‘बिचरी बिन्तीलाई थाहै भएन– त्यो रात उसको कौमार्यको कति मोल चुकाइएको थियो ?’
सुभद्रा एकछिन चुप लागिन् । मैले सास रोकेर, मुटु थामेर उनैलाई हेरिरहेँ । उनले बयान गरेका हरेक शब्दहरू मेरा आँखाअगाडि चित्रित भैरहे तर मैले ती बीभत्स दृश्यहरूसँग डराएर आँखा बन्द गर्न पनि सकिनँ । केवल चेतना हराएझैँ टिलपिल हुँदै पोखिँदैगरेका आँखाले सुभद्रालाई नै हेरिरहेँ । एकटक ।
‘एकपटक धम्काएपछि, डर देखाएपछि बिन्तीले फेरि अर्कोपटक विरोध गर्ने हिम्मत गर्न सकिनँ ।’ सुभद्राले आँसु पुछ्दै प्रसङ्ग जोडिन्– ‘उसको हाकिमको मनमानी चलि नै रह्यो । बिन्ती भित्रभित्रै मरिरही । उसको ओठको मुस्कान हरायो ।
‘उसको ११ कक्षाको परीक्षाको रिजल्ट देखेर स्कुलका प्रिन्सिपलले घरमै आएर बिन्तीलाई स्कुल पठाउन अनुरोध गरे, किनभने बिन्ती क्लासमा प्रथम भएकी थिई । तर उसका बाबुआमाले असमर्थता प्रकट गरेर बिन्तीको रहेसहेको आश पनि मारिदिए । बिन्ती आफ्नो टोकिएको, चिथोरिएको शरीरसँग घृणा गर्दै बाबुआमा र दाजुको आवश्यकताको बलि चढिरही । बाउको ह्विलचेयर धकालेर, हाकिमको मनमानी झेलेर बिन्तीको जीवनको लगभग एक वर्ष कैयौँ शताब्दीझैँ गरी बित्यो ।
बिन्तीको छिमेकीको घरसँग त्यति धेरै हेलमेल थिएन । तथापि छिमेकीको नाताले आवतजावत भने थियो ।
‘त्यस घरको एउटा युवक, जसको नाम सुदीप थियो, बिन्तीलाई मनपथ्र्यो । सुदीप सानैदेखि काठमाडौँमा बसेर पढ्दै थियो । छुट्टीको बेलामा मात्र घर आउने ऊ करिब २२–२४ वर्षको, हेर्नमा ठीकठाक, अग्लो, लुरेलुरे केटो थियो । सुदीप छुट्टीमा घर आएका बेला उनीहरूबीच सामान्य कुराकानी हुनेगथ्र्यो । त्यसबाहेक उनीहरूबीच अरू केही थिएन । तर त्यसपटक छुट्टीमा विराटनगर आउँदा भने उसले बिन्तीमाथि अलि बढी नै चासो लियो । अघिसरेर कुरा गर्यो । अघिपछि लाग्यो र दुई चारपटकको बोलचालमै उसले बिन्तीलाई प्रपोज पनि गर्यो । साधारण स्थितिमा भए त सायद बिन्ती पनि रोमाञ्चित हुन्थी होला तर त्यसबेला त ऊ भित्रभित्रै सल्किरहेकी थिई । पाकिरहेकी थिई । त्यसैले उसले सुदीपलाई कुनै जवाफ दिइन । बिन्तीको पछि लाग्दालाग्दै बिदा सकिएकाले सुदीप काठमाडौँ फर्कियो । बिन्ती झन् उदास भई । उसको दिनचर्याबाट बिस्तारैबिस्तारै उसका खुसीका रङहरू हराउँदै गएको थियो । जिन्दगी आफ्ना लागि नभएर अरूका लागि बाँचिरहेको भान हुन थालेको थियो उसलाई ।
‘अब बिस्तारैबिस्तारै हाकिमसँग जोडेर अफिसमा उसको बारेमा कुरा हुनथालेको थियो । ऊतिर फाट्टफुट्ट औँलाहरू उठ्न थालेका थिए । एकपटक अफिसबाट सुरु भएको कुरा अफिसबाट बाहिर निस्कन समय लागेन । यतिका समय जुन दुर्गन्ध केवल उसले मात्र अनूभूत गरिरहेकी थिई, झेलिरहेकी थिई, त्यो बाहिर फैलिए पनि बिन्ती खासै चिन्तित भइन । उसले थोडै नै सुरू गरेकी थिई र यो सब कुरा ? ऊ सोच्थी– जिम्मेवार मान्छेले नै चिन्ता गरोस् ! तर हाम्रो समाज त हरेक नराम्रो ठानिने कुराका लागी स्वास्नीमान्छेलाई नै जिम्मेवार मान्छ र खेदो खन्छ । त्यसैले त सुन्ने मान्छेहरूमा पुरुषहरूले त्यो बदनामीको जिम्मेवार बिन्तीलाई मानेर उसलाई हलुका, चरित्रहीन सोचे । सहजै उपलब्ध हुने शरीर सोचे । महिलाहरूले यसरी नाक थुने, मानौँ ऊ कुनै फोहोरको थुप्रो हो । धारेहात लगाए ।
