• २०८१ श्रावाण ११ शुक्रबार

भारतीय नेपाली गज़लसङ्ग्रह: एक दृष्टिकोण

 बिकाश दुलाल

बिकाश दुलाल

(क) प्रारम्भः
गजल आधुनिक साहित्यको एउटा लोकप्रिय विधा हो । पुरातन कालदेखि अहिलेसम्म पनि उत्तिकै जनप्रियता हासिल गरिरहेको यस अनुपम विधाले पाठक वर्गको मन सहजै जित्न सकेको छ भने यो गायक र लेखकको बीच पनि उत्तिकै समादृत छ । गजल इसाको सातौं शताब्दीतिर अरबी भाषामा जन्म भएको हो भन्ने भनाइ छ, पछि इसाको दसौं शताब्दीतिर फारसीमा विस्तार भै हुर्केको हो, पछि उर्दू, हिन्दी हुँदै नेपालीमा प्रवेश भएको हो । नेपालीमा पहिलोपटक मोतीराम भट्टले गज़ल लेख्न सुरु गरेका हुन् ।

यस्तो एक लोकप्रिय विधा गज़ल लेख्ने गज़लगो हरूका गज़ल सङ्ग्रह गर्नु, संपादन गर्नु अनि प्रकाशनमा ल्याउनु भनेको त्यति सजिलो काम होइन जुन काम उर्जाशील सु–प्रतिष्ठित सर्जक मिलन बान्तवाको अथक परिश्रम र साहित्य अकादमी (नयाँ दिल्ली)को महानताले गर्दा साध्य भएको छ । यसलाई भारतीय नेपाली साहित्य इतिहासको एउटा ठूलो उपलब्धि हो भन्न सकिन्छ ।

(ख) पुस्तक परिचयः
साहित्य अकादमी (नयाँ दिल्ली) बाट प्रकाशित, मिलन बान्तवा द्वारा सङ्कलित अनि सम्पादित “भारतीय नेपाली गज़ल सङ्ग्रह“ भारतेली नेपाली साहित्य जगतमा एक अपूर्व एवंम् ऐतिहासिक कृति बन्न पुगेको छ । राजा शुदधोधनको दरबारको तीनजना भविष्य वक्ताहरुले भगवान् बुद्धकी आमा रानी मायाको सपनाको व्याख्या गरिरहेको एवंम् त्यसको मुनि बसेर लिपिकले लिपिबद्ध गरिरहेको मूर्तिकलाको चित्र पुस्तकको अस्तरमा छापिएको छ जो राष्ट्रीय संग्राहलय (नयाँ दिल्ली) बाट साभार गरिएको छ, जसले पुस्तकको ऐतिहासिक मर्यादा अक्षुण्ण राखेको छ। क्विक आफसेट, दिल्लीमा मुद्रक भएको र हर्ष कंप्यूटर्स शब्द– संयोजकको रूपमा रहेको प्रस्तुत संकलनको सहयोग राशि ४२०/– (भारु) तोकिएको छ । प्रतिलिपि अधिकार साहित्य अकादमीमा सर्वतः भएको यसको ISBN (अन्तर्राष्ट्रिय मानक पुस्तक नम्बर) 978–93–5548–266–2 रहेको छ । सन २०२२ मा प्रथम संस्करण निकालिएको यस संग्रहको पुनमुद्रण पनि सोही वर्षमै भएको हो ।आफ्ना ३–३ गज़ल लिएर देखापरेका जम्मा १३५ गज़लगो हरूका नाउँले रचनाक्रमको पन्ना सजिएको छ जो क्रमबद्ध रूपमा गज़लगो अजनीश विश्व राई बाट लिएर गजलगो हेमन्त भट्टराई सम्म पुगेर टुङ्गिएको छ । काहीँ कतै एउटा मात्रै र काहीँ चाहिँ दुईटा दुईटा गरेर गज़लगोहरूका गजलले संकलनमा स्थान ओगटेका छन् भने अन्त्यमा अतिनै रोचक, छोटो–छरितो रूपमा गज़लगोहरूको एक संक्षिप्त परिचय पनि प्रस्तुत गरिएको छ ।

