• २०८१ असोज २९ मङ्गलबार

बाबु र छोरा

अर्जुन थापा

अर्जुन थापा

थानकोटको जाममा परेर होला मलाई बानेश्वरसम्म आउन पूरै तीन घन्टा लाग्यो । पहिलो पटक थियो काठमाडौँ आएको । आउन मन त कहाँ नभएको हो र तर पनि आफ्नै बाध्यताले गर्दा पूरै उन्नाइस वर्ष लागेछ यो काठमाडौँ  सहर आउनलाई ।
साँझको छ बज्दै छ । झमक्क अँध्यारो परिसक्यो । नयाँ ठाउँ ठेगाना त छ, पत्ता लगाउन पो गाह्रो हुने हो कि ?
“हेल्लो तिमी कता हराएकी ? हामी त पीर गरेर ।” सुनिता बोल्छिन् फोनमा ।
एकैछिनमा आउँछिन् मलाई लिन बसपार्कमा । म उनकै पछि लागेर हिँड्छु ।
दुईतले घरमा ठीकैको कोठा रहेछ सुनिताको ।
“अब यही हो तिम्रो घर ।” सुनिता हाँसेर भन्छिन् ।
उमेरले मभन्दा चार- पाँच वर्षले जेठो भए तापनि गाउँमा हामी साथीसाथी थियौँ । सानो कदकी, अझै विकास नभएका उनका छाती । अझ काठमाडौँको हावाले होला सायद लुगा पनि केटामान्छे जस्तै लगाउँदा टम ब्वाय जस्तै देखिन्छिन् सुनिता । सधैँ हँसी मजाक मात्र गरिरहनुपर्ने उनको बानी । तर म उनको ठीक उल्टो थिएँ । शारीरिकदेखि बानी व्यवहार सबै उल्टो ।
आज क्याम्पसको पहिलो दिन । गेटबाट भित्र पस्नेबित्तिकै पुरानो दरबार ठिङ्ग मेरो सामु उभिएको थियो । पहिला मीनशमशेरको दरबार थियो रे । आज नेपाल कमर्स क्याम्पस । कति रमाइलो बगैँचा, पुतलीहरू आआफ्नै तालमा नाचिरहेका । पारिजात ढकमक्क फुलेको । जसको बास्नाले वातावरण महकिरहेको थियो ।
“राधा ।” अपरिचित मान्छेको बोली झसङ्ग भएँ ।
पछाडि फर्केर हेरेँ । सायद मेरै उमेरको हुनुपर्छ । हँसिलो र बोलाइलो खालको, गोरो केटो अब मेरो सामु थियो ।
“सुनिता दिदीले मलाई भन्नुभएको थियो कि तिमी आजबाट क्लास स्टार्ट गर्दै छौ भनेर । भर्खर फेसबुकमा तिम्रो फोटो पठाइदिनुभएको थियो । तिमी त फोटोभन्दा पनि बढी राम्री लाग्यो मलाई ।” ऊ धाराप्रवाह बोल्दै गयो, म सुनिरहेँ ।
मेरो मौनता देखेर उसले मलाई के सोच्यो थाहा भएन । मलाई चाहिँ ऊ अलिक बढी बोल्ने नै लाग्यो । तर पनि आज पहिलो भेटमा चाहिँ समग्र रूपमा भन्नुपर्दा ठीकै रहेछ महेश ।
सुनिताले मलाई पछि भनेकी थिइन् महेशको बारेमा, “बाउको एउटै छोरा । आमा सानैमा बितेको । बाबु यो सहरको नामी व्यापारी तर बाबुछोराको ग्रह नमिल्ने । महेशलाई यो व्यापार व्यवसाय केही मतलब नभएको । सधैँ रमाइलो गर्दै हिँड्नुपर्ने मान्छे ।”
अन्तिममा सुनिताले भनेको वाक्यचाहिँ मलाई अलिक बढी याद रह्यो-  “महेश सारै हेल्पफुल छ ।” भनेर ।