अब प्रत्यक्ष–परोक्षरूपमा ऐरेगैरे नत्थुखैरेले पनि बिन्तीलाई भोग्ने कोसिस गर्नथाले । बाटो हिँड्न मुस्किल हुनथाल्यो ।
‘यस्तैमा उसको दाइ पढाइ सकेर फर्कियो । बिन्तीले ढुक्कको सास फेरी । उसले सोची– अब यो आत्मा कुहिने अनिच्छित सम्बन्धसँग, यी कान पाक्ने कुराहरूसँग छुट्कारा पाउनेछ उसले । तर कहाँ ? उसले काम छोड्ने कुरा निकाल्नेबित्तिकै बाबुआमा र दाइले तीव्र विरोध गरिहाले । दाइले भन्यो– ‘अहिले कहाँ, मलाई काममा लाग्न त दे ।’
‘बिन्ती रगतको घुट्को पिएर चुप लागी ।
महिना बित्दानबित्दै विराटनगरमा भरखर खुलेको प्राइभेट बैङ्कमा विवेकको जागिर भयो तर पनि बिन्तीको काम छोड्ने धोको पूरा हुनसकेन । दाजुलाई काममा खुट्टा जमाउनु थियो । आमाबाबु पढेलेखेको कमाउ छोराको विरूद्ध जान सक्दैनथे ।
‘त्यसैले उनीहरू प्राइभेट बैङ्कको राम्रो पोस्ट्मा काम गर्ने, टाई–सुट लगाउने छोराको चाकरीमै व्यस्त रहे । कसैले बिन्तीप्रति आभार प्रकट गर्ने आवश्यकतासम्म ठानेन ।
‘दाजु जागिरे भएको दुई महिना नहुँदै एकदिन साँझ रातोपीरो हुँदै घर फर्कियो र घरमा महाभारत मच्यायो । उसले मच्चाएको महाभारतमा बाबुआमा पनि सम्मिलित भए । बिन्तीको सफाइ सुन्ने आवश्यकता कसैले सम्झेन ।
‘दाजुले फैसला सुनायो– ‘यस्ती चरित्रहीन अनि बदनाम भएकी बहिनीसँग म यौटै घरमा बस्न सक्दिनँ । या त उसले घर छोडोस्, या म घर छोड्छु ।’
‘बाबुआमालाई सायद बिन्तीको भन्दा विवेकको धेरै आवश्यकता थियो । त्यसैले उनीहरू एक मिनेट यताउता नसोची विवेकको साइडमा उभिनपुगे । बिन्ती अफिस, टोल र छिमेकका नजरमा मात्र होइन, आफ्नो परिवारमै पनि दोषी ठहरिई । अपराधी मानिई । उसका बाबुआमाले उसलाई, ऊ छोरी भएर जन्मिएकीमा, टोलछिमेकमा सबैभन्दा सुन्दर भएकीमा र सबैभन्दा धेरै– आफ्नो सन्तान भएर जन्मिएकीमा अफसोच व्यक्त गरे । हजार–लाख गाली गरे, अपशब्द बोले । आमाले त उसलाई जगल्ट्याएर पिट्नसमेत बाँकी राखिनन् । आमाबाबुको गालीको, पिटाइको, अपमानको बदलामा भन्नका लागि बिन्तीसँग थुप्रै कुराहरू थिए तर त्यसबेला उसलाई केही भन्ने इच्छा भएन । फाइदा के थियो ? बाउको एक्सिडेन्ट भएदेखि उसले केवल त्यो घरको र दाजुको पढाइको खर्च मात्रै उठाइन, अपाहिज बाउको बैसाखी बनेर उनको साथमा डटेर उभिइरही । आफूभित्र जत्रोसुकै भुइँचालो गएको होस्, ऊ डगमगाइन । किनभने उसलाई थाहा थियो– ऊ डगमगाई भने त्यो सिङ्गो परिवारको अस्तित्व मेटिनेछ । तर जब उसलाई परिवारको साथ चाहियो, तब उनीहरू अलिकति अप्ट्यारो