• २०८२ आश्विन ८, बुधबार

खोटेहाङमा प्रज्ञा-प्रतिष्ठानको साहित्य सङ्गोष्ठी तथा सिर्जनात्मक लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौँ ।

नेपाल प्रज्ञा-प्रतिष्ठान कमलादी काठमाडौँसँगको सहकार्यमा खोटेहाङ प्रज्ञा-प्रतिष्ठान खोटाङले २०८१ चैत २७ र २८ गते दुईदिने साहित्य सङ्गोष्ठी तथा सिर्जनात्मक लेखन प्रशिक्षण कार्यक्रमको आयोजना गरेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले खोटाङ जिल्लामा मात्र भएका किरात राईहरू मध्येको पुमा, तिलुङ, कोयी, दुमी भाषाहरू नजोगाए विश्वबाटै लोप हुने सम्भावना रहेको ओैल्याउँदै स्थानीय भाषा, साहित्य, संस्कृति र कलालाई सिर्जनात्मक हिसाबले प्रस्तुत गर्नुपर्ने बताउनु भएको थियो । नेपाल बहुभाषिक, बहुजातीय, बहुधार्मिक तथा बहुसांस्कृति देश भएकाले यसभित्रका वाङ्मयहरूको संरक्षण, प्रर्वद्धन गर्दै प्रयोग गर्न सक्नुपर्ने प्रशिक्षणका क्रममा नेपाल प्रज्ञा- प्रतिष्ठानका सदस्य सचिव डा. सुवेदीले सुझाउनु भएको थियो । उहाँले साहित्य लेखन अहिलेको चलन चल्तिमा रहेको नेपाली भाषामा मात्र लेखिनु पर्छ भन्ने मान्यताभन्दा माथि उठ्नु पर्ने बताउनु भएको थियो ।

कार्यक्रममा डा. सुवेदीले नेपालमा सङ्घीय सरकारको मातहतमा तीनवटा प्रज्ञा- प्रतिष्ठानहरू रहेको बताउँदै स्थानीय तहमा बनेका प्रतिष्ठानले तीनवटै प्रतिष्ठानको काम गर्नुपर्ने नीति रहेको सुझाउनु भएको थियो । उहाँले नेपाल प्रज्ञा- प्रतिष्ठान, नेपाल नाट्य तथा सङ्गीत प्रज्ञा- प्रतिष्ठान र नेपाल ललितकला प्रज्ञा- प्रतिष्ठानको काम एक्लैले गर्नुपर्ने केही चुनौती र केही अवसरहरू रहेको समेत बताउनु भएको थियो । ‘यस क्षेत्रमा काम गर्न उत्सुकता, जिज्ञासा र प्रतिबद्धताको खाँचो रहेको जिकिर गर्दै स्थानीय प्रतिष्ठानले तदारुकताका साथ काम गर्ने हो भने सहकार्य निरन्तर गर्न सकिने बताउनु भएको थियो । अब हामीले प्राज्ञिक क्षेत्रमा खास काम गर्न नसके भावी पुस्ताका लागि दिने सांस्कृतिक कोसेली केही नरहने बताउनु भएको थियो ।

कार्यक्रमको पहिलो दिन साहित्यिक विधाहरूको परिचय र लेखन कलाका बारेमा छलफल गरिएको थियो । नेपाली साहित्यमा गीत, कविता, कथा, उपन्यास, निबन्ध लगायतका विधागत संरचनाहरूका बारेमा परिचय दिएर सुरु भएको प्रशिक्षणमा लेखन शैलीका बारेमा प्रशिक्षित गरिएको थियो ।

कार्यक्रमको दोस्रो दिन प्रशिक्षणमा सहभागी कविहरूले आफ्ना सिर्जनाहरू सुनाउने र प्रतिक्रिया लिने कार्यक्रम समेत राखिएको थियो । कार्यक्रमका विशेष अतिथि, कवि एवम् समालोचक विष्णु ज्ञवालीले वाचित कविताप्रति सुझाव र प्रतिक्रिया दिनु भएको थियो । उहाँले कविता सरल जस्तो देखिने सबैभन्दा अफ्ठ्यारो विधा रहेको बताउँदै सिर्जनात्मकता भनेको जति फैलाउन सकियो उति राम्रो हुने बताउनु भएको थियो । यस्तै लेखन अभ्यासकै क्रममा कार्यक्रमका विशिष्ट अतिथि प्रज्ञा- प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा आख्यान विभाग प्रमुख अमर न्यौपानेले आख्यान लेख्नु कवितामा बहकिनु जस्तो नभई यथार्थसँग आफ्ना पाठकलाई डोर्याउन सक्नुपर्ने बताउनु भएको थियो । कतिपय तथ्य र तथ्याङ्कहरूलाई जस्ताको तस्तै राखेर पाठकलाई रिझाउन सकेमा सफल भइने आफ्नो अनुभव समेत उहाँले सुझाउनु भएको थियो । कार्यक्रमका विशेष अतिथि खोटेहाङ गाउँपालिकाका उपाध्यक्ष रुपेस राई, खोटेहाङ वर्डा न ४ का अध्यक्ष तिलकबहादुर बस्नेत र समाजसेवी अमर बस्नेत लगायतको मनतव्य रहेको थियो ।

प्रशिक्षण कार्यक्रममा खोटेहाङ प्रज्ञा- प्रतिष्ठानका सदस्यहरू, साहित्य लेखनमा सक्रिय सर्जक, विद्यालयका शिक्षक, क्याम्पस र विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो । सिर्जनात्मक लेखन प्रशिक्षण सम्पन्न भएपछि प्रशिक्षार्थीहरूबाट सिर्जना गरिएको कविता, गजल र कथालगायत विधाका सिर्जनाहरू सुन्ने सुनाउने कार्यक्रम समेत गरिएको थियो । प्रशिक्षकहरूलाई कदरपत्रसहित सम्मान तथा प्रशिक्षार्थीहरूलाई समेत प्रमाणपत्र प्रदान गरिएको थियो ।

खोटेहाङ प्रज्ञा- प्रतिष्ठानका अध्यक्ष तथा कवि इन्द्र नारथुङेको अध्यक्षतामा भएको उक्त कार्यक्रममा स्वागत मनतव्य खोटेहाङ प्रज्ञा- प्रतिष्ठानका सदस्य सचिव राजकुमार खड्गाले गर्नुभएको थियो । धन्यवाद ज्ञापन खोटेहाङ प्रज्ञा- प्रतिष्ठानका उपाध्यक्ष देवराज सापकोटाको रहेको थियो ।