समाचार

काठमाडौँ ।
जापानका लागि नेपाली राजदूत एवम् साहित्यकार डा. दुर्गाबहादुर सुवेदी (दुबसु) क्षेत्रीलाई विसं २०८२ सालको ‘युगकवि सिद्धिचरण पुरस्कार’ प्रदान गरिने भएको छ । युगकवि सिद्धिचरण प्रतिष्ठानका अध्यक्ष कवि वैरागी काइँलाले एक विज्ञप्ति जारी गर्दै सो घोषणा गरेका हुन् । नेपाली भाषा साहित्यको उन्नयनमा उल्लेखनीय योगदान गरेवापत डा. क्षेत्रीलाई पुरस्कार प्रदान गर्ने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ ।
प्रा. डा. मोहनप्रसाद लोहनीको संयोजकत्वमा गठित त्रिसदस्यीय छनोट समितिको सिफारिसमा पुरस्कार घोषणा गरिएको हो । समितिमा प्रा. डा. अभि सुवेदी र कवि मञ्जुल सदस्य थिए । दुबसुका ६ दर्जन बढी मौलिक र सम्पादित साहित्यिक एवम् अनुसन्धानात्मक कृतिहरु प्रकाशित छन् भने उनले विभिन्न प्राज्ञिक, साहित्यिक र सांस्कृतिक संस्थाहरुमार्फत नेपाली भाषा र साहित्यको श्रीवृद्धिमा उल्लेखनीय योगदान पुरयाएका छन् ।
युगकवि सिद्धिचरण श्रेष्ठको साहित्यलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन दुबसुको महत्वपूर्ण योगदान छ । उनकै नाममा स्थापित दुबसु क्षेत्री राष्ट्रिय विकास प्रतिष्ठानबाट ‘भीमसेन थापा’ खण्डकाव्य प्रकाशित भएको छ । यस खण्डकाव्यलाई उनले नै नाटकीकरण गरी बेलायतलगायत विभिन्न देशमा मञ्चन समेत गराएका थिए । हाल उक्त नाटकलाई चलचित्रमा रूपान्तरण गर्ने तयारीमा उनी लागिपरेका छन् । उनले युगकवि सिद्धिचरणका कविताहरू अंग्रेजी र जापानी भाषामा अनुवाद गराई प्रकाशन समेत गरेका छन् ।
नेपाल, बेलायत, जापान र अमेरिकाका विभिन्न विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गरेका डा. क्षेत्री लामो समयदेखि कूटनीतिक सेवामा संलग्न छन् । बेलायत, जापान, माल्टा, आयरल्यान्ड, बहराइन, अमेरिका, म्यान्मा जस्ता देशहरूमा राजदूत, प्रथम सचिव र महावाणिज्य दूतका रूपमा कार्यसम्पादन गरिसकेका डा. क्षेत्रीलाई प्रशासनिक भन्दा पनि साहित्यिक क्षेत्रमा बढी चिनिन्छ ।
कविता, काव्य, गीत, गजल, मुक्तक तथा अनुसन्धानका क्षेत्रमा उनका ३८ वटा भन्दा बढी कृति प्रकाशित छन् । यसबाहेक उनले तीन दर्जन बढी कृति तथा पत्रपत्रिकाहरूको सम्पादन समेत गरिसकेका छन् । एक दर्जनभन्दा बढी अनुदित कृतिहरूको प्रकाशन एवं दुई दर्जन सङ्घसंस्थाहरूको स्थापना र नेतृत्वमार्फत उनले नेपाली भाषा साहित्यको विकासमा उल्लेखनीय योगदान र्पुयाएका छन् । साहित्यिक क्षेत्रमा लामो समयदेखि अनवरत रुपमा र्पुयाएको कदरस्वरूप डा. दुबसु क्षेत्रीलाई युगकवि सिद्धिचरण पुरस्कार–२०८२ प्रदान गर्ने निर्णय भएको हो ।
पुरस्कार आगामी जेठ ९ गते युगकवि सिद्धिचरणको ११४ औँ जन्मजयन्ती विशेष समारोहमा प्रदान गरिने प्रतिष्ठानका संरक्षक रविचरण श्रेष्ठले जानकारी दिए । युगकवि सिद्धिचरण प्रतिष्ठानले वि. सं. २०८२ सालको ‘युगकवि सिद्धिचरण पुरस्कार’ प्रदान गर्ने निर्णय गरेकोमा आभार प्रकट गर्दै साहित्यिक क्षेत्रमा आफूले गरेको योगदानको कदर भएको राजदूत एवम् साहित्यकार सुवेदीले बताएका छन् । यसबाट आफू सम्मानित मात्र नभई नेपाली साहित्यिक क्षेत्रमा ठूलो जिम्मेवारी थपिएको उनले बताए ।