(ग) भूमिकाः
कूनै ग्रन्थका आरम्भको वक्तव्यलाई भूमिका भनिन्छ । भूमिकाबाटै ग्रन्थको एउटा सम्यक परिचय प्रस्तुत भएको हुन्छ । यदि पुस्तकलाई संविधान भन्नु हो भने भूमिकालाई प्रस्तावनाको रूपमा चिनाउन सकिन्छ । ’भारतीय नेपाली गज़ल सङ्ग्रह’को भूमिका सम्पादक मिलन बान्तवाले अतिनै रोचक र विस्तृत ढङ्गले स्वयं प्रस्तुत गरेका छन् जो पुस्तकको पन्ना संख्या ११ देखि लिएर ३१ सम्म विस्तारित भएको छ । भूमिकाको अनुगृहित भाग मार्फत सम्पादकले पुस्तक सम्पादन र प्रकाशनमा टेवा पुर्याउने सबै महानुभाव हरूमा हार्दिक कृतज्ञता प्रकट गरेका छन । गज़ल सृजनका आवश्यक घटकहरू, गज़लको ईतिहास साथै यथोचित उदाहरणहरू अतिनै प्रभावकारी र उपयोगी ढंगले प्रस्तुत गरिएको छ ।

(घ)संकलित गज़लहरू माथि एक विस्तृत अवलोकनः
अजनीश विश्व राईका गजलबाट थालनी भएको सङ्ग्रहको पहिलो गजलको मतला यसप्रकारको छ जसमा उनले मानिसको स्वार्थ पनालाई टडकारो पारेका छन्-

ऐना हेर्दा अप्ठ्यारो हुने, भा’छ अचेल मान्छे
आफैंदेखि टाढा हुने, भा’छ अचेल मान्छे
उनका गज़लहरूका भावपक्ष अतिनै दर्बिला छन् ।

अजनीशका गज़लमा कतै मानिसमा बढ्दो स्वार्थपनालाई वर्णन गर्न चाहेका छन् भनें कतै प्रेम–प्रणयको चित्र कोर्न चाहेका छन् । आज विश्व यति हदसम्म व्यस्त भएको छ कि मान्छे दिनरात केवल आफ्नो स्वार्थ पूर्तिमा मात्र लागिपरेका छन् । सद्भावना र संवेदना रहित स्वार्थ समाजको यस्तो बढ्दो स्वार्थपन् प्रति तिव्र प्रहार गर्दै पहिलो गजलको मकतामा अजनीश यसो भन्छन्-

सद्भावना र संवेदना छैन अहर्निश आज कतै
आफ्नै मात्र प्यारो हुने, भा’छ अचेल मान्छे

यो त हामीलाई सर्वविदित नै छ कि गजल एउटा गेय विधा हो र यसले सहजै सित प्रेमील मन अनि प्रेम विरहको विषय वस्तु माथि तादाम्य राख्छ । गज़लगो अनुप शर्माको गज़ल पनि यस्तै विषयवस्तु सङ्ग तादाम्य राख्दै अघि बढेको छ ।
बहरे मुतकारिब मुसम्मन सालिम बहरमा सृजन गरिएको अनुप शर्माको गैरमुरद्यफ पहिलो गज़लको मकता यसप्रकारको छ-

म भन्दा उसैको थियो आश धेरै
असाध्यै भरोसा गरेको हरायो

शर्माका संकलित अन्य दुई गजलमा समाजका विविध विसङ्गतिहरूलाई औँल्याएका छन् ।
उनको दोश्रो गैरमुरद्यफको एक मिसरा यसप्रकारले छ जसमा उनले वृद्धावस्थामा आमाबाबु आफ्नै छोरा बुहारी देखि लान्छित भएर वृद्धाश्रममा एक्लो जीवन जिउनुपरेको तितो सत्यलाई उतारेका छन्-

धेरै कष्ट सहरे छोरो ठूलो पार्छिन् आमाले
बुहारी भित्रिएपछि आश्रम जाइदिनुपर्छ

मृत्यु सबैको जीवनमा आउने ध्रुव सत्य हो भने बाँच्नुको अर्थ नबुझि बदलिँदो युगको सँगसँगै मान्छेले आत्महत्या गर्ने कुकृत्यको बढ्दै गएको गज़लगोले लक्ष्य गरेका छन् । त्यसैले उनी भन्छन्-

जन्मनु मर्नु सबैले पर्छ निश्चित बेलामा
बाँच्नुको अर्थ नबुझी प्राण हरेको देखिन्छ

वर्णमाला क्रममा सु–सज्जित गज़लगोहरूको सूचीमा तेस्रो स्थान ओगटेका अरुण साम्पाङ श्रृंगार र संयुक्त प्रेमील गज़ल लिएर देखापरेका छन् भने अर्जुन कार्की पनि आफ्ना चाखलाग्दा प्रेमील गज़ल लिएर उभिने क्रममा भने पछि हटेका छैनन् । प्रेमिकालाई प्रेमील निमन्त्रण जनाउँने क्रममा कार्की भन्छन्-