नमानी छोराको साइडमा उभिनपुगे । त्यतिबेला बिन्तीले चाहेकी भए मुखभरिको जवाफ दिनसक्ने थिई तर उसका रित्तारित्ता आँखामा उम्लिरहने अथाह पीडालाई देखेर पनि नदेखेझैँ गर्ने उसका बाबुआमाले उसका शब्दमाथि विश्वास गरेर आत्मग्लानि गर्लान्, पछुताउलान्, साथ देलान्– उसलाई लाग्दैलागेन । घरको बिँडो धान्नुपर्ने दाइ–बाउ अपाहिज हुँदा त ‘पढाइ छोड्न सक्दिनँ, जसरी पनि खर्च पठाओ’ भनेर घर आएन । त्यस्तो दाइको नियत त्यतिबेलै नबुझेकी कहाँ हो र उसले ? के फरक पथ्र्यो आ–आफ्नो स्वार्थको फेर थामेर उभिएका बाउआमा र दाइसँग केही भनेर ? जब बाउआमा त आफ्नो स्वार्थमा अन्धो, बहिरो भैदिनसके भने दाइको के कुरा ? त्यसैले ऊ केही बोलिन । चुपचाप उनीहरूको आरोप, लान्छना सुनिरही । टिलपिल आँखाले उनीहरूलाई हेरिरही । न गाली, लान्छना र आरोपको विरोध गरी, न पिटाइको । यहाँसम्म कि उसका दाजु र आमाले उसलाई घोक्र्याउँदै घरबाहिर निकालेर ढोका बन्द गर्दा पनि ऊ केही बोल्न सकिन ।’
‘उफऽऽऽऽ…!’ सुभद्रालाई उछिनेर मेरो मुखबाट विस्मात्का शब्द फुत्किहाले– ‘सुभद्रा ! कुनै बाबुआमा त्यतिसम्म कठोर पनि हुन सक्छन् र ?’
‘त्यो उनीहरूको कठोरताभन्दा पनि बाध्यता अनि आवश्यकता थियो सायद,’ सुभद्राले भनिन्– ‘त्यस्तै सोची उसले त्यसबेला । अपाङ्ग बाबुलाई पढेलेखेको, कमाउने, जीवित हुँदा पाल्ने र मरेपछि दागबत्ती दिने, श्राद्घ गर्ने छोराको आवश्यकता अधिक थियो सायद उसको भन्दा । अनि आमाका लागि बदनाम भएकी छोरी बोझ बनिरहेकी थिई सम्भवतः । त्यसैले उनीहरू त्यो बोझबाट मुक्त हुन चाहन्थे ।
‘जेहोस् बिन्ती त्यो रात, एक्लै बन्द ढोका बाहिर बसेर चुपचाप रोइरही ।
निक्कै बेरपछि पल्लो घरको सुदीप आएर उसको छेउमा बस्यो । उसलाई सान्त्वना दिने, सम्झाउने क्रममा अँगालेर छातीमा टाँस्यो अनि भावनाले भिजेको स्वरमा आफूले उसलाई गरेको मायाको बखान गर्दै उसलाई आफूसँगै काठमाडौँ हिँड्न अनुरोध गर्यो । काठमाडौँ गएर ऊ बिन्तीसँग विवाह गर्न चाहन्थ्यो ।
‘सामान्य अवस्थामा भएको भए उसको त्यो प्रस्तावले बिन्तीलाई डगमगाउने थिएन तर यतिबेला त ऊ रुखबाट झरेको सुकेको पात भएकी थिई । उसलाई उडाउन हावाको हलुका झोक्का नै काफी थियो । त्यतिबेला उसलाई, टाउकोमाथि छतको, सहाराको र सहानुभूतिको आवश्यकता थियो । आड लागेर रुने काँधको, थामेर हिँड्ने हातको आवश्यकता थियो । भरखरै हात र साथ छोडेर अलग्गिएको उसको परिवारले उसमाथि ओकेलेको विषले पोलिरहेको बिन्तीको सर्वाङ्ग सुदीपका मीठामीठा कुरा र सहानुभूतिपूर्ण ब्यवहारले केही सित्तल भयो । उसले आफ्नो भर्खरै भएको दुर्गति बिर्सी । सोची– ठीकै त छ । मेरो परिवारलाई म चाहिन्न भने किन म यिनको दैलो ढुकेर बसौँ ? मैले लागेपुगेको गरेकै हुँ यिनका लागि, अब यिनीहरूलाई कदरै छैन भने म किन यिनीहरूसामु हात जोडेर आफूले गर्दैनगरेको गल्तीको माफी मागूँ ?