हाम्रो क्याम्पस एउटै । ऊ बिबिएस दोस्रो वर्षको, म पहिलो वर्षकी छात्रा थिएँ । महेशलाई यस क्याम्पसमा प्रायः सबैले चिन्थे र मन पराउँथे पनि । केटीहरूका लागि चाहिँ ऊ फिल्मको हिरोभन्दा कम थिएन । ऊ मान्छे पनि राम्रो थियो । त्यसमा कालो चिल्लो गाडी चढेर आउँथ्यो जसले गर्दा पनि झन् झुम्मिनलाई मद्दत गर्यो नै ।
महेश मलाई लिन आउँथ्यो, छोड्न डेरासम्म पुग्थ्यो । उसले नै मलाई काठमाडौँ चिनाएको थियो । काठमाडौँको रहनसहन । दरबारिया भाषा (आइस्योस्, बस्योस्) आदि । पिज्जा, बरगर भन्ने चीज नै उसले पहिलो पटक मलाई चिनाएको थियो । म त सारै गाउँले पो त, हुन पनि यो समयमासम्म पनि केही थाहा थिएन मलाई । हामी असल साथी भएका थियौँ छोटो समयमा ।
महेशलाई मेरो घरपरिवारको बारेमा मैले कहिल्यै भनिनँ र उसले सोधेन पनि । उसलाई मेरो पृष्ठभूमिको बारेमा अति कम थाहा थियो वा सुनिताले नभनेकी पनि हुन सक्छ ।
सायद हाम्रो लागि एकअर्काको उपस्थिति नै पर्याप्त थियो । त्योभन्दा पर पुगिरहनुपर्ने आवश्यकता नै परेन ।
म धेरै पटक महेशको घर आएकी थिएँ तर पनि त्यस दिन अरूभन्दा भिन्दै पाएँ । बैठक कोठमा फूलहरूका बुकेहरूले कोठा भरिएको थियो । हल्का ज्याज म्युजिक बजिराखेका थिए । उसले ढोकैबाट मेरो हात समातेर सोफामा लगेर बसाली ऊ आफूचाहिँ घुँडा भुइँमा टेकेर भन्यो, “राधा, तिमी मेरी सहयात्री बन्न तयार छौ ?” म जिल्ल परेँ ।
“कस्तो सहयात्री ?” मेरो प्रश्न थियो ।
“यस्तो सहयात्री जसलाई प्रेमिकाको उपमाले विभूषित गर्न सकियोस् ।” उसले फेरि थप्यो ।
म कस्तो धर्मसङ्कटमा परेँ । ऊ त्यही व्यक्ति थियो, जसले मलाई यस मतलबी मान्छेहरूले भरिएको सहरमा सहारा दियो । जसले मलाई बाँच्न सिकायो । आज मेरो जे हैसियत छ, यी सब उसैको कृपाले हो भने अब मैले उसलाई भनूँ के ।
हो, महेश मलाई मन पर्छ तर प्रेमीको रूपमा होइन । मन पराउनु र प्रेम गर्नु फरक कुरा हो ।
“तिम्रो यो मौनतालाई म के सम्झूँ राधा ?” फेरि ऊ बोल्यो ।
“मलाई समय देऊ महेश । म यस्तो कुरामा हतार गर्न सक्दिनँ ।” भनेर बाहिर निस्कन्छु ।
आज हामी सँगै एउटै छानामुनि बस्न थालेको पनि एक वर्ष भइसकेछ । हाम्रो अझै विवाह भएको छैन तर समाजका लागि हामी लोग्नेस्वास्नी हौँ । तर यो कुरा मान्न म अझै तयार छैन ।
हो, हाम्रो बेड एउटै छ । तर पनि म उसलाई अझै प्रेम गर्दिनँ ।
मलाई यो पनि थाहा छ । महेशको लागि म नै सबै थोक छु । उसले मलाई गाडी, घर, नोकर, चाकर सबै दिएको छ । जो हरकोहीका सपना हुने गर्छन् । तर पनि म एक्ली छु । मलाई थाहा छ, एक्लो भएको बेला दुखेको चित्तबाट आँसु र आँसुबाट रगत तप्किन्छ । जुन कुरा घर र चिल्ला गाडीले रोक्न सक्दैनन् । मलाई मेरो एक्लोपनले निल्ने प्रयास गर्छ । जुन कुरा महेशले कहिल्यै बुझ्ने प्रयास गरेन ।