सुनसान छ कोही छैन देख्तैन कसैले नि यहाँ
तिमी र म एकैछिन रमाऊं अनि बात मारौंला

पुरुसत्तात्मक समाज द्वारा निर्मित रुढीवादी विचारधाराको उन्मूलन हुनुपर्ने कुरामा जोड दिँदै असमकी सशक्त लेखिका द्वय जमुना दाहाल र नैना अधिकारी यसो भन्छन्-

छोरी लक्ष्मी भन्ने कथाहरू धेरै छन् समाजमा
अझै नि छोरीलाई बोझ ठान्ने दाजु–बाउ देखेकी छु
(जमुना दाहाल)

निसासिँदै भित्रभित्रै हेर गलेका छन् नारी
आज पनि घरघरमा जिउँदै जलेका छन् नारी
(नैना अधिकारी)

बेरोजगारी साम्प्रतिक एउटा जल्दो बल्दो समस्या हो । डिग्रीधारी अति प्रतिभा सम्पन्न कयौं युवक युवती आज रोजगारको तलाशमा भौंतारि रहेका छन् । यसै उसले सरकार समक्ष गुहार लाउँदै सर्जक नैना अधिकारी भन्छिन्

डिग्री भएर के गर्ने हामी रोजगार नभएपछि
युवालाई काम देऊ सरकार बेकार भुक्नु भएन

अहिलेको मान्छेमा अहंकार एवंम् दाम्भिक प्रवित्तिको प्राचुर्यता भरपूर मात्रमा देखिन्छ। मैं हूँ भन्ने स्वभावले मान्छेको स्वाभिमानलाई हैन अभिमानलाई दर्शाउँछ र पतनको बाटो पछ्याउँछ । यसबारे निर्दोषिका तामाङले सबैलाई सचेत गराईदिएकी छिन् । उनी भन्छिन्-

तपाईँ धरतीको सहरामा उभिएर के अहङ्कार गर्नुहुन्छ
पुर्णेको जूनको प्रतिबिम्ब समेत त इनारमा झर्न सक्छ

यसरी नारी शक्ति, नारी जागरणलाई विषय वस्तुको रूपमा लिएर पुरुसत्तात्मक रुढीवादी समाजका चिन्तन धारालाई टडकारो पार्नमा सर्जकहरू पछि हटेका छैनन । बालिका बलात्कृतका घट्ना बढ्दै जान थालेका छन भने प्रशासन द्वारा सजाय दिनमा असमर्थ दोषी खुलेआम हिँडेका छन् । यसको तिव्र विरोध गर्दै गजलगो उमेश प्रधान भन्छन्-

देवीसमान बालिकालाई समेत पशु बनि बलात्कार गर्ने
जन्तन्त्रमा’नि ती दोषी किन हाँसीरहन्छन् हाम्रो देशमा

परिप्रेक्षित सामाजिक घटना किसान विद्रोह, किसान बिलका विरूद्धमा किसानहरूले गरेका अनसनबारे पनि गज़लगोहरूले आफ्नो रचना मार्फत आआफ्ना सिर्जनामा उतारेका छन् जसको एउटा निर्देशन पुष्कर सिंगर कृत गज़लको निम्न सेरले दिईरहेछ-

अन्नदाताहरूको लगातार अनशन चलिरहेछ
दमनकारीहरूको मुखबाट प्रवचन चलिरहेछ

अन्जान शहरमा स्वार्थ पूर्तिका निम्ति दिनहुँ कयौं निर्दोष मानिसहरूको हत्या हुन्छन् । यो भने कूनै नयाँ कुरो हैंन । यस्ता पाशविक कृत्यलाई अतिनै सामुन्ने बाट नियालेका गज़लगो नोर्जाङ स्याङ्देनको गज़लको एक सेर यसप्रकार छ-

नयाँ कुरो हैन मान्छेको हत्या, कति गर्दन छाँटेको देखियो
थप कीर्ति शहरको, भरी बजारमा भवन काटेको देखियो

अनेकौँ बाधा अड्छचनलाई पन्छाउँदै सर्वस्व त्याग र समर्पणको भावना बोकेर आफ्ना परिवार आत्मीय स्वजन बाट सयौँ कोश टाढा रहने सीमासुरक्षामा तैनाथ देशमाताका वीर पुरुष गोर्खे भारतीय सेनाहरूको देन त्याग तपस्या र स्वाभिमान एवम् बलिदानलाई स्मरण गर्दै उम्दा युवा सर्जक आदर्श दाहाल भन्छन्-

