नयाँ सूर्य उदाएको छ
के तिमीले देखेनौ ?
बगैँचाले रङ्गविरङ्गका
फूल फुलाएको छ
के तिमीले देखेनौ ?
छहरा,
छमछम नाच्छ
गगन अभिगुञ्जित छ
अन्धकार सारा खण्डित छ
मान्छे महिमा- मण्डित छ
के तिमीले देखेनौ ?
स्वप्नहरूका आँखा
अब उघ्रिएका छन्
कठ्याङ्ग्रिने हिउँ
पग्लिएका छन्
धमिला पानीहरू सब
सङ्लिएका छन्
हिमाल उक्लेर आशा
अग्लिएका छन्
कृश शरीर
तङ्ग्रिएका छन्
के, तिमीले देखेनौ ?
जीवनका किनारहरूमा
खोलाले धेरैधेरै
छाल उरालेको छ
तिमीले देखेनौ ?
यो नया सङ्गीत बनेर
आएको एउटा लहरले
सारालाई भिजाएको छ
के, तिमीले देखेनौ ?
आँखाबाट आँसु होइन
मोती झर्नेछन्
ओठमा मुस्कान होइन
फूल फुल्नेछन् ।
रूखहरूमा हाम्रा
आशा फल्नेछन्
हाम्रा विश्वास समयभन्दा
अघि चल्नेछन्
त्यसका लागि हरेक मुटुले
मुटु सजाएको छ
के, तिमीले देखेनौ ?
कसैले आएर
नयाँ कविता गाएको छ
के, तिमीले देखेनौ ?
साभार: मेघा (कवितासङ्ग्रह)
[email protected]
(चौधरी विशिष्ट साहित्यकार हुन् ।)