समाचार

चितवन ।
रत्ननगर निवासी सरला शर्माको लघुकथा संग्रह ‘उसैले जन्माएको छोरो’ शनिबार सार्वजनिक भएको छ । चितवनका साहित्यकार रामबाबु घिमिरेको प्रमुख आतिथ्यमा रत्ननगरमा भएको कार्यक्रममा ५० वटा लघुकथा समेटिएको संग्रह विमोचन भएको हो । साहित्यकार भूपिन खड्काले कथामा समाजका अनेक पाटा, रीतिथिति र कुसंस्कार समेटिएको बताए । शर्माले देश देशावरका विषयलाई प्रस्तुत गरेको उनको भनाइ थियो ।
कथाहरु कविताजस्ता भाव दिने रुचिकर रहेको अर्का समीक्षक सामना पहाडले बताइन् । ‘गृहिणीबाट आजदेखि उहाँ स्रष्टा हुनुभयो । उहाँका कथामा मानवका मात्रै होइन जीव, जनावर र पर्यावरणका मुद्दासमेत छन्,’ पहाडले भनिन् । वक्ता प्रेम रिमालले भान्सा सम्हाल्ने हरेकले कथा लेख्न सक्छन् भन्ने दृष्टान्त यो संग्रह भएको बताए । ‘सरलाजस्तो सरल मान्छेले पनि संसारका जटिल विषयलाई कथामा कलात्मक तरिकाले राख्नुभएको छ । घर गृहस्थीमा साँघुरिएझैं लागे पनि ज्ञानको दायरा फराकिलो रहेछ,’ रिमालले भने ।
लेखक शर्माले नियम र सिद्धान्त बुझेर कथा लेखेको नभई देखेभोगेका भावना पस्केको बताइन् । ‘लघुकथा २५० शब्दभित्रै हुनुपर्ने सिद्धान्त रहेछ । त्यसलाई समात्न सकिएको छैन । म कार्यक्रममा पनि खासै जान्नँ । माइक समातेर बल्ल आज पहिलोपटक सभामा यसरी बोल्दै छु । लेख्ने रहरलाई उतारेँ, सिद्धान्तमा ध्यान नपुगेको पनि होला,’ कथाकार शर्माले भनिन् ।
साहित्यकार एलबी क्षेत्रीले लघुकथा भनेर नेपालमा कथा संरचनामाथि ठूलो खेलवाड हुने गरेको हुँदा सिद्धान्त बुझेरै लेख्ने प्रयास गर्नु उपयुक्त हुने सुझाव दिए । ‘लेख्ने शैली आफ्नो हुन्छ तर नियम र सिद्धान्तको पनि ख्याल राखेर लेख्दा उत्तम हुन्छ । सरलाजीको पहिलो प्रयास हो, कथाका प्लट राम्रा छन् तर कथा भयो या भएन भन्ने प्रश्न गर्ने ठाउँ पनि छन्’ उनले भने ।