खाडीमा आज फेरि गोर्खे देशका लागि शहीद भयो अरे
ऊ वीर हो आँसुले हैन फूलैफूलले सजाइदिनुहोस्

हिँजोआज जन्मदाता माता–पिता छोरा बुहारीका नजरमा आँखाका कसिङ्गर बन्दै वृद्राश्रमका पाहुना बन्न पुगेका छन् जुन चाहिँ अतिनै निन्दनीय कार्य हो । यस्ता खाले कुकृत्यको खण्डहर गर्दै सन्ताहरूम बढ्दै गएको स्वार्थपन प्रति गज़लगो दीपक दवाडीले तिव्र व्यङग बाण प्रहार गरेका छ्न् । उनी भन्छन्

असर केहि नै पर्दैन, चिन्ता किन गर्नुभएको
वृद्धाश्रममा बा मरेको खबर सुनाइदिनुस्

यता असमकी एक अन्यतम नारी प्रतिभा मीना देवी फएल को कलमले पनि त्यस्तै विषयलाई उठान गर्दै तीव्र व्यङग्यात्मक प्रहार गरेको देख्न पाइन्छ । भार्यालाई आँखाको तारा सोच्ने तथा आफ्नी जन्मदात्री आमालाई चाहिँ पराई तुल्याउने , रुवाउँने पापी सन्तान प्रति प्रहार गरेकी मीना देवीको गजलको यो हरफ प्रत्येकका लागी मननयोग्य बन्न पुगेको छ-

सानो छँदा म त मेरी आमाको मात्रै हुँ भन्ने गर्थ्यो छोरो
त्यही आमाको आँसु आज किन बुहारीको अलङ्कार भयो

यो घोर कलियुगमा मान्छेमा पाप र उपद्रवको प्रादुर्भाव अझ धेरै हुन थालेको छ । पाप हैन धर्मको बाटो पहिल्याए उचित हुनेछ भन्ने शिक्षा दिने क्रममा गज़लगो जे.बी. रसाइली आफ्नो गज़ल लिएर देखा परेका छन् । पाप र धर्मको तराजु उपर्वालाकै हातमा छ भन्दै हामी सबैलाई सतर्क पार्दै साथै सचेतनामूलक शिक्षा दिँदै उनी यसो भन्छन्-

जब बढ्दै जान्छ उस मान्छेको उपद्रव
पाप र धर्म जँचाउने मालिक माथिनै छन्

क्षणभङ्गुरतालाई औँल्याउँदै गज़लगो चन्द्रकुमार भट्टराईले जीवनको शाश्वत सत्यलाई अतिनै रोचक ढङ्गले प्रस्तुत गरेका छन् । उनको भनाईमा-

सुनै सुन कमाए पनि अन्त्यमा बाँस चाहिन्छ
अर्थोक जेसुकै भएपनि बाँच्न गाँस चाहिन्छ

प्रेम विरहमा जलिएका गजलगो गौरव दाहाल आफनो प्रेयसीको अघि असल मान्छे बनेर देखाउने कठोर प्रण लिँदै आफ्नो मनका उद्धार गज़ल मार्फत यसरी ओकलेका छन्-

देखाउने छु मैंले एक दिन तिमी भन्दा असल बनेर
पानीले भिजाउने नसक्ने एउटा ठूलो अनल बनेर

तिमी रुन्छौ भनी म कठोर छु कदापि अश्रु खसाउँदिन
तिमी रुनेछौ जब मेरा पीडा निस्किन्छन् गज़ल बनेर

यो त सर्व विदितै छ की आजको दुनियाँ स्वार्थी छ । एकले अर्कालाई चिन्दैन । यस परिस्थितिका वशीभूत भएका छन् गरीब निमुखा जन । आज उनीहरू सहयोगहीन मान्छेहरूको भिँडमा एक्लै छन् । एकमात्र ईश्वरलाई छोडि अरू कोहिपनि यहाँ दुःखी जनका सहारा छैनन भन्न सकिन्छ । यसरी दुःखीजनको दर्शनलाई बोकेका गजलगो गोविन्द शाण्डिल्य ’अनाश्रित’का गज़लको मतला यसप्रकार छ-

