विश्व नै कोरोना भाइरसको प्रकोपले आतङ्कित भइरहेको वेला हाम्रो मनस्थितिलाई पनि कोरोना नामक प्रहारले असर नगर्ने त कुरै भएन ।
परिवारसँगै म पनि अर्धक्वारेन्टाइनमा दिन बिताइरहेकी छु । बिहान- बेलुका बाहिर त जानैपर्यो, किनभने हामी केही समयका लागि बाहिर निस्कन्छौँ । यसरी भान्सामा चाहिने तरकारी र पत्रपत्रिका ल्याउने जिम्मा मेरा श्रीमानले लिनुभएको छ । उहाँले यी काम गरिसकेपछि बचेको समय भने साहित्य अनुवादमा लगाउनुहुन्छ । म पनि केही समय बाहिर जान्छु; कहिले यस्तै किनमेल गर्न त केही समय कार्यालयका लागि ।
नातिहरू अरू वेलाभन्दा व्यस्त छन् । घरमै बसेर बिहानभरि अनलाइन क्लासका लागि व्यस्त हुन्छन् र हप्ताको दुई दिन कपडा धुन अनि घरआँगनको सरसफाइको जिम्मावारी उनीहरूले नै लिएका छन् ।
छोरी र म भएर भान्साको काममा लाग्छौँ । उनी लेख्न- पढ्नमा व्यस्त भइरहन्छिन् र दिनको केही समय बाहिर निस्किन्छिन् ।
दिनको समय मेरो प्रज्ञा- प्रतिष्ठानमा बित्दछ । त्यहाँ हामी आ- आफ्ना भागमा परेको जिम्मेवारी वहन गर्नमा व्यस्त हुन्छौँ । सत्य भन्नुपर्दा नेपाल प्रज्ञा-प्रतिष्ठान एउटा सिङ्गो विश्वविद्यालयजस्तो लाग्छ मलाई । साहित्यकारहरूसँगको भेटघाट, छलफल, पुस्तकचर्चा र साहित्यकारहरूसँगको आत्मीय भेटघाट । कुनै दिन यस्तो अद्वितीय क्षण मेरो जीवनमा आउला भनेर सोचेकी पनि थिइनँ तर यसैलाई भन्दछन् क्यारे मानिसले नसोचेको कुरा- घटना उसको जिन्दगीमा भइदिन्छ ।
भगवान लाई सहस्रपटक धन्यवाद दिन्छु । मलाई यस्तो अनुपम पल-समय उपहार दिनुभएकोमा र साथै म मेरी जन्मदात्री मुमालाई पनि श्रद्धापूर्व सम्झँदै मनन गर्न चाहन्छु, जसले अति नै दुःखको घडीमा पनि मलाई आशीर्वाद दिइरहनुहुन्थ्यो ।
कहिलेकाहीँ म ज्यादै कल्पिन्छ, मेरी मुमालाई सम्झेर…आज उहाँ हुनुभएको भए मेरो सुखी जीवन देखेर कति खुसी हुनुहुन्थ्यो होला ! सुरूसुरूमा कोरोनालाई मैले त्यतिविधि गम्भीर रूपमा लिएकी थिइनँ तर जब समय बित्नुका साथसाथै कोरोनाले आफ्नो प्रचण्ड रूप देखाउन थाल्यो र मानिसहरूमा आतङ्क फैलाउन थाल्यो, तब म पनि एकाएक आतङ्कित बनेँ ।
मन हरसमय अशान्त रहन थाल्यो । एउटा गहिरो त्रासले मन- मस्तिष्कमा जरा गाडेर बसेको भान भयो ।
‘ओहो, अब के होला…?’ मनले बारम्बार आफैँसँग प्रश्न गर्न थाल्यो ।