“भोलि मेरो ड्याडी युएसएबाट आउँदै हुनुुहुन्छ ।” महेशले भनेको थियो । सायद फोनमा एक- दुईपल्टबाहेक महेशको ड्याडीसँग मेरो कुरा भएको छैन । यो डेढ दुई वर्षको बीचमा । ऊ पनि उसको ड्याडीको कुरा गर्न खोज्दैन र म जान्न चाहन्नँ पनि । बस, उसको ड्याडी युएसएमा एक्लै बस्नुहुन्छ भन्ने सुनेकी छु ।
गाडी रोकेको आवाज आउँछ बाहिर । सायद महेशको ड्याडी आउनुभयो होला । म ढोकासम्म लिन जान्छु । महेश र उसको ड्याडी उभिँदा ठ्याक्कै टुविन्स जस्तै । महेश जन्मिँदा उसको ड्याडीको उमेर बाइस वर्षको थियो रे । भनेपछि अहिले लगभग छयालीसको हुनुपर्छ ।
“के छ राधा !” मेरो अगाडि हात तेर्साउनुभयो, मिलाउनको लागि । अप्ठ्यारो लागी लागी हात अगाडि बढाएँ मैले पनि ।
छोटो, आर्मी कट कपाल काटेको, हल्का सेतो फुल्न थालेको कपाल । नहाँसी नबोल्ने टम्म मिलेका दाँतहरू, मिलेको शरीर । लट्ठ परेका आँखा । कुन लुगा कसरी मिलाएर लगाउने भन्ने जानेको ।
महेश प्रायः घर अबेला नै आउँथ्यो । दिनभरि एक्लै म । प्रायः महेश र मेरो भेट राति मात्र हुने गथ्र्यो । उसको क्लब, पार्टीका साथीहरूबाट फुर्सद नै उसले पाउँदैनथ्यो । मैले उसलाई बुझ्ने धेरै कोसिस गरेँ । तर पनि एउटा मनभित्रको आवाज हुन्छ नि ? यही हो महेश जो मैले खोजेको भन्ने नै कहिल्यै भएन । मनभित्रबाट नै त्यो मायाको अनुभूति नै भएन मलाई । महेश सँगै भए तापनि सँगै भएको आभास नै हुँदैनथ्यो मलाई ।
म भित्रभित्रै टुक्रिराखेको थिएँ दिनप्रतिदिन । मलाई सबै कुरा दिएको थियो महेशले तर जे मैले चाहेको थिएँ, त्यो मैले ऊबाट पाइराखेको थिइनँ । जुन माया उसले गथ्र्यो, त्यो माया मैले चाहेको थिइनँ । सायद यही कारण पनि हुन सक्छ म आफूलाई एक्लो अनुभव गरेकी ।
“कस्तो मीठो बनाउन जान्नुभएको मासु । मैले यस्तो मिठो खसीको मासु र फर्सी कहिल्यै खाएको थिइनँ ।” मैले भन्दा आलोक (महेशको ड्याडीको नाम) मुसुक्क हाँसेर, टाउको झुकाएर धन्यवादको सङ्केत दिनुभयो ।
“अबदेखि मलाई आलोक भन्नुपर्छ तिमीले । होइन भने म रिसाउँछु नि !” भनेदेखि मैले आलोक नै भनेर सम्बोधन गर्न थालेकी छु ।
के छैन आलोकसँग तर पनि कति सिम्पल छ । कुनै घमन्ड भन्ने नै छैन । अक्सर लोग्नेमान्छेहरू लैङ्गिक अहम्को सिकार हुने गरेको मैले पाउँछु । महेशमा पनि छ ।