घनघोर छ अँध्यारो जून तारा छैनन्
छोडी राम दुखियाको सहारा छैनन

विदेशी पहिरन खान पान जिउने तरिका सबैमा पाश्चात्यको प्रभाव आजको युगमा अब लक्षनीय विषय बनेको छ । किनभने यसप्रकारको हिँजोआजको बढ्दो सांस्कृतिक विकृतिको प्रभावले अपसंस्कृतिलाई जन्म दिएको छ जसले जाति अनि समाजलाई विनष्ट पार्दै संस्कृतिलाई पनि धरासायी पार्ने दिशामा कम्मर कसेर लागेको छ । यस क्षेत्रमा गज़लगो कृष्णलाल शर्मा बजगाईं र बिकाश दुलाल का गजल मननयोग्य, शिक्षाप्रद एवंम् चेतनामूलक बन्न पुगेका छन । उनीहरूको गजलका केही हरफलाई हेरौं-

आफ्नो संस्कृतिमा रम्न छोड़ेर नहिँड्नु जताततै
नत्र अर्धनग्न पहिरनमा एक दिन तस्बिरमा देख्छु
(कृष्णलाल शर्मा बजगाईं)

आमा सिकाउँछिन् लोकभाका लय ताल हालेर गाउन
तर छोरो विदेशी भाकाका अङ्ग्रेजी गीत गाउँछु भन्छ
(बिकाश दुलाल)

आजको यस विज्ञान र प्रयुक्तिविद्याको आधुनिक युगमा पनि समाजमा रूढिवादी चिन्तन धाराको पयोभर भईनै रहेको छ । संपूर्ण निर्मूल भने अहिलेसम्म पनि हुन सकेको छैन । यस्तै चिन्तन धारा प्रति सबैको दृष्टि आकर्षण गराउँदै सशक्त युवा प्रतिभा एम के रिजाल भन्छन्-

घरमा आमाबुवा पुज्ने भन्दा ढुङ्गा पुज्नेहरू धेरै छन्
समाजमा राम्रोको भन्दा खराबीको नाम चल्छ यहाँ

जीत र सफलता हासिल गर्नका निमित्त कुनै धनधान्य हुनुको अथवा कुनै दीर्घ योजनाको जरूरत छैन । मनमा अटल साहस र दृढ संकल्पित भए झोपडीमै पनि कमल लहलहाउन सक्छ भन्ने अतिनै उत्साहवर्द्धक संदेश बोकेको गजल लिएर उभिएका अहिलेका असमका चर्चित युवा कलमकार प्रकाश कुइँकेल कृत गजलको एक शेर यस प्रकारले छ-

तपाईँ महलमा बसेर जाल बुन्दै हुनुहुन्छ महाशय
म झोपडीको धुरीबाट सगरमाथा हेर्न ठडिएको छु

समसामयिक विषय माथि पनि उत्तिकै प्राधान्य दिईएको यस संकलनमा कोरोनाकालिन मार्मिक परिस्थितिलाई पनि वर्णन गर्ने जमर्को गरिएको देख्न पाइन्छ । कोरोनकालिन संकमय परिवेशबाट आफैंलाई बचाउँने सलाह दिइएको तथा कोरोना राहतका नाममा लुण्ठन राज चलाएको बारे यथामति वर्णन गरिएको छ । यसबारे युवा सर्जक प्रकाश बुढाथोकी र बिकाश दुलाल का गजलहरू बाट साभार गरिएका यी दुई मतलालाई हेरौँ-

यता जीवन दोधारमा छ तिमी भित्र बस्नु आमा
कोरिनाको उपचारमा छ तिमी भित्र बस्नु आमा
(प्रकाश बुढाथोकी)

सरकार माथिको जनताको आस्था जलाएको देखेँ
कोरोना राहतको नाममा लुण्ठनराज चलाएको देखेँ
(बिकाश दुलाल)

नारीले मात्रै बुझ्दछिन् एउटी नारीको मर्म’ भन्ने कुराको सही उठान गरेकी छिन् नारी लेखिका भावना सापकोटाले । निस्पेक्षित अवहेलित र निः सहाय वर्ग प्रति संवेदनशील भावनाका सृजनाहरूले सधैँ उच्च कोटिका दर्शन बोकेका हुन्छन् । यहाँ उनले विधवा र टुहुराको वेदनालाई महसूस गरेकी छिन । भावनाले साँच्चैनै एउटी निःसहाय, अवहेलित विधवा नारीको भावनालाई आफ्नो गजल मार्फत यसरी साझा गरेकी छन् जसले पाठकवर्गको मनमुटुलाई स्पर्श गर्ने सामर्थ्य राखेको छ । अब उक्त गजलको मकतालाई हेरौँ-

