• २०८२ आश्विन २२, बुधबार

सिउँडी फूल

दीपक चौलागाईं

दीपक चौलागाईं

हुँ म सिउँडी फूल
प्रतिकुलतासँग संघर्ष गर्दै
फुलिरहेछु वर्षैँदेखि
नितान्त कुनै तिर्सना छैन
दिग्भ्रमको गुलियो आशा नदेखाउनु

रमाइरहेको छु-
कन्दराहरूमा
पहाडका यी शुष्क छातीहरूमा
दुःखका उच्चाट पखेरीहरूमा

स्वर्ग यही हो मेरो लागि-
क्षणिक स्वार्थको पछाडि धाउँदै,
आरामदायी अडेसा नखोज्नु
सिङ्गो धर्तीमा…
योभन्दा अर्को स्वर्गको मोह नदेखाउनु

त्यस्तो कुनै आसिक नदिनु-
कि सुख सधैं मेरै भागमा होस्
कि म एक्लै झाङ्गिन सकुँ
रमाउँदै फैलिन सकुँ…
र छाडूँ आफन्तको साथ–सम्बन्ध
मलाई एक्लै रमाउने इच्छा नजगाउनु

सचेत हुन सिकेको छु-
शिरैमाथिको घोप्टे भीरहरूबाट
जोगाएका छन् मलाई-
आफ्नै तिखा काँडाहरूले
बिना पसिना,
मलाई सुकमोल सैयाको वरदान नदिनु

लघुताको आभास नदिनु,
उच्चताबोध त झन दिँदै नदिनु
म समानताको माली,
स्वतन्त्रताको उपासक

मलाई सधैं
म नै हुन दिनु-
अर्को हुनबाट हरदम बचाउनु
मलाई सपनाको मृगतृष्णा नबाँड्नु
सत्कर्मको बाटो डोर्होउनु
तर-
कर्तव्यको पालना गरिरहँदा
अलिकति पनि लोभ नदिनु
कर्तव्यभन्दा बढी अपेक्षा नदिनु

हुँ म सिउँडी फूल:
प्रकृतिसँग अनुकुलित हुँदै
फुलिरहेछु वर्षौदेखि
मसँग…
खुसामदको कुनै आकाङ्क्षा नराख्नु ।


दीपक चौलागाईं