‘उसले रुँदैरुँदै सुदीपसामु आफूले भोगेको सम्पूर्ण त्रासदी ज्यूँका त्यूँ वर्णन गरी । सुदीपले दुःखी भएर ऊसँगसँगै रोएर देखायो । अहिलेसम्म आरोप, उपेक्षा र घृणा मात्र देखेकी बिन्तीमाथि उसको साहनुभूतिले औषधीको काम गर्यो । उसले सुदीपसँग काठमाडौँ जाने निदो गरी– जुन कुराको उसलाई आज पनि अपसोच छ । ऊ आज पनि भन्छे– ‘त्यसबेला सबैतिरबाट निराश भएर, बाटो हराएर बसेको बेलाको कमजोर पलमा उसको साहनुभूतिमा पग्लेर मैले त्यो निर्णय गरेँ जुन सायद मैले गर्नुहुने थिएन । के थाहा, यदि म रातभर त्यहीँ दैलोअगाडि बसिरहेको भए, भोलिपल्ट मलाई त्यहीँ देखेर मेरो दाजुको नभए पनि मेरा बाबुआमाको मन त पग्लन्थ्यो कि ? उनीहरूको मनमा दया जाग्थ्यो कि मप्रति ? के थाहा मेरो जिन्दगीको यस्तो सर्वनाश हुने थिएन कि ?’ तर त्यो अबोधलाई के थाहा– जहाँ मान्छेको आफ्नो स्वार्थ अगाडि हुन्छ, त्यहाँ उसले अरू केही देख्नै सक्दैन भन्ने कुरा !’ सुभद्रा एकैक्षण अडिइन् । मलाई पानी पिउन मद्दत गरिन् । आफूले पनि थोरै पानी पिइन् र बिस्तारै भन्न सुरू गरिन– ‘बिन्ती उत्तिखेरै, खालीहात सुदीपको साथ लागेर काठमाडौँ हिँडी ।
‘पछि टोलछिमेकमा बिन्ती घर छोडेर भागेको कुरा सर्वत्र फिँजियो । सबैले बिन्तीलाई दोषी माने । उसको पछाडि उसले जिन्दगीमा कहिल्यै नसोचेका, नगरेका कुरासमेत जोडेर टोलछिमेकी र आफन्तहरूले आ–आफ्नो कुण्ठा छादे । केही दिन अघिसम्म सबैका लागि उदाहरण बनेकी बिन्ती यति बदनाम भई, मान्छेहरू उसको नामसमेत लिन घिनाउन थाले ।’ सुभद्राको स्वरमा नाप्न, जोख्न नसकिने अफसोच थियो– ‘र, बिन्तीको यो बदनामीका लागि सबैभन्दा धेरै जिम्मेवार उसैको हाकिम थियो ।’ उनको अनुहारमा घृणाको नमीठो भाव फैलियो– ‘उसले आफू र बिन्तीलाई लिएर चलेको हल्लाबाट मान्छेहरूको ध्यान हटाउन बिन्तीलाई प्रास्टिच्युट सावित गर्न कुनै कसर छोडेन ।’ सुभद्राले दुःखी हुँदै भनिन्– ‘यसरी यौटा पुरूषले आफ्नि छोरी र नातिनीको उमेरकी निर्दोष, अबोध केटीलाई आफ्नो स्वार्थका लागि किचिमिची परेर छोडिदियो, आफूले गरेको अपराधको सजाय भोग्न । खासमा त बिन्तीलाई बिनी बनाउनेहरूमा उसको हाकिमको सबैभन्दा ठूलो हात मान्छु म ।’
‘मलाई त लाग्छ बिन्तीको बर्बादीमा उसको परिवार जत्तिको दोषी अरू कोही छँदैछैन ।’ मैले आक्रोशित हुँदै भनेँ– ‘उनीहरूकै स्वार्थ र लापर्वाहीका कारण बिन्ती बिनी बन्न बाध्य भई । सुभद्रा ! परिवार, आफ्नो मान्छे जब अडिग भएर साथमा उभिन्छ, तब यो समाज र समाजमा भएका यस्ता भाइरसहरूले कुनै बिन्तीको केही बिगार्न सक्दैनन् ।’
कुन्नी किन, सुभद्राले एक टकले मेरो अनुहारमा हेरिन् अनि भनिन्– ‘प्रत्यूष, यो बाध्यता भन्ने शब्द सुन्दा मात्रै सहज सुनिन्छ तर जब यसलाई भोग्नुपर्छ तब ज्ञान, आदर्श, अठोट सबै माटोमा मिल्छ । बध्यतामा त मैले मान्छेले आफू जीवित रहनका लागि आफूजस्तै मान्छेको मासुसम्म खाएको सुनेकी, पढेकी छु, भने अरू त के कुरा ? भैगो छोड यो कुरा ! तिमी भन्– तिमी भए के गथ्र्यौ ?’
