समाचार

काठमाडौँ ।
श्रेयज सुवेदीको कथा सङ्ग्रह ‘बहुरुपी’ लोकार्पण गरिएको छ । राजधानीका सात स्थानबाट पाठकहरूसँगको अन्तरक्रिया, पुस्तक हस्ताक्षर र बिक्रीसँगै पुस्तक सार्वजनिक गरिएको हो ।
काठमाडौँ बालुवाटारस्थित बुक्स मण्डला, चियावाला थापाथली, सिभिल मल सुन्धारा, आइप्लेक्स मल बानेश्वर र ललितपुरको लबिम मल, चियामाया झम्सिखेल, पिमवहालबाट एकै साथ पुस्तक सार्वजनिक गरिएको हो । पुस्तक सार्वजनिकको परम्परागत शैलीभन्दा पृथक् रूपमा सिनेमाको बजारीकरण गरेजस्तै उक्त किताब सार्वजनिक गरिएको हो ।
पुस्तक सार्वजनिक गर्दै बुकहिल प्रकाशन गृहका अध्यक्ष भूपेन्द्र खड्काले पुस्तक सार्वजनिकको परम्परागत शैली त्यागेर नवीनतम् शैली अपनाउनु आजको आवश्यकता भएको बताए । कतिपय पुस्तक राम्रा हुँदाहुँदै पनि लक्षित पाठकसम्म पुर्याउन सकिएको हुँदैन, नयाँ तरिकाले त्यसको प्रचारप्रसार गर्दा के रैछ भनेर पाठकलाई रुचि हुन सक्छ । ‘बहुरुपी’मा हामीले त्यही गरेका हौँ, उनले भने ।
सङग्रहमा ६ वटा खण्डमा विभाजन गरिएका १५ वटा कथाहरू समावेश छन् । ‘बहुरुपी’ को बजार मूल्य ५५५ रुपैयाँ राखिएको छ ।