कविता

काठमाडौं ।
स्रष्टा गोपीकृष्ण ढुंगानाको बालकथा संग्रह ‘भैंचालो’ प्रकाशन भएको छ। सञ्चारकर्मी ढुंगानाले भूकम्पसम्बन्धीका घटना र सन्दर्भलाई उनेका कथाहरू भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको हो । ‘भूकम्पको भूत, ‘सम्झनाको सपना, ‘अञ्जुका आँखा, ‘बेहोसपछिको होस, ‘मेनुकाको मुटु र ‘लोभले लाभ, लाभले विलाप ! ’शीर्षकका ६ वटा कथा ‘भैंचालो’ भित्र समेटिएका छन् ।
२०७२ साल वैशाख १२ गते नेपालमा गएको महाभूकम्पले जनधनको ठुलै क्षति गरेको थियो । त्यसबेला ढुंगानाले ‘वैशाख १२’ नामको बालकथा संग्रह प्रकाशनमा ल्याएका थिए । स्वदेश प्रकाशनले बजारमा ल्याएको उक्त किताब सोही प्रकाशनले ‘१२ वैशाख’ नाममा अंग्रेजीमा पनि प्रकाशित भएको थियो ।
लेखकीय मन्तव्यमा गोपीकृष्ण ढुंगानाले ‘भैंचालो’मा लेखेका छन्, ‘सोही क्रममा अर्को पुस्तकका लागि पाण्डुलिपि तयार भयो । साझा प्रकाशनले छाप्नेगरी तयारी भयो तर यसै आठ वर्षसम्म पाण्डुलिपि थन्कियो । अहिले सोही पाण्डुलिपि भैंचालो शीर्षकमा प्रकाशित भएको हो ।’
उनका अनुसार आपत्–विपतमा देखे, जाने, बुझे र भोगेका यस्तै घटना, दुर्घटना र सन्दर्भलाई कथाका माध्यमबाट बालबालिकालाई ज्ञान दिन यो संग्रह तयार पारिएको हो । प्रज्ज्वल थापा मगरका चित्रहरूमा सजिएको भैंचालो बालबालिकाले रंगीन पृष्ठहरूमा पढ्न पाउनेछन् ।