कविता
खजुरा ।
बाँकेको खजुरामा सम्पन्न दुई दिने खजुरा साहित्य महोत्सवले देशभरिका साहित्यकारहरूलाई एकै थलोमा भेला गराएको छ । खजुरा प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित यस महोत्सवले श्री शुक्र मा. वि., खजुराकी छात्रा रेखा थापालाई ‘खजुरा प्रतिभा २०८१’ घोषित गर्दै समापन गरेको छ ।
कविता लेखन तथा वाचन, वक्तृत्वकला, गायन र नृत्य गरी चार विधामा प्रतिस्पर्धा गर्नुभएको थापालाई १५ हजार नगद पुरस्कार र प्रमाणपत्रले सम्मानित गरिएको थियो । खजुरा गाउँपालिकाका अध्यक्ष तथा प्रतिष्ठानका कुलपति डम्बरबहादुर विक ‘तुफान’ ले उक्त पुरस्कार प्रदान गर्नुभएको थियो ।
वैशाख ५ गते साँझ सिर्जना वाचन तथा खजुरा प्रतिभा प्रदर्शनबाट सुरु भएको महोत्सवको औपचारिक उद्घाटन वैशाख ६ गते पालिका प्रमुख तुफानको प्रमुख आतिथ्य र प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. इन्द्रबहादुर भण्डारीको सभापतित्वमा सम्पन्न भएको थियो । उद्घाटन सत्रमा प्रतिष्ठानको सदस्य कल्पना पौडेल जिज्ञासुले स्वागत मन्तव्य दिँदै कार्यक्रमको औचित्वमाथि प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा पालिका प्रमुख तुफानले आफ्नो पालिकाका साहित्यिक प्रतिभाहरूको पुस्तक प्रकाशनमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै लेखकहरूलाई समाजका विकृति विसंगति विरुद्ध कलम चलाउन आग्रह गर्नुभएको थियो । महोत्सवमा, साहित्य र संस्कृतिको क्षेत्रमा योगदान र्पुयाउनुभएको चार जना स्रष्टालाई २० हजार रुपैयाँ राशिको ‘खजुरा प्रज्ञा पुरस्कार’ प्रदान गरिएको थियो । समालोचनातर्फ इलामका महेश पौड्याल, खोज तथा अनुसन्धानतर्फ बर्दियाका ईश्वरीप्रसाद रिजाल, पद्य साहित्यतर्फ बाँकेका शशिराम भण्डारी र कला संस्कृतितर्फ बाँकेकै गायक तथा संगीतकर्मी सुन्दर रुङ पुरस्कृत हुनुभएको छ ।
महोत्सवमा समकालीन नेपाली साहित्यको सैद्धान्तिक स्वरूपमाथि समालोचक महेश पौड्यालले विचारपत्र प्रस्तुत गर्नुभएको थियो । उहाँको विचारपत्रमाथि डा. हरिप्रसाद तिमल्सिना र कमलमणि देवकोटाले टिप्पणी गर्नुभएको थियो भने सत्रका पर्यवेक्षक सनत रेग्मीले समकालीन चिन्तन पद्धतिमा कृत्रिम बौद्धिकता (एआई) को भूमिकालाई समेत उजागर गर्नुभएको थियो ।
इलाम, चितवन, दाङ, रुकुम, सुर्खेत, दैलेख, बाँके, बर्दिया, कैलाली, सल्यान, कन्चनपुर लगायतका जिल्लाबाट आउनुभएको सहभागीहरूको बाक्लो उपस्थिति रहेको महोत्सवको संयोजन साहित्यकार तथा गीतकार मणि अर्यालले गर्नुभएको थियो ।
