बुवा लेख्न मन लाग्यो
इजा लेख्न मन लाग्यो
बज्यै लेख्ने मन लाग्यो
मैले पढेका महत्त्वपूर्ण पाठ थिए
इजा, बुवा, बज्यै
हरेकको पाठको सुरुआत
बुवाले सिकाएका साउँअक्षरबाट हुन्छ
हरेक जीवनको प्रारम्भ इजाबाट
सभ्यता, संस्कृति, समाज
बज्यैले सिकाएको संस्कारबाट
चिनिएको,जानिएको हुन्छ
यिनै प्रसङ्ग जोडी कविता लेख्न मन छ ।
जीवनको प्रारम्भको कथाको
कविता लेख्न मन छ
दुःखको कथा सुन्नु छ भने
बज्यैलाई बुझे हुन्छ
लाऊँला खाऊँलाको उमेरमा
बाजेले छोडेर जाँदा
न त पेटभरि खान पुग्थ्यो
न त एक सरो लगाउन नै
कलिला टुहुरा लालाबाला बोकी
बिरानो गाउँमा बस्नु
अन्नपात नभएर
तरुल, गिट्ठा, सकिना, कोइरालो
तिमुला, मेल बैकल्पिक खाना खोज्नु
बाउलो गरेर अन्न जुटाउनु पर्ने
त्यही पनि जौ, कोदो मात्र
त्यसैमा साहुहरू
तमसुक देखाउने
औँठाको छाप देखाएर ब्याज माग्ने
सधैँ नकारात्मक मात्र देखिराख्ने छिमेकी
पाउनैपर्ने अंश पनि हडप्ने आफन्त
यी यस्तै पीडाका कथा
कहाँ उल्लेख भएनन्
कुनै कवितामा समेटिएनन् ।
इजा, बुबा, बज्यै
सङ्घर्षको प्रयाय हुन
जिउने कला पाइन्छ
समग्र जीवन पाइन्छ
बज्यै सुनाउनुहुन्थ्यो
पाठशाला बनाएको कुरा
उकालो बाटोमा
ढुङ्गा बोकी श्रमदान गर्नुपर्ने
त्यहाँ पनि मह, घ्यु
पु¥याउने विद्यार्थी पास हुने
कविता लेख्न बस्दा
इजाले सुनाएको जन्मकथा
जेठ महिनाको अन्त्यतिर
झरी परिरहेको राती
कालो चुक पोखिएजस्तै अंध्यारोमा
आकाश गडगडाएर वर्सिरहेको थियो
सहारामा झिङ्वा टमटी
जसले घरभित्र बस्न नमिल्ने
खबर गर्ने र सहास दिने मात्र
निकै दुःख दिएर, असहज परिस्थितिमा
जन्मेका कारणले दुःख झेल्नु
चुनौतीको सामना गर्नु सामान्य लाग्छन्
बुवाको जीवनबाट सङ्घर्ष के हो
जान्न पाइन्छ
बुवा, इजा, बज्यै
सङ्घर्षको इतिहास
आज सङ्घर्षको कविता लेख्दै गर्दा
बुवा लेख्न मन लाग्यो
इजा लेख्ने मन लाग्यो
बज्यै लेख्ने मन लाग्यो
कैलाशकुमार पाण्डेय, परशुराम-१२, डडेल्धुरा