• २०८२ भाद्र २९, आईतवार

कृष्ण गौतमको ‘रानीहार’ निबन्धसङ्ग्रह प्रकाशित

प्राध्यापक कृष्ण गौतमको ‘रानीहार’ निबन्धसङ्ग्रह प्रकाशन भएको छ । शिखा बुक्सले प्रकाशन गरेको उक्त निबन्धसंग्रहमा ४० निबन्ध सङ्ग्रहीत छन् ।

निबन्धबारे समीक्षकर पत्रकार राजकुमार बानियाँ लेख्छन्, ‘प्राध्यापक कृष्ण गौतम सिर्जनादेखि सिद्धान्तसम्म चिन्तनको नयाँ परिपाटी बसाल्ने लेखक हुन् । नेपाली साहित्यमा उत्तर आधुनिकताको सरगर्मी ल्याएर होस् या भाषा र मानवीयताको प्रश्नमा जागरूक भए र गौतमका हरेक सिर्जनामा समाजका बहुल विचार भेटिन्छन्, अन्तर्विधात्मकता र कलात्मकताको बेजोड हातेमालो हुन्छ । रानीहार पृथक् अस्तित्व र अनुपमता जाहेर गर्न सक्षम निबन्धकृति हो ।

यसले विधागत रूप र अर्थ, शिल्प र अभिप्रायमा सामयिक औचित्य र उत्तेजना भरेर रोचकता थपेको छ । भाषाको विलक्षण चलखेलमा सम्मोहक ऊर्जा र अतिरिक्त आस्वाद्यता छ । यसमा हार्दिकता, सिर्जनात्मकता, विश्वसनीयता, अनौपचारिकता, अलमस्तीपना आदि गुण तथा गरिमाको उचाइ जगमगाएको छ । प्रस्तुत कृति निबन्धको जामा दिइने यात्रा, नियात्रा, समीक्षा, संस्मरण, टिप्पणी, लेख, रिपोर्ताज आदि चलनचल्तीका लेखनबाट सम्पूर्णतः अलग्गिएको छ । तर, ती विधाका तरल स्वरूप भने यसमा पनि उत्तिकै सलबलाइरहेका देखिन्छन्’ ।

‘रानीहार’ निबन्धसङ्ग्रहको पृष्ठ संख्या ३४० र मूल्य ६७५ रूपैयाँ छ । यसअघि गौतमको अद्वैत उपन्यासले २०८० को पद्मश्री साहित्य पुरस्कार र कविडाँडा आख्यान पुरस्कार पाएको थियो ।