काठमाडौँ ।
बाजुराका युवा लेखक भेषराज बुढाथोकीले प्रेम र गाउँले मनोभाव समेटिएको ‘छुटेपछि’ अडियोबुक बजारमा ल्याएका छन् । दुई घण्टा १९ मिनेटको अडियो बुकमा तीन वटा कथा र पाँच वटा संस्मरण छन् । युवापुस्ता लक्षित अडियो बुक एक प्रेमीले छुट्ने तयारीमा रहेकी आफ्नी प्रेमिकालाई लेखेको पत्रबाट सुरु हुन्छ । जल्यारूको कथामा पुग्दा भुजनगाड खोलाले आमा बगाएर बेपत्ता पारेको ‘बिर्खबहादुर’ को व्यथा बोल्छ ।
भुजनगाडको बाढीले हजुरबाको जिउनी खेत, आमाको प्रेममात्रै बगाएको छैन, बिर्खबहादुरका सपना पनि बाढी पछिको बगरजस्तै बनाएको छ ।प्रकृतिबाट सर्वस्व लुटिएको एउटा ग्रामीण किसानको मनोदशा कथाले बोल्छ । ‘बाका सात सुईना’ शीर्षकको संस्मरणमा लेखकका बाका सुईनामात्रै लेखिएका छैनन्, गाउँमा बाँचेको एक इमानदार शिक्षक र उसको परिवारले बाँचेको जिन्दगीको सरस चित्रण छ । लेखकले जलवायु परिवर्तनका सवाललाई आफू जन्मिनु अघिको आफ्नो बाजुरास्थित डोगडी गाउँ, बाल्यकाल र अहिलेको गाउँको तुलना गरेका छन् ।
बगंलादेशमा चिकित्साशास्त्र अध्ययन उनले पढाइ अलावा युवापुस्तालाई यो खुराक पस्केका छन् । भन्छन्, ‘पढिने मात्रै पुस्तक हुन् भन्ने आमधारणा छ, आज हरेक युवा पुस्ता स्मार्ट फोनमा छ, यसकारण सुनेर पढ्ने पुस्तकको प्रयत्न गरेको छु ।’