समाचार

चिया दोकान, गाउँमा, सद्भाववस्ती, गजलपुर । यहाँका मानिसहरूमा एकीकृत भावना छ । दलबिहीन, बिचारविहीन समाज हो । खाना, नाना र छानाको व्यवस्था छ । आज पनि जम्मा भए आलापोटे प्रकाश बस्नेत गफाडी का आफन्तहरू, गफाडीहरू । गफ, उही रवि लामिछानेबाट शुरू भएर कवि लामिछानेसम्म पुग्यो ।
‘सर, हजुर त अति जान्ने, रे, जे पनि आउने रे ! अब के होला ?’ जय नेपाल अधिकारी, पुलुक्क प्रोफेसर कन्फ्युजकान्त मैनालीसित ।
‘अब बयासी साल होला, त्यो भन्दा पहिले नदीनको जन्मदिन ।’ प्रोफेसर ठट्टाको मूडमा । एक हलको मेलो हाँसो ।
‘ह्या, सर पनि खाली मजाक गर्नुहुन्छ । देशमा यस्तो अवस्था छ । भन्नु न ! अधिकारी । पत्याउने ? केही हुन्न । यहाँ केही हुन्न । स्वदेशमा बसेर विदेशको चिन्ता गरिन्छ । ३४ बर्षमा जाबो स्कूलको समस्या हल गर्न असमर्थ, यी चार पासे, र आठ पासेहरू ! के हुन्छ अरू ? प्रोफेसर । यी झोले गुरुहरू, यी सारेर पास भएका नक्कली स्कलरहरूको दोष छैन ? इन्द्रराज नेपाल । ‘पत्याउने ? राम्री श्रीमती, अझ जवान, साहित्यमा वा राजनीतिमा लागेको कुनै पनि पतिलाई मनपर्दैन । त्यस्तै राम्रो योग्य गुरुलाई सहकर्मीहरू दलको झोले बनेको कसैलाई मनपर्दैन । अगुरुहरूले खाए देशलाई ।
‘सरको कुरा अति गहिरो । के गरे राम्रो होला !’ उपेन्द्र सुवेदी ।
पत्याउने ? राम्रो गर्नै सक्दैन । एउटाले राम्रो गर्न खोजे अर्कोले बिथोल्ने पक्का ! मेरो मितवा प्रोफेसर पदमनारायण बलरामपुरे सुमेधाश्रीलाई टिक्न दिए त ? यो बत्ती नचिन्ने समाज हो । तमप्रेमीहरू कै रजगज छ । पत्याउने ? हामी सबै चोर हौं ! प्रोफेसर । पत्याउने सर, पत्याउने !’ भानुप्रसाद वैरागी ।
धनराज गिरी