‘म उसको कुरा सुन्थेँ । उसको कुरामा विश्वास गरेर उसलाई साथ दिन्थेँ । उसप्रति यति आभारी हुन्थेँ– आजीवन उसको आडभरोसा बन्थेँ । उसलाई फेरि एक्लै भौतारिनुपर्ने स्थिति आउनै दिन्थिन् ।’ मैले दृढतापूर्वक भनेँ ।
‘भन्न सजिलो छ प्रत्यूष ! बिन्तीजस्तो बदनामीको धापमा पुरिएकी केटीको साथमा उभिन सजिलो कदापि हुन्न !’ सुभद्राले भनिन् ।
‘अरूका लागि आफूलाई बेचिदिन पनि सजिलो हुँदैन सुभद्रा !’ मैले भनेँ– ‘मेरो सोचाइमा जसलाई कृतज्ञ हुन आउँदैन, ऊ मान्छे हुनै सक्दैन । म त्यस्ता मान्छेलाई मान्छेहरूमा गन्न सक्दिनँ, जो कसैको त्यति ठूलो बलिदानलाई कदर गर्न जान्दैनन् र सक्दैनन् । बिन्तीले आफ्नो परिवाका लागि जे गरी, त्यसको साटोमा उनीहरूले बिन्तीको साथमा जे गरे, त्यसको उनीहरूले सजाय पाउनैपर्छ । बिन्तीको हाकिमले भन्दा पनि धेरै !’ भन्दाभन्दै मेरो स्वर कठोर भयो ।
सुभद्रा निक्कै बेर केही बोलिनन् । उनको अनुहारमा भावनाको उतारचढाव म प्रस्ट देख्न सक्थेँ ।
‘कुरा कहाँबाट कहाँ पुग्यो’, निक्कैबेरपछि सुभद्राले थकित स्वरमा भनिन्– ‘अँ, म भन्दैथिएँ– सुदीपलाई आफ्नो एक मात्र सहारा मानेर उसमा हदभन्दा बढी निर्भर भएकी बिन्ती बिस्तारैबिस्तारै उसलाई मनले माया गर्न थाली ।
‘उसको साथमा आफ्नो दुःखपूर्ण अतीतलाई बिर्सने कोसिस गर्दै, सुदीपलाई नै आफ्नो जिन्दगी, आफ्नो सर्वस्व मानेर उसको जीवनका तीन–चार महिना काठमाडौँको एउटा गल्लीको अँध्यारो कोठामा बिते । बिन्तीलाई त्यो गन्हाउने गल्ली र त्यो अँध्यारो कोठासँग कुनै गुनासो थिएन ।
‘सुदीपका खराबीहरू बिस्तारैबिस्तारै ऊसमक्ष प्रकट हुँदैगएका थिए । तर पनि उसले कहिल्यै कुनै गुनासो गरिन । सोच्थी– ऊजस्ती परिवारले समेत अस्वीकार गरेकी केटीलाई स्वीकार गर्ने सुदीप चाहे लाख खराब सही, उसका लागि ईश्वरतुल्य छ । यही भ्रममा ऊ खुसीखुसी अभाव र अप्ट्याराहरूका बीच कुनै गुनासो नगरी बाँचिरही ।
‘कहिलेकाहीँ भविष्यलाई सोचेर चिन्तित हुन्थी, अपितु उसलाई सुदीपमाथि भरोसा थियो । कैयौँपटक पैसाको अभावका कारण भोकै सुत्नुपथ्र्यो उसले । तर पनि ऊ सुदीपलाई रक्सी पिउने पैसा कहाँबाट आयो भनेर कहिल्यै प्रश्न गर्दिनथी । आफ्ना दुई जोडी कुर्था–सुरूवाल धसिएर, फाटेर काम नलाग्ने हुँदा पनि त्यसैलाई सिलाएर, टालटुल पारेर लगाइरही तर सुदीपका नयाँ जुत्ता र लुगाको बारेमा कहिल्यै प्रश्न गरिन । अँ, विवाह गर्नका लागि भने ऊ सुदीपसँग बारम्बार आग्रह गरिरहन्थी ।
‘यसैबीच उसले आफू गर्भवती भएको थाहा पाई । अहिलेसम्मन् आलटाल गरिरहेको सुदीपले अब पक्कै ऊसँग विवाह गर्नेछ भन्ने कल्पनाले उत्पात खुसी भई ऊ । तर त्यसको विपरीत त्यस खबरले सुदीपको होस उडायो । चार दिनसम्म त ऊ कोठामै आएन । पाँचौँ दिन बिन्तीका लागि नयाँ लुगा, नयाँ जुत्ता र सिन्दुर– पोते लिएर कोठामा फर्किएको सुदीपलाई देखेर बिन्तीले यो सोध्नसम्म बिर्सिई– यत्रा दिनसम्म उसलाई एक्लै छोडेर कहाँ हराएको थियो ऊ ?
