हिन्दी कविता

उठाएर विचारको पहाड
ठड्याउनु छ एकताको सगरमाथा
उखेलेर कुरीति, अन्धविश्वास र कुसंस्कारको जरा
समुन्नत बनाउनु छ मेरो राष्ट्र
जहाँ फुल्नेछन्
समानता, भाइचारा र विश्वासका फूलहरू
अनि मग्मगाउने छ मेरो राष्ट्र
फैलाएर विश्व वन्धुत्वको सुवास ।
रोप्नुछ आत्मविश्वासको वीज
मेरी अबोध छोरीमा
र बनाउनुछ उनलाई प्रतिकारको मसाल
जहाँ उनी ठगिने छैनन्
भाग्यको, भावनाको र भविष्यको नाममा ।
गोड्नुछ कलुषित मानसिकता
हुर्किरहेको मेरो समाजमा
र पढाउनुछ सबैलाई नैतिकताको पाठ
जहाँ बलात्कृत हुने छैनन् मेरा चेलीहरू
छाउगोठ, पँधेरा र गल्लीहरूमा ।
उन्नुछ भाइचाराको माला
मेची- महाकाली जत्रै विशाल
र पहिर्याउनुछ मेरो राष्ट्रलाई
जहाँ जग्मगाउनेछ विश्वासको दियो
र बाँडिने छैनन् मेरा देशवासी
दल, वाद र सिद्धान्तको नाममा ।
आऊ तिमी पनि गर अक्षरको खेती
उमारौँ मिलेर समानताको बीउ
जलाऔँ हामी ज्ञानको दियो
र उठाऔँ एउटै विचारको पहाड
बनाऔँ हामी एकताको सगरमाथा
र पुर्याऔँ राष्ट्रलाई
त्यही चुचुरोमा ।
(खनाल कवि तथा सञ्चारकर्मी हुन्)
[email protected]