझ दाल मात्र पिउँछ
एक खुट्टाले हिँड्छ
एक आँखाले हेर्छ
एक हात मात्र चलाउँछ
प्रायः सबैको बानी परेको छ !
अचम्म नहुनु होला महाशय !
उसलाई आफ्नो देश प्यारो छ
आज्ञाकारी छ
अभिभावकको सुन्छ !
खर्चको वचत गर्नु छ
आयात–निर्यातमा सन्तुलन पार्नु छ !
सबैसबै कुरामा
आधा–आधा सञ्चय गर्दै जान्छ
अन्तिममा
जब मन र दिमाग
आधाआधा गर्ने समय आइपुग्छ
असमञ्जस्यतामा पर्छ !
हिमालहरू एकै छन्
पर्वतहरू एकै छन्
तराईहरू एकै छन्
तीन भएर नि एकै छन् !
सगरमाथाझैँ उच्च छन् !
एकछाक भात, र
अर्को छाक दाल खाए पनि
आधा सुरुवाल र आधा कमिज लाए पनि
एक आँखामा मात्र चश्मा लाए पनि
पूरै देख्छ !
मन एकै भए पनि पूर्ण अनुभूति गर्छ !
दिमाग एकै भए पनि सशक्त सोच्छ !
जे जतिमा
आधाआधा मात्र उपयोग गरे पनि
आधा देख्न सक्दैन
आधा पढ्न सक्दैन
आधा लेख्न सक्दैन !
कलम र मसीमा कटौती गर्न सक्दैन !
सम्झौता गर्न सक्दैन !!
शब्द र आवाजलाई बन्द गर्न सक्दैन !!


कात्यायन
चाबहिल, काठमाडौं


उमेर

बा