• २०८१ श्रावाण ११ शुक्रबार

प्रणयको खेल

आयुष बडाल

आयुष बडाल

सुर्य ढल्दै गर्दा
उदाउँदै गरेको त्यो चन्द्रमा देख्दा
वेदना सुस्ताउदै जान्छ र याद आउँछ
त्यो मुहारको… समर्पण प्रेयसी
अनि मनले खेल्न थाल्छ
प्रणयको खेल ।

चन्द्रमालेसंगै च्यापेर ल्याएको
त्यो
सर्दी मिश्रित रातमा
जब शीतका थोपा देखिन्छन्
तब
मेरो आलिङ्गनमा तिम्रो स्मृति आउँछ प्रेयसी
अनि मनले खेल्न थाल्छ
प्रणयको खेल ।

जति बग्यो उति बग्न मन लाग्ने
साच्चै ! बडो सुन्दर लाग्ने
तिमीसंग बिताएका
थोरै कालबाट नै भएपनि सिर्जित
त्यो स्मृतिलाई प्रेममा रुपान्तरण गर्नु छ
आलिङ्गनबाट हृदयमा पठाउनु छ प्रेयसी !

चेहरामा मधुर मुस्कान उमार्नु छ
गराएर स्पर्शको आभास प्रेयसी ।

दुई दिने जिन्दगीको लामो यात्रामा
एक अर्काको अप्राप्तीमा
अधकल्चो हुन्छ जीवन हाम्रो
हृदय–हृदयबीच फैलिसकेको
त्यो रसको वेवास्तामा
त्यसैले अब
द्वेय जिन्दगीमा
असिम प्रितीको फूल फुलाउनु छ

हृदय–हृदयबीच फैलिसकेको
त्यो रसलाई समर्थन गर्दै
सफल प्रेमी युगल भएर
स्नेहको भाव नियाल्नु छ प्रेयसी !!


आयुष बडाल