त्यही दिन बिन्तीलाई नयाँ लुगा, जुत्तामा सजाएर भोलिपल्ट मन्दिरमा बिहे गर्ने कसमका साथ ऊ बिन्तीलाई लिएर धुलिखेलको यही होटलमा आयो ।
‘बिन्तीको खुसीको कुनै सीमा थिएन । राती सेलिब्रेट गर्ने बहानामा सुदीपले टन्न रक्सी पियो । बिन्तीलाई कोक पिउन दियो । उसले पिलाएको कोकमा अरू केके मिसिएको थियो– सोझीसाझी बिन्तीले पत्तो पनि पाइन । बिन्तीको होस हराउन थालेपछि सुदीप अचानक एउटा जरुरी फोन गर्नुपर्ने बहाना बनाएर बाहिर निस्कियो । निस्कँदा उसले बाहिरबाट ढोका लक गरेर साँचो लिएर गयो । होस र बेहोसीको दोसाँधमै पनि सुन्दर भविष्यको सुखद कल्पना बुनेर बसिरहेकी बिन्ती त्यसबेला झस्की, जब ढोका खोलेर सुदीपको ठाउँमा अर्कै कोही मान्छे भित्र पस्यो ।
‘बस गर सुभद्रा, म अरू सुन्न चाहन्न…।’ मैले कम्पित स्वरमा भनेँ तर सुभद्राले सुन्दै सुनिनन् । उनी शून्यमा हेरेर बिस्तारै बोलिरहिन्– ‘सिन्दूर–पोते बेडको साइडमा भएको टेबलमाथि भएको ब्यागमा त्यसै रहिरह्यो । मायामा होइन, सुदीपको बहानामा बाँधिएकी बिन्ती यसपटक आफू मनले समर्पित भएको मान्छेद्वारा लुटिई । उसले आफूलाई बचाउन हरसम्भव प्रयत्न नगरेकी त कहाँ हो र ? तर होस र आत्मविश्वास हारिसकेकी उसले जित्न सकिन । अन्ततः ऊ एकपटक फेरि आफ्नै प्रेमीद्वारा बेचिएको मान्छेसँग यस्तरी लुटिई– आजसम्म उसले त्यो ‘बिन्ती’ लाई फेलापार्नै सकेकी छैन ।’
म यस्तरी छटपटाएँ, एकपटक त लाग्यो म जुरूक्कै उठ्नेछु । मुटुमा हलचल त छँदैथियो शरीरले पनि अनुभूत गरेझैं लाग्यो बिन्तीको पीडा । ह्विलचेयरको साइडमा भएको मेरो देब्रे हात चलमलायो र त्यहाँबाट तल गुल्टियो । सुभद्राले टाउको घुमाएर मेरा आँसुले सरोबर आँखामा हेरिन् अनि सोधिन्– ‘के भयो ?’
‘खै…।’ मैले आफ्नो काखामा भएको हातमा आँखा गाड्दै भनेँ– ‘हात चलेझैँ लाग्यो । शरीरले हलचल गरेजस्तै लाग्यो । सायद मेरो भ्रम होला । या सायद बिन्तीको पीडाको असर होला !’
सुभद्रा उठिन् अनि मेरोछेउ आएर मेरो लत्रिएको हात उठाएर यताउता चलाउँदै सोधिन्– ‘केही महसुस भयो ?’
