• २०८२ आश्विन २८, मंगलवार

श्याम सिंघकको उपन्यास ‘कोइलाखाद’ सार्वजनिक

काठमाडौंँ ।

मजदुर दिवसको अवसर पारेर लेखक श्याम सिंघकको उपन्यास ‘कोइलाखाँद’ विमोचन भएको छ । सम्भव समूहको आयोजनामा नेपाल प्रज्ञा प्रतिष्ठानको भवनमा विमोचित उपन्यासमाथि लेखक नयनराज पाण्डे र अध्येता कैलाश राईले आफ्नो धारणा व्यक्त गरेका थिए ।

लेखक पाण्डेले उपन्यासकार सिंघकको लेखनीको प्रशंसा गर्दै अनुसन्धान गरेर लेखिएका उपन्यासहरुमा समाजको यथार्थ चित्रण गरिने हुँदा यस्ता उपन्यासहरू धेरैभन्दा धेरै मात्रामा लेखिनुपर्ने धारणा व्यक्त गरे । उनले भने, ‘श्रमिकहरूको कथा वैश्विक विषय हो । यस्तो विषयवस्तुमा पाठकहरूको सहानुभूति हुन्छ । तसर्थ यो उपन्यास अङ्ग्रेजी साहित्यमा पनि अनुवाद हुनुपर्ने उपन्यास हो ।’

अर्का वक्ता राईले उपन्यासमा कोइलाखाद सम्बन्धी धेरै दस्ताबेजहरू रहेकोले यसलाई अनुसन्धानको पाटोबाट हेर्नुपर्ने तर्क व्यक्त गरिन् । ‘सानो छँदा बोजुहरुले कुरा गरेको कोइलाखादबारे उपन्यासमा पढ्न पाउनु खुसीको कुरा हो मेरा लागि,’ उनले भनिन्’ ‘यसले कोइलाखादमा काम गर्ने श्रमिक वर्ग र त्यहाँ बसोबास गर्ने समुदायको अर्थ सामाजिक र अर्थ राजनैतिक पक्षलाई पनि साह्रै मिहीन ढङ्गबाट प्रस्तुत गरेको छ ।’

लेखक सिंघकले भने व्यवसायीकरण र बजारीकरणको हिसाबले भन्दा पनि दस्तावेजिकरण होस् भनेर उपन्यास लेखेको बताए । पहिलेको उपन्यासभन्दा पनि अझै मिहिनेत गरेर लेखेको हुँदा यस उपन्यासबाट पाठकहरूको मन जित्ने कुरामा ढुक्क रहेको पनि उनको तर्क थियो । लगभग पाँच वर्षको अध्ययन र अनुसन्धानबाट तयार पारिएको ‘कोइलाखाद’ सक्दो मिहिनेत गरेकोले आफू सन्तुष्ट रहेको बताए । यसअघि सिंघकको ‘रेमिटल्याण्ड’ उपन्यास प्रकाशित भएको थियो ।