भत्कियो घरबार कठै टुहुरा ती सन्तान
सेतो फरिया विधवाको एहसास छ कतै

जातिवाद हाम्रो समाजको नराम्रो व्याधि हो । वर्षौँ देखिन यसको शिकार भएर आएका छन् हाम्रा मानिसहरू । उच्च निम्न भावले परिपूर्ण जातिवादको दन्किएको आगोमा पिल्सिन पुगेकी एउटी पीडित नारीको मर्मलाई पनि अतिनै हृदयविदाक तवरले प्रस्तूत गरिएको छ । यस सन्दर्भमा उर्वशील नारी सर्जक सृजना अधिकारी को गजलको एक हरफलाई हेरौँ-

खुल्ला संसार पनि पिँजडाझैं भयो मेरो लागि
थिच्यो मिच्यो धेरै भनेर तल्लो जात सहेर बसेँ

बिछोडको पीडा, प्रेम विरहाग्नी एवम् मनका बहलाई शब्द मार्फत कोर्ने क्रममा गज़लगो प्रेम विश्वकर्मा, प्रितम मैनाली,प्रवीण राई ’प्रयास’ यसरी अघि सरेका छन्-

बिछोडको बेला ऊनको फोटो टाँस्नु कसरी
मनमा चोट परेको बेला अब हाँस्नु कसरी
(प्रेम विश्वकर्मा)

तिमीले आकाश म माथि झारेर गयौ
भरिएको गाग्रोलाई रित्तो पारेर गयौ
(प्रितम मैनाली )

जसको सामीप्य कोसौं दूर भएको छ म बाट हजुर
त्यसैको याद हरपल धड्किरहेको ढुकढुकी बनेको छ
(प्रवीण राई ’प्रयास’)

कोई यसरी प्रेम विरहाग्निमा तड्पिरहेका छन् भनें कोही चाहिँ आफ्नी प्रेमिकालाई पाएर जीवनका साह्रा सार्वभौमत्त पाएको महसूस गरेका छन् । त्येसैले होला प्रणाम सुब्बाको कलम बाट भित्री मनका उद्गार यसरी पोखिएको छ-

तिम्रो मुटुको एक ठाँउमा मेरो बास छ
मेरो जीवन सहज बग्ने तिम्रो सास छ

समाजमा नारी र पुरुषलाई भिन्न भिन्नै दृष्टिकोणबाट हेरिन्छ । दुवैलाई समानताको दृष्टिकोणले नहेरिनु हाम्रो समाजको एउटा दुःखलाग्दो रूढिवादी चिन्तन हो । यस्ताखाले चिन्ता

धारा कु- रिवाजहरूको तीव्र विरोध गर्दै गज़लगो हरूले परिवर्तनको जयगान गाएका छन् । यसक्षेत्रमा अग्रणी देखिएका छन् असमका चर्चित गज़लगो रामप्रसाद दाहाल । संकलनको २२१ नंबर पृष्ठमा स्थान ओगटेको उनको गज़लको प्रत्येक शेरनै प्रभावकारी मननयोग्य बनेको छ भने यस अपूर्व लोकप्रिय गजलले रूढिवादी चिन्ताधाराको खण्डन गर्दै प्रगतिवादी चिन्तन धारालाई लिएर हिँडेको छ । वास्तवमै उनले पोखेका अनुकरणीय विचारधारालाई वास्तवमा परिणत गर्न सक्नु हो भने हाम्रो समाजमा धेरै हदसम्म परिवर्तन आउने थियो एवंम् नौलो आयामको थालनी हुनेथियो ।संकलनकै सर्वोत्कृष्ट गज़लहरू मध्ये एक बन्न पुगेको उनको उक्त गज़ल यहाँ दुरुस्त गरियो-

हाम्रा नराम्रा रिवाजहरु फाल्ने चलन होस्
स्त्री–पुरूष सबैले मुर्दा उचाल्ने चलन होस्

आँखा भएर पनि कहिले सम्म अन्धो हुने हो
छोरीलाई पनि अंश दिन थाल्ने चलन होस्

सन्तान निः स्वार्थ हो भन्ने उदाहरणका लागि
जिउनी नलिई आमाबाबु पाल्ने चलन होस्

छोराछोरी बराबरीको नारा चल्छ सडकमा
लौ न छोराले नि भाँडा पखाल्ने चलन होस्

श्रीमती मर्दा श्रीमानले झट्टै बिहे गरे जस्तै
विधवाले पनि पुनः घर बसाल्ने चलन होस्

