English Poem

न्यूयोर्क ।
अमेरिकाको न्यूयोर्कमा लामो समयदेखि साहित्य सिर्जनामा संलग्न लक्ष्मी श्रेष्ठको पाँचौँ कविता संग्रह ‘सगरमाथाको आर्तनाद’ विमोचन भएको छ । अनेसास न्यूयोर्क च्याप्टरद्वारा आयोजित एक कार्यक्रममा कृतिको लोकार्पण गरिएको हो । साहित्यकार पूजाले आफ्नो शुभकामना मन्तव्यमा राम्रा कवितालाई सहजै परिभाषित गर्न नसकिने कुरा बताउँदै पाठक र समालोचकलाई नै त्यसको मूल्याङ्कन गर्ने जिम्मा सुम्पिनुपर्ने धारणा राख्नुभयो । उहाँले अनेसासले विश्वभर छरिएर रहेका नेपाली भाषीहरूलाई एकताबद्ध गर्ने काम गरेकोमा प्रशंसा गर्नुभयो ।
कार्यक्रममा आनन्द श्रेष्ठले कृतिको समीक्षा प्रस्तुत गर्नुभयो भने राजेन्द्र श्रेष्ठले संग्रहबाट केही कविता वाचन गरी कार्यक्रमलाई थप रोचक बनाउनुभएको थियो । डा। गोविन्द कोइराला, शारदा क्षेत्री, गायिका लक्ष्मी गिरी लगायत थुप्रै अतिथिहरूले शुभकामना मन्तव्य राख्दै सर्जक श्रेष्ठको लेखन यात्राको प्रशंसा गर्नुभएको थियो ।
तारा–किशन फाउण्डेशनका तर्फबाट किशनसिंह धामीले सर्जक लक्ष्मी श्रेष्ठ र शारदा क्षेत्रीलाई सम्मान गर्नुभएको थियो । कार्यक्रममा उपस्थित साहित्यप्रेमीहरूले सर्जक श्रेष्ठलाई खादा र पुष्पगुच्छाले सम्मान गर्दै उहाँहरूको निरन्तर लेखन यात्राको कामना गर्नुभएको थियो । अनेसास न्यूयोर्क च्याप्टरले पनि प्रमुख अतिथि गोवद्र्धन पूजा र उहाँकी पत्नी कुशल श्रेष्ठलाई सम्मान-पत्र र दोसल्लाले सम्मानित गर्नुभएको थियो ।
कार्यक्रममा अनेसासका निवर्तमान अध्यक्ष गोवद्र्धन पूजा, निवर्तमान उपाध्यक्ष राजेन्द्र श्रेष्ठ, नेपाल मुक्तक प्रतिष्ठान अमेरिकाका अध्यक्ष आनन्द श्रेष्ठ, अनेसासका केन्द्रीय सदस्य शकुन ज्ञवाली, च्याप्टर उपाध्यक्ष जानुका वस्ती ढकाल, महासचिव नदीया लिवाङ लगायतको उपस्थिति रहेको थियो । ५२ थान कविता समेटिएको ‘सगरमाथाको आर्तनाद’ संग्रहको विमोचन समारोह अनेसास न्यूयोर्क च्याप्टरकी अध्यक्ष लक्ष्मी श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो भने महासचिव नदीया लिवाङले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।