म छोरी र नातिहरूको अनुहार हेर्दै मनमनै ईश्वरसँग पुकारा गरिरहन थालेँ- ‘प्रभु, मैले त यो संसारमा जन्म लिएर राम्रो- नराम्रो, दुःख- सुख, प्राप्ति- अप्राप्ति, जेजस्तो भए पनि आफ्नो भागको जीवन भोगिसकेकी छु तर यी मेरा सन्तानहरूले त बल्ल संसारलाई बुझ्दै छन्, भर्खरभर्खर बिहानको सूर्यले चियाउँदै यिनीहरूको जीवनमा अझ प्रकाश फैलिनु बाँकी नै छ, उनीहरूको जीवन रक्षा गर…।’
यस्तैयस्तै अनेक थरीका तर्कनाहरूले मन- मस्तिष्कलाई खलबलाइ रहन्छ । त्रसित बनाइरहन्छ । उहिले म नाबालख छँदा हरेक वर्ष साउन १ गते साउने सङ्क्रान्ति मनाएको सम्झन्छु । त्यो दिन घरघरबाट मानिसहरूले लुतो फाल्ने कार्य गर्दथे । हाम्रो टोलका बासिन्दाहरूले त्यो दिन बडो रमाइलो गर्दै लुतो फाल्ने प्रथा सम्पन्न गर्दथे ।
बिहान सखारै तुलसीको मठ लिपपोत गरेर बेलुका पूजा गर्नका लागि पूजाको सर्जाम ठीक पारिन्थ्यो । जोडी निबुवा, जोडी सुन्तला, जनै झार, तिउरी जयन्तीको लहरा आदि जम्मा गर्दथे । निबुवा, अम्बा, सुन्तलाको हाँगा ननुहिइएको हुनुपथ्र्यो । बेलुका तुलसीमठमा धूपबत्ती बालिन्थ्यो र रात परेपछि ससाना अगुल्टो बालेर मकैका खोस्टा परपर हुर्याउँदै ‘ल है, हाम्रो घाउखटिरा लुतोजति फलानालाई…।’ कहिले नामै तोकेर र कहिले अर्को गाउँटोलको नाउँ उच्चारण गरेर ठूलो स्वरमा कराउँदै जलेको दाउरा, खोस्टा आदि पर…परसम्म हुर्याउने गर्दथे । अनि त्यसपछि चिप्लो चामलको लट्टे र तरकारी आदि खाइन्थ्यो ।
त्यस वेला हामी भुराभुरीलाई लुतो फाल्ने कार्य खुबै रमाइलो लाग्दथ्यो । हामीलाई त्यति वेला लुतो फाल्ने चाड अथवा कार्य पनि जनविश्वाससँग जोडिएको एउटा प्रथा हो भन्ने थाहा थिएन ।
अहिले यतिका वर्षपछि जब सारा विश्व यस कोरोनाको महामारीले गर्दा अशान्त र भयातुर भएका छन् र हामी सबै हरदिन हरपल कोरोनाले कुनै क्षणमा हामीलाई आफ्नो क्रुर पन्जामा लिने हो भन्ने त्रासमा बाँच्नुपरेको छ, तब यस्तो अवस्थामा मनभित्र प्रश्न उब्जिन्छ, के हामीले उहिल्यै मानिसको जनविश्वासमा मनाउँदै आएको जस्तै कोरोना फाल्ने दिन पनि आउला त ?
आज विज्ञानको शक्तिले गर्दा मानिसले चन्द्रमामा समेत पाइला टेकिसकेको छ । हुनसक्छ भविष्यमा चन्द्रमामा पनि मानिसको बसोबास होला तर विज्ञानलाई समेत चुनौती दिइरहेको यो कोरोना नामक प्रकोपलाई कहिले परास्त गर्न सकिएला ? यो प्रश्न बारम्बार दोहोरिन्छ मेरो मनमा ।
आज मात्र समाचार- पत्रमा एउटा महत्त्वपूर्ण खबर छापिएको देखेँ- बेलायतमा ९० वर्षकी एक हजुरआमाले कोभिड- १९ को फ्रिजर भ्याक्सिन लगाएको समाचार । यो पढेर अत्यन्तै खुसी लाग्यो ।
आशा गरौँ, संसारभरिका मानिसहरू यसबाट लाभान्वित हुनेछन् ।
(ठकुरी स्थापित साहित्यकार हुन्)
[email protected]