मैले अस्वीकृतिपूर्वक टाउको हल्लाएँ । उनले चुपचाप मेरो हात यथास्थानमा राखिन् र आफ्नो ठाउँमा गएर बसिन् ।
‘कफी र चिया पिउँछौ ?’ उनले सोधिन् । मैले दायाँबायाँ टाउको हल्लाएँ । केही बेर हामी दुवै मौन, आ–आफ्नै सोचमा हरायौँ ।
निक्कै बेर पछि सुभद्राले भनिन्– ‘त्यो दिन थाहा छैन बिन्तीको के दुर्गति हुन्थ्यो तर केही बेरपछि फेरि बिन्तीको कोठामा पस्न लागेका दुई जना पुरुषलाई देखेर होटलको मालिक भद्रेले हस्तक्षेप गरेर सोधखोज गर्यो । उनीहरूको उल्टोसुल्टो उत्तरले आशङ्कित भएको भद्रेले जबरजस्ती ढोका खोल्यो र भित्र पस्यो । भित्र बिन्ती बेहोस थिई अनि दुई नरभक्षी पुरुष उसलाई अझै गिजोलिरहेका थिए । भद्रेले नै उनीहरूलाई त्यहाँबाट पिटेर लखेट्यो । बिन्तीलाई पानी छम्केर होसमा ल्यायो । तर होसमा आए पनि बिन्ती सचेत हुन सकिन ।
‘सुदीपले दिएको विश्वासघातले उसलाई यस्तरी हल्लायो– ऊ बौहुलाईजस्तै भई ।
‘आठ–दस दिन विक्षिप्तताकै हालतमा बित्यो । उसको त्यस हालतमा भद्रेले उसलाई अस्पताल लैजान पनि सकेन । उसको आफ्नै रेपुटेसन राम्रो थिएन, झन् बिन्तीको त्यो अवस्था ! चिनजानको डाक्टर बोलाएर उसले बिन्तीको रेखदेख गरायो ।
‘बेसाहारा, बेवारिसे भएकी, होसहवास हराएकी बिन्तीलाई आफ्नो होटलमा राख्यो ।
‘बिस्तारैबिस्तारै बिन्तीको होस सम्हालियो । सम्हालिनु नै थियो उसले, आफ्ना लागि नभए पनि कोखमा हुर्किरहेको बच्चाका लागि ।
अलिकति सम्हालिएपछि जब उसले होटल छोड्न खोजी, भद्रेले होटलको, डाक्टरको र औषधीको खर्चको लम्बेचौडे बिल उसको अगाडि राखिदियो । तर बिन्तीसँग पैसा कहाँ थियो र ? बिन्तीले असमर्थता प्रकट गरेपछि भद्रेले बिन्तीसामु त्यो बिलको बदलामा आफूसँग एक हप्ता बिताउने सर्त राख्यो । बिन्ती त्यसका लागि सहमत हुन सकिनँ । तर खै किन हो भद्रेले ऊसँग जबरजस्ती गर्न चाहेन । बिन्तीको गर्भमा बच्चा छ भन्ने सुनेर त्यो राक्षसजस्तो मान्छेको मन कसरी पग्लियो कुन्नि ! उसले बच्चा जन्मिएको एक वर्षभित्र उसको पैसा ब्याजसमेत तिर्नुपर्ने नत्र उसको सर्त मान्नुपर्ने सम्झौताका साथ बिन्तीलाई छोडिदियो ।
‘बिन्ती फेरि एकपटक यो दुनियाँमा हन्डर खान, भौतारिन एक्लै थिई । तर ऊ सायद भिन्दै खालको माटोले गुँथिएर बनेकी थिई, त्यसैले त फेरि एकपटक कम्मर कसेर दुनियाँसँग सामना गर्न निस्किई । यो पनि बिर्सेर– समय, पीडा, विश्वासघात र बदनामीले उसको सुन्दरतालाई अलिकति पनि धमिल्याउन सकेको थिएन, अपितु त्यसलाई अझै उज्यालो बनाइदिएको थियो ।
