• २०८३ आश्विन ६, मंगलवार

रमेश प्रभातको पहिलो गजलसङ्ग्रह ‘आँगनीमा फूल रोपेँ’ प्रकाशित

भरतपुर ।

चितवनका क्रियाशील समालोचक तथा गजल मञ्च चितवनका पूर्वअध्यक्ष कवि रमेश प्रभातको पहिलो गजलसङ्ग्रह ‘आँगनीमा फूल रोपेँ’ प्रकाशित भएको छ। गजल लेखन सुरु गरेको करिब साढे तीन दशकपछि प्रभातको पहिलो गजलसङ्ग्रह प्रकाशनमा आएको हो । चितवनको पुरानो साहित्यिक संस्था चितवन साहित्य परिषद्ले प्रकाशन गरेको उक्त कृतिमा प्रभातको लामो गजलयात्रालाई पुस्तकाकार रूपमा समेटिएको छ । चितवनमा गजल लेखन तथा गजलसम्बन्धी साहित्यिक गतिविधिलाई संस्थागत गर्न गजल मञ्च चितवनको स्थापनामा समेत सक्रिय भूमिका निर्वाह गरेका प्रभात गजल सिर्जनासँगै यसको शिल्प, सिद्धान्त र संरचनाका विषयमा अध्ययन तथा विमर्श गर्दै आएका छन् ।

विक्रम संवत्को २०४० को दशकको उत्तराद्र्धदेखि कविता, गीत र गजलमार्फत साहित्य सिर्जनामा सक्रिय प्रभात चितवनमा गजल लेखनको सुरुआती पुस्ताका स्रष्टामध्ये एक मानिन्छन् । चितवन, नवलपरासीलगायत आसपासका जिल्लामा हुने साहित्यिक तथा गजलसम्बन्धी गतिविधिमा निरन्तर सक्रिय रहँदै आएका उनले गजल सिर्जनाका साथै गजल सिद्धान्त र संरचनाका विषयमा विभिन्न आलेखमार्फत योगदान दिँदै आएका छन् । ‘आँगनीमा फूल रोपेँ’मा ८३ वटा गजल र १० वटा फर्द समावेश छन् । गजलकार प्रभातका अनुसार सङ्ग्रहमा रहेका गजलहरू स्वतन्त्र रूपमा लेखिएका भए पनि केही गजल बहरको सिद्धान्तसँग मेल खाने खालका छन् ।

कृतिका हिसाबले ‘आँगनीमा फूल रोपेँ’ प्रभातको छैटौँ पुस्तक तथा पहिलो गजलसङ्ग्रह हो। यसअघि उनका २०५२ सालमा ‘प्रायश्चित’ बालचित्रकथासङ्ग्रह, २०५४ सालमा ‘सत्तालिप्सा’ हाइकूसङ्ग्रह, २०५७ सालमा ‘शब्दहरू अविराम यात्रामा’ संयुक्त कवितासङ्ग्रह, २०८० सालमा ‘अलिकति फरक कुरा’ र २०८२ सालमा ‘अरू अलिकति फरक कुरा’ समालोचनासङ्ग्रह प्रकाशित भइसकेका छन् । ‘शब्दहरू अविराम यात्रामा’ संयुक्त कवितासङ्ग्रहमा भने त्यतिबेला कवितालेखनमा सक्रिय हुँदै गरेका रमेश प्रभातसहित सुरेन्द्र अस्तफल, गणेश श्रमण, प्रकाश थापा, गोपाल पौडेल, नवराज ढुङ्गाना, सिर्जन अविरल, दीपकप्रसाद गौतम र लक्ष्मीकुमारी ढकालका पाँच–पाँचवटा कविता समावेश छन् ।

साहित्य सिर्जना, शोध, अनुसन्धान, शोध निर्देशन तथा समालोचना लेखनका साथै जिल्लाभित्र हुने विभिन्न साहित्यिक गतिविधिमा सक्रिय प्रभात अक्षर समूह चितवन, गजल मञ्च चितवन र अभिव्यञ्जना साहित्य प्रतिष्ठानका पूर्वअध्यक्षसमेत हुन् । पेसागत रूपमा उनी हाल वीरेन्द्र बहुमुखी क्याम्पस, भरतपुरमा उपप्राध्यापकका रूपमा कार्यरत छन् । लामो समयदेखि गजल सिर्जना, अध्ययन र साहित्यिक गतिविधिमा सक्रिय प्रभातको पहिलो गजलसङ्ग्रह ‘आँगनीमा फूल रोपेँ’ले उनको गजल यात्रालाई औपचारिक रूपमा पुस्तकाकारमा प्रस्तुत गरेको छ ।