समाचार

काठमाडौं ।
नेपाली साहित्यको क्षेत्रमा एक ऐतिहासिक उपलब्धि थपिएको छ । जगदम्बा नेपाली साहित्यको बृहत् इतिहासको पाँचौँ तथा अन्तिम ठेली प्रकाशित भएसँगै यो महत्वाकांक्षी योजनाले पूर्णता पाएको छ । विस्तृत पाँच ठेलीमा नेपाली साहित्यको विविध आयामहरू समेटिएका छन् ।
पाँचौँ ठेलीमा नेपाली साहित्यका विभिन्न विधाका इतिहास समावेश गरिएका छन् । प्रा. डा. दयाराम श्रेष्ठको ‘आधुनिक नेपाली कथाको इतिहास’, डा. खेम दाहालको ‘आधुनिक नेपाली उपन्यासको इतिहास’, प्रा. रामचन्द्र पोखरेलको ‘आधुनिक नेपाली नाटकको इतिहास’, ज्ञानु अधिकारीको ‘नेपाली समालोचनाको इतिहास” र प्रमोद प्रधानको ‘नेपाली निबन्ध र सम्बद्ध विधाहरूको इतिहास’ यस ठेलीका प्रमुख आकर्षण हुन् ।
यसअघि प्रकाशित चार ठेलीहरूले क्रमशः ‘भाषा, व्याकरण र अभिलेख’, ‘लोक साहित्य, प्रारम्भिक काल, माध्यमिक काल र अनुवाद’, ‘नेपाल बाहिरको नेपाली साहित्य’ र ‘नेपाली पद्य र बाल साहित्य’ विषयवस्तुलाई समेट्नुभएको थियो । प्रत्येक ठेलीमा सरदर १५ सय भन्दा बढी पृष्ठ रहेका छन् ।
नेपाली वाङ्मयको क्षेत्रमा यति बृहत् र व्यापक इतिहास लेखन र प्रकाशन यसअघि कहिल्यै भएको थिएन । यो योजनाको परिकल्पना नेपाली वाङ्मयसेवी, अनुसन्धाता, निबन्धकार प्रणेता एवं जगदम्बा प्रकाशनका संस्थापक स्व. कमल दीक्षितको थियो । तर, उहाँको जीवनकालमा यो महत्त्वाकांक्षी योजना पूरा हुन सकेन ।
पहिलो ठेली विसं २०७४ सालमा प्रकाशित भएको थियो भने सम्पूर्ण ठेलीहरूको प्रधान सम्पादक प्रा. डा. माधवप्रसाद पोखरेल हुनुहुन्छ । यस विशाल र गहन इतिहासको प्रकाशनले नेपाली साहित्यको अध्ययन, अनुसन्धान र संरक्षणमा महत्वपूर्ण योगदान र्पुयाउने विश्वास लिइएको छ । यसले भावी पुस्ताका लागि नेपाली साहित्यको धरोहरलाई सुरक्षित राख्न महत्त्वपूर्ण भूमिका खेल्नेछ ।