बहरमा गज़ल लेख्ने भारतीय कलामकारहरू अति नगन्य मात्रामा भएका देख्न पाइन्छ। ती मध्ये एक हुन रोहिणी तिमसिना । उनका बहरे मुतकारिब मुसम्मन सालिम अनि बहरे मुजारे मुसम्मन अखरबमा रचिएका गजल अतिनै चाखलाग्दा छन् । हुस्न ए मतला एवम् बहरे मुजारे मुसम्मन अखरबमा रचिएको उनको गज-लको एक मतला यसप्रकारको छ-

खन्दै भँडार आफ्नै आँगन पुराउँदै छन्
खै के भनूँ म कस्तो बाटो देखाउँदै छन्

नेपालीलाई कसै कसैले आलु भनेर नी चिनाउन चाहन्छन् । आलु सबै तिहुन सँग । मिले जसरी हाम्रो जाति पनि विश्वको जुनै कुनामा रहे पनि हर एक जाति सङ्ग मिलेर जहाँको जाति भेटीमा छन त्यसैलाई आफ्नो जन्मभूमि कर्मभूमि वसोभुमी तपोभूमि मातृभूमि ठानेर असाध्यै प्रेम गर्दै आएका छन् । तर त्यहाँका अरू जातिहरूले हामीलाई बेला बेला सौतेलो हेराइले हेर्ने गरेका छन् । अगाध देशप्रेम त्याग र बलिदानको साटो हाम्रो जातिले चोट मात्रै पाएको छ । त्येसैले गज़लगो वसन्त थापा भन्छन्-

पर्जापट्टा दिन्छु भन्थ्यौ चियकमानको
घरबारीको हक अधिकार अरू सामानको

पुर्खाहरूको हाड–मासुको किपट हो यो भन्दा
भन्छन् पहिले लिएर आइज डिग्री प्रमाणको

लेखनाथ पौडयालको काल महिमा कवितामा वर्णन गरेझैँ प्रितम आचार्यले पनि जीवनको शाश्वत सत्य बारे उजागर पारेका छन् । उनी भन्छन्-

मृत्यु निश्चित छ एक दिन सबैले संसार छोड्नै पर्छ
काल आएपछि त लगिहाल्छ टालेर कहाँ टल्छ र

कुशल राई ’आक्रोश’ लाई जीवन योध्दाका अन्य एक कुशल खिलाडीका रूपमा चिनाएका छन उनका गज़लले । गरिबको व्यथा, सहिद जवानकी आमाको वेदना, विधवाको अन्तर्व्यथा, एउटा राष्ट्र सेवक सिपाहीको जीवन कथा र शरणार्थीको टिठ लाग्दो अवस्थालाई विषय वस्तु बनाएका कुशलको गजल संकलनकै सर्वोत्कृष्ट गज़लहरू मध्ये एक एवंम् प्रभावकारी युग्सुहाउँदिलो साथै रोचक बनेको छ। उनको उक्त गज़ल यस प्रकारले छ

नसोध्नुहोस् गरीबलाई कस्तो छ उसको हाल नसोध्नुहोस्
आमालाई शहीद भएको छोराको बारे सवाल नसोध्नुहोस्

यति बुझिदिनुहोस् कि पल पल मरेर बाँचिरहनछिन् उनी
तसर्थ पनि विधवा नारीलाई पति मरेको साल नसोध्नुहोस्

मृत्यु नजिकबाट देखेर युद्ध जितेर फर्किएको सिपाहीलाई
सबै सोध्नुहोस् बस भुलेर नि कस्तो हुन्छ काल नसोध्नुहोस्

घर खेतिबारी पहिरोले लगेर शरणार्थी बनेकाहरूलाई देखेँ
खाना सोध्नुहोस् बरू कहाँ पर्छ घरको पर्खाल नसोध्नुहोस्

केवल सीमित विषयवस्तुको दायरामा मात्रै सिमावद्ध नभएर भारतीय नेपाली गजल सङ्ग्रहमा समाविष्ट गज़लगो हरूको दृष्टि देशप्रेम, देशमा परेको विपत्ति, सीमाविवाद, नारी सुरक्षा, भ्रष्टाचार, राजनीति, बढ्दो महंगाई , जातीय उन्मुक्ति, लगायत परिप्रेक्षित देश र समाजका हरेक विषय वस्तु माथि पनि पर्न गएको छ । यस कुराको शशक्त अभिव्यन्जना गज़लगोहरुका गज़लका निम्नलिखित विभिन्न सेरहरूले दिई रहेछन-

