कविता

छहरा साहित्य समाज, धापासीको आयोजनामा ग्रीनल्याण्ड माध्यमिक विद्यालय, धापासीको सभाकक्षमा लघुकथा गोष्ठी सम्पन्न गरिएको छ । साहित्यकार योगेन्द्र तिमिल्सिनाको अध्यक्षता तथा आख्यानकार ध्रुव मधिकर्मी को प्रमुख अतिथ्यतामा विशेष अतिथि आख्यानकार हरिहर खनाल तथा समालोचक प्रा. गङ्गाधर कट्टेल रहनु भएको थियो । उक्त कार्यक्रममा लघुकथाकारहरू हरिहर खनाल, ध्रुव मधिकर्मी, योगेन्द्र तिमिल्सिना, भोला दुलाल, डा. बासुदेव काफ्ले, मञ्जु शर्मा नेपाल, आनन्द पौड्याल, भगवती पौड्याल तथा शाम्भवी वशिष्टले लघुकथा वाचन गर्नु भएको थियो भने नवीन कार्की, रुपा रिसाल, रमा शर्माले केही लामा र संस्मराणत्मक कथा प्रस्तुत गर्नु भएको थियो । साहित्यानुरागी स्थानीय व्यक्तित्वहरू समेतको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रमको उद्घाटन मञ्चमा आसिन अतिथिहरूलाई पुष्पगुच्छा प्रदान गरी गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि ध्रुव मधिकर्मीले लघुकथाको विकासक्रमको सन्दर्भ तथा यसका विशेषताहरु माथि प्रकाश पार्नु भएको थियो । उहाँले लघुकथा गोष्ठीका सहभागीहरूका रचनाहरूतर्फ संकेत गर्दै सबैको रचनाकर्म प्रशंसनीय रहेको विचार व्यक्त गर्नु भएको थियो । त्यस्तै विशेष अतिथि समालोचक प्रा. गङ्गाधर कट्टेलले लघुकथा वारे समालोचकीय दृष्टिकोण प्रस्तुत गर्नु भएको थियो ।
सो कार्यक्रममा समाजका कोषाध्यक्ष आनन्द पौड्यालले स्वागत मन्तव्य दिनु भएको थियो भने कार्यक्रमको सञ्चालन छहरा साहित्य समाज, कार्यसमितिका सदस्य डा. वासुदेव काफ्लेले गर्नु भएको थियो ।