• २०८२ आश्विन ८, बुधबार

सुरभिको १७१ औं आख्यान वाचन सम्पन्न

काठमाडौँ ।

सुरभि साहित्य प्रतिष्ठानको नियमित आख्यान वाचनको १७१ औं शृङ्खला सम्पन्न भएको छ । प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलको अध्यक्षता तथा वरिष्ठ बालसाहित्यकार गङ्गा पौडेल कर्माचार्यको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा कथाकार दिवाकर न्यौपाने, पत्रकार विनोद दाहाल वत्स र केशव भण्डारी जस्ता व्यक्तित्व अतिथिको रूपमा सहभागिता थियो । प्रतिष्ठानका सचिव अच्युत घिमिरेले स्वागत मन्तव्य प्रस्तुत गरेका थिए ।

सहसचिव मेनका पोखरेल आचार्यले सञ्चालन गरेको उक्त कार्यक्रममा दश स्रष्टाले कथा र लघुकथा वाचन गरेका थिए । जसमा शारदा पराजुली, वसन्त रिजाल, परशुराम पराशर, प्रमोद प्याकुरेल, शान्ति रिसाल, सुशील आचार्य, ऋचा, सरिता दुलाल घिमिरे, दिवाकर न्यौपाने र गङ्गा पौडेल कर्माचार्य थिए ।
मन्तव्यको क्रममा प्रमुख अतिथि गङ्गा पौडेल कर्मचार्यले आफू यहीँका कार्यक्रमहरूमा कथावाचन गरेर कथा लेख्न सक्षम भएको सुनाउँदै सुरभि साहित्य प्रतिष्ठानले नियमित कथावाचन गराएर धेरैलाई कथाकार बनाएको बताइन् । यसका लागि यो प्रतिष्ठानको गुणगान गाएर नसकिने बताउँदै यस प्रतिष्ठानका कार्यसमितिका सबै सदस्यलाई धन्यवाद र बधाई दिइन् ।

कार्यक्रममा अर्का अतिथि विनोद दाहाल वत्सले सुरभि यस क्षेत्रको प्रशंसायोग्य साहित्यिक संस्था भएको बताउँदै आख्यान वाचनमा निरन्तरता दिएर यसले रेकर्ड कायम गरेको यथार्थ भएको बताए ।