सिमानामा आगो बल्दा, चिच्याएर देश रुदाँ
ज्वाला रोक्न आफ्नै रगत छर्किएँ म सोझो थिएँ
(अर्जुन निरौला)

महंगीले आकाशै छुँदा पनि खै किन
मुख थुनी बस्दछ यो सरकार हिजोआज
(अर्जुन कार्की)

देशका नारी सुरक्षित छैनन् आज आफ्नै देशमा पनि
सरकार, अब त बलात्कारीलाई फाँसी लगाइदिनुहोस्
(आदर्श दाहाल)

यस युगमा नी बलात्कार किन भइरहन्छन् हाम्रो देशमा
खिइसकेको पुरुषत्ता किन सहिरहन्छन् हाम्रो देशमा
(उमेश प्रधान)

देशको विकास हुनुपर्छ, नारीको सुरक्षा हुनुपर्छ
हामीलाई मञ्च चढेर भाषणमात्रै हाँक्ने नेता चाहिंदैन
(प्रकाश कुइँकेल)

माछो माछो भ्यागुतो नगर धेरै बदनाम हुनेछ
दुर्निती भ्रष्टाचारको कुरा सबै खुलेआम हुनेछ
(मिना पौडेल)

ठूला ठूला भाषण र झूटो सपना देखाउनेले
दुखीलाई शोषण गरी राहत लुट्यो म हेरिरहेँ
(विकास कठेत समर्पण)

पाथी उसकै मुरी उसकै माना उसको हुनुहुन्न
डाडु उसकै पन्यु उसकै खाना उसको हुनुहुन्न
(सरिता समदर्शी)

उसले चाकु देखाएपछि चौकी ताकेको हो
गणतन्त्रमा सोझालाई बदमाश लेखियो
(सुमन सरोवर)

शरीर र आत्मा, सत्ता र चौकी, यो मेल कस्तो
जस्तो कि हजुर पिपलबिना वर हुन्न रहेछ
(शर्मिला प्रधान)

कति पवित्र हुन्छ आफू जन्मिएको माटो
विदेश विदेश भन्दै सीमा नाघ्न छोडे हुन्थ्यो
(दीपक पन्थ)

माटोको संघर्ष कति लेख्नु धुर्ताहरूको देशमा
घुम्ने चौकीको मोहमा जातीय खाल्डो पुर्न सकेन
(दिल ठकुरी)

राजनीतिमा चिनेकै व्यक्ति पनि अञ्जान लाग्छ
कहीँ कसैले फालेको चिज कसैलाई दान लाग्छ
(जीविका अश्रु)

(ङ) उपसंहारः
यसरी शुरू देखिन लिएर अन्त्य सम्म नियालेर हेरे पछि निर्धक्क सँगले भन्न सकिन्छ कि भारतीय नेपाली गज़ल सङ्ग्रह आफैँम एउटा बृहत् संकलन हो जसमा साहित्यका हरेक विषय वस्तुलाई उठान गरिएको छ नै उता यसले समसामयिक जल्दो बल्दो समस्या माथि पनि अवलोकन गरेको छ । भौगोलिक परिधि भित्र संकुचित नभएर गज़लगोहरूले देश देखि विदेश सम्मका घटना चक्रलाई आफ्नो रचनामा स्थान दिएका छन । छोटकरीमा भन्न जाँदा संकलनमा प्रेमिका सँगका प्रेमील अनुभूतिहरूबाट लिएर राष्ट्रप्रेम, समाजप्रेम, जातिप्रेम, सीमाविवाद, सामाजिक व्याधि, जातीय उन्मुक्ति, जीवनका निस्सारता, भक्ति, नीति, दर्शन, भ्रातृत्व, मातृत्व, विश्वप्रेम, प्रकृति प्रेम, जातिय अस्तित्व, जातीय सुधार, मानवता, मानिसमा देखापरेका चरम स्वार्थ प्रवृति, मानवीय दुर्गुण, नारी उत्थान्, नारी उत्पीडन, परिवर्तन मुखी विश्व, आदि विविध विषय वस्तुहरूले स्थान पाएका छन् । यस्तो एक अपूर्व कीर्तिले भारतेली नेपाली साहित्यको जगेडा गरेर साहित्यको श्री वृद्धिमा टेवा पुर्याउने छ भन्ने कुरामा कुनै शंका छैन् ।


✍️बिकाश दुलाल, विश्वनाथ, असम, भारत