आलोकमा शारीरिक र मानसिक अहम्बाट मुक्त भएर स्वास्नीमान्छेहरूलाई सहृदय सम्मान गर्न सक्ने गुण मैले पाएकी छु । अब म बिस्तारै आलोकलाई आफ्नो मनको पीडा भन्न सक्ने भएकी छु । जुन उहाँले छातीमा आफ्नै पीडासरि सुनिरहनुहुन्छ ।
जसले मलाई बुझोस् । राधा जे छ, त्यसैलाई अपनाओस् । मैले खोजेको बेला मेरो अगाडि होस् भन्ने जो मैले एक वर्षमा खोजिराखेको थिएँ, अहिले आलोक बनेर मेरो अगाडि छ । यो तीन- चार महिनामा जति खुसी म भएको छु । त्यो योभन्दा अगाडि कहिल्यै भइनँ ।
हो, म प्रेम गर्न थालेछु आलोकलाई । जुन प्रेम मैले महेशलाई गर्न सकिनँ । जो मान्छेसँग विगत एक वर्षदेखि एउटै घरमा, एउटै बेडमा सुत्दै आएकी छु । उसकै बाबुसँग प्रेम गर्न थालेछु ।
गाउँकी एउटा सोझी केटीलाई यो सहरमा हात समातेर बाटो काट्न सिकायो । खान, बोल्न सिकायो । मान्छेहरूको भीडमा बाँच्न सिकायो । आज उसैको जन्म दिने पितासँग प्रेम गर्न थालेकी छु ।
“के यो समाजले मलाई पागलनी र आलोकलाई पागल भन्दैनन् त ?” म आफैँ प्रश्न गर्न थाल्छु ।
“मान्छे पहिला आफू खुसी हुुनुपर्छ । तिमी जे गर्दा खुसी हुन्छौ त्यही गर । म सधैँ तिम्रो साथ छु ।” आलोकले भनेका कुरा दोहोरिरहन्छन् ।
हो, निर्णय त मैले एउटा लिनु नै पर्छ । कस्तो अचम्म बाबुछोरा मध्ये एक जना रोज्नुपर्ने अवस्था आयो मलाई ।
आज महेशको जन्मदिन र भोलि आलोक युएसए फर्कंदै छ ।
“यो तिम्रो लागि एयर टिकेट र युएसएको भिसा । अब तिम्रो जे निर्णय छ ।” भनेर आलोक बाहिर निस्कनुभयो ।
मैले निर्णय लिइसकेँ । आज महेशको जन्मदिन । अब सबै कुरा भुलेर महेशको जन्मदिन विशेष रूपमा मनाउनेछु म । महेशले गरेको गुनको अगाडि अरू केही छैन ।
आफ्नै हातले बनाएँ सबै थोक जो महेशलाई मिठो लाग्थ्यो । सानो केक जसमा महेशको नाम लेखिएको थियो । आज महेश र म भएर मनाउनेछौँ उसको जन्मदिन ।
दिनभरि फोन गरिराखेँ, रिसिभ गरेन । मलाई थाहा थियो ऊ कहाँ हुन्छ भन्ने । केक बोकेर ऊ भएको ठाउँमा पुगेँ । ऊ साथीहरूसँग उसको जन्मदिन मनाइराखेको थियो । ऊ रक्सीले मातेर उभिन सक्ने अवस्थामा थिएन । म उसको नजिक पुगेको मात्र थिएँ । उसको हातमा भएको रक्सीको ग्लास मेरो टाउकोमा खनाइदियो ।
यस्तो व्यवहार उसले घरमा धेरैपटक नदेखाएको त होइन, तर आज सबैको अगाडि त्यसमा उसले जुनजुन शब्दहरू ममाथि प्रयोग गरिराखेको थियो, उसलाई केही मतलब थिएन । मानौँ म कुनै …. ।
“अबको केही क्षणमा हामी यो नेपाल छोड्नेछौँ ।” आलोकले मेरो हातमा हात राखेर भन्नुभएको थियो । मेरो टाउको आलोकको कुममा थियो । प्लेनले जमिन छोडेको प्रस्ट थाहा पाउँछु म ।


(थापा चर्चित युवा आख्यानकार हुन् ।)
[email protected]