• २०८१ भाद्र २५ मङ्गलबार

मुकुन्द अर्यालको उपन्यास ‘जीबाको चौतारी’ सार्वजनिक

भूगोल साहित्य समाजको आयोजनामा पुस ३० गते नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथकक्षमा आयोजित एक कार्यक्रम बीच मुकुन्द अर्यालको उपन्यास ‘जीबाको चौतारी’ सार्वजनिक गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका निवर्तमान उपकुलपति संस्कृतिविद् डा. जगमान गुरुङ रहनुभएको उक्त कार्यक्रममा लोकार्पित कृतिका बारेमा कवि एवम् निबन्धकार मित्रलाल पंगेनीले समीक्षात्मक टिप्पणी गर्दै कृतिका बलिया र कमजोर पक्षबारे आफ्नो धारणा राख्नुभएको थियो ।पूर्व सहायकमन्त्री दीनबन्धु अर्याल, ज्याग्दी खोला साहित्य प्रतिष्ठान, स्याङजाका अध्यक्ष देबेन्द्र लम्साल र राष्ट्रिय वाणिज्य बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत जनार्दन आचार्यले आ-आफ्ना सम्बोधन मार्फत कृतिकारलाई शुभकामना दिनुभएको थियो । कृतिकार मुकुन्द अर्यालले कृतिको रचनागर्भ बारे जानकारी गराउनु हुँदै कार्यक्रममा उपस्थित हुने र आफूलाई लेखनमा उत्प्रेरणा र सहयोगदिने सबैप्रति हार्दिक आभार व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा नेपाल सरकारका सचिव दामोदर रेग्मी, समाजका मानार्थ सदस्यहरू सुशील श्रेष्ठ र उद्धव खनाललगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो । समाजका अध्यक्ष विनोद नेपालको सभापतित्वमा आयोजित कार्यक्रममा आगन्तुकको स्वागतमा समाजका उपाध्यक्ष दिनेश विक्रम थापाले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन पत्रकार राजेश खनालले गर्नुभएको थियो । कविको रूपमा पहिचान बनाइसक्नु भएका अर्यालको यो चौथो कृति र उपन्यास पहिलो हो । यसअघि उहाँका दुई कवितासंग्रह र एक लघु उपन्यास प्रकाशित छन् ।