‘ऊ जहाँजहाँ काम खोज्न जान्थी, काम दिनेहरूको नजरले उसको योग्यता होइन उसको सुन्दर अनुहारकै मूल्याङ्कन गर्दथ्यो । यहाँसम्म कि उसको दिन–प्रतिदिन बढ्दै गएको पेटले पनि उसको सुन्दर अनुहारको आकर्षण घटाउन सकेको थिएन । ऊ कति ठाउँमा लुटिई । कति ठाउँमा फुत्केर भागी । एउटा होइन, अनेकौँ काम गरेर हेरी । तर अन्ततः कुनै पति, कुनै पुत्र, कुनै पिता, कुनै भाइ, दाइ, उसको काम छोडेर भाग्ने निउँ बनिरहे । हरेक नजर उसको दयनीय हालत र बढिरहेको पेटतिर भन्दा पहिले उसको सम्मोहन जगाउने अनुहारतिर नै उठिरहे । कोही मायाको नाममा लुट्न खोज्थे, कोही सहारा र सहानुभूतिको नाममा । कहीँ कामको नाममा त, कहीँ सहयोगको नाममा । बिस्तारैबिस्तारै आफ्नै छायाँबाट पनि विश्वास उठ्यो उसको ।
‘आफ्नो हविगत देखेर नै सायद ऊ हरपल, हरक्षण ईश्वरसँग प्रार्थना गरिरही– भगवानले उसको गर्भमा छोरीलाई बास नदिऊन् । ऊ अर्की ‘बिन्ती’ लाई जन्म दिने पापबाट बँच्न चाहन्थी । त्यसैले ईश्वरसँग छोरा मागिरही । मन्दिरमन्दिर धाएर ऊ ईश्वर गुहारिरही । यही प्रार्थना गरिरही– यदि छोरी नै दिने भए यति कुरूप देऊ कि ऊतिर उठ्ने आँखाहरू उसको अनुहार देखेरै डराऊन् । कसैले उसको छेउछाउमा जाने हिम्मत गर्न नसकोस् !’ सुभद्रको अनुहारमा वेदनाको बाढी नै आयो– ‘तिमी नै भन त प्रत्यूष ! त्यो आमाले कति सास्ती बेहोरेपछि आफ्नो कोखको सन्तानका लागि त्यस किसीमको प्रार्थना गर्नसकी होला ? नत्र साधारण स्थितिमा कुन आमाले त्यस्तो सन्तानको चाहना गर्नसक्छे ? तर कसैले उसको बाध्यता बुझ्दैबुझेन !
‘सातौँ महिना पुग्दा ऊ एउटा सचिवको घरमा काम गर्थी । यसपटक ऊ अलि ढुक्क थिई । किनभने त्यस घरका छोराहरू सानै थिए अनि सचिव भलाद्मी । तर….तर दोष कसलाई दिऊँ म ? उसको फुटेको भाग्यलाई या उसको घोर शत्रु बनेको उसको रूपलाई ? एकदिन सचिवकी श्रीमती केटाकेटी लिएर विवाहमा सम्मिलित हुन माइत गएको बेला सचिवले आफ्नो भलाद्मीपनको मुखौटा झिकेर फ्याँक्यो । हातपात, लुछाचुँडीको क्रममा बिन्ती घोप्टिएर लडी । रगत बग्न सुरु गरेको देखेर ऊ डरायो र बिन्तीलाई गलहत्याएर बाहिर निकालेर ढोकामा ताल्चा ठोकेर कुलेलाम ठोक्यो । उसले यति दया पनि देखाउन सकेन– बिन्तीलाई कुनै अस्पतालमा पुर्याएर छोडिदेओस् !
‘पेट समातेर बाटोमा लडिबुडी गर्दै रोइकराइ गरिरहेकी रगताम्य बिन्तीलाई थाहा छैन कसले प्रसूति गृह पुर्यायो ।
‘त्यहाँ उसले दिन पूरा नहुँदै सातै महिनामा सिजेरियनद्वारा एउटा बच्चीलाई जन्म दिई, जसलाई देखेर ऊ एकपटक फेरि भक्कानो छोडेर रोई । किनभने यसपटक पनि भाग्यले उसलाई साथ दिएको थिएन । त्यो महिना नपुग्दै जन्मेकी बच्ची पनि यति राम्री थिई– उसको अनुहारबाट आँखा हटाउन गाह्रो हुन्थ्यो ।’
‘व…वाणी..!’ मेरो मुखबाट यौटा भयमिश्रित थरथराहट फुत्क्यो ।
क्रमश…
विगत डेढ दशकदेखि उपन्यास र कथाका विधामा निरन्तर कलम चलाउँदै आएकी स्रष्टा हुन् सानु शर्मा । हालसम्म उनका पाँच कृति प्रकाशित छन् । उनको आख्यान–शृङ्खला– ‘फरक’ हरेक सोमबार र शुक्रबार नियमितरूपमा प्रकाशित हुनेछ ।
[email protected]