समाचार

के को हो के को ?
दिनानुदिन हुलका हुल मान्छे आउछन्
चिच्याउछन्
जात्रा जस्तै छ सडकमा
न त गाडी जाने ठाँउ छ
जाम –जाम –जाम
जुलुस छ, धर्ना छ
प्रदर्शन छ
त्यतैतिर
रथयात्रा छ
लगनखेलदेखि हनुमान ढोकासम्म
मछेन्द्रनाथको रथयात्रा
भण्डारदेखि मन्दिरसम्मको यात्रा
आर्यघाटमा जलाइएका राजाको
गद्दी आरोहण रथयात्र
घरदेखि श्मशानसम्मको शवयात्रा
दुलहाको घरदेखि दुलहीसम्मको जन्ती
यस्तै अनगिन्ती
सडक खाली छैन
खाली छ केबल मन मात्र
विश्वास छैन शासक प्रतिको
आश छैन नयाँ सम्भावनाको
भरोसायोग्य पनि कोहि छैनन्
छन त छन् हुलका हुल मान्छे छन्
मनमा आक्रोश र विद्रोह बोकेका छन्
त्रिपुरेश्वर, माइतीघर मात्र होइन
सबै सडकमा जाम छ
सडक खाली छैन
हरेक घरको धुरीमा धुवाँ देखिने काठमाडौँ
धरहराबाट चियाउन मिल्ने काठमाडौँ
बडेमानको भएको छ
ड्रोन क्यामारामा कैद भएका मानिस
असंख्य लाग्छन्
घरै घरको जुलुस देखिन्छ
उहिलेदेखि अहिलेसम्म
डढाएका,पुरिएका कङ्कालाहरूको
जुलुस देखिन्छ
सिनेमा हल हाउसफुल भए जस्तै
खचाखच छ सडक
सडक खाली छैन
यतै सडकमा जेब्राक्रसका ट्याटु देखिन्छन्
यतै कतै मर्नै लागेका,मुर्झाएका
बोट बिरुवा देखिन्छन्
बाटो बन्दछ लेखिएको
अण्डरग्राउण्ड बाटो र
भाचिनै लागेको आकाशे पुल पनि
भुत पिशाचको जुलुसमा छन्
कहि खाली छैन
सडक खाली छैन
सहकारी पीडित, शिक्षक, विद्यार्थी
आदि आदिले सडक भरिभराउ छ
सडक गाडी गुडन हो वा जुलुस गर्न
जुलुस हो वा धर्ना
जात्रा हो वा शवयात्रा
सडक खाली छैन
सायद आजभोलि सवारी जादैन क्या हो
सवारी हुदा पनि सडक खाली हुन्थ्यो
सन्नाटा छाउथ्यो
रहरले साइरन बजाउने सवारी
बाध्यताले साइरन बजाउने एम्बुलेन्स पनि
चल्नै छोडे
बरु यतै कुर्सी,मेच राखी कक्षा सुरु गर्ने कि ?
यतै रोपाहार बोलाएर रोपाइ गर्ने कि ?
कार्यालयको काम यतै थाल्ने कि ?
भ्याइनभ्याई छ
चनाचटपटे बेच्नेलाई
रत्नपार्कका नगरबधुलाई
वार रेष्टुरालाई
अर्थतन्त्र तहसनहस भए पनि
राज्यव्यवस्था बर्बाद भए पनि
सडकमा चहलपहल छ ।
मन खाली, विश्वास खाली छ
तर सडक खाली छैन
कैलासकुमार पाण्डेय
परशुराम, ३ थपला