समाचार

काठमाडौँ ।
कवि तीर्थ श्रेष्ठको एकल कविता वाचन श्वेत शार्दूल एक यात्रा कविताको शिविरमा गैरीधारा, बालुवाटार काठमाडौँमा सम्पन्न भएको खबर छ । मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले कार्यक्रम उद्घाटन गरेपछि कवि श्रेष्ठलाई फूलमाला लगाइ दिएर पछि शुरुआत भएको थियो । प्रतिष्ठानका तर्फबाट स्वागत उषाकिरण भण्डारीले गरेकी थिइन् ।
कवि श्रेष्ठ मन्चमा उभिएर सबैलाई आभार व्यक्त गरेपछि दुई मुक्तकबाट कविताको खाता खोलेका थिए । कविताहरू प्रेमको कविता, बोन्साई, म मुक्तिनाथ, लय, अन्नपूर्ण, देशको नाम, लाहुरे फूल म तिम्रो नाम फेर्न चाहन्छु, चराहरू, आमा, घन्टाघर, ओ काठमाडौ, सर्पहरू, काठमाडौ, एक दिन लगायतका कविताहरू वाचन गरेका थिए । कविता वाचन कार्यक्रम करिब दुई घण्टा चलेको थियो ।
श्रेष्ठका केही गजल सङ्गीता थापाले वाचन गरेकी थिइन् । राजधानीमा कवि, गजलकार, मुक्तककार, पत्रकार र राजनीतिज्ञहरूको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन कवि भोजराज न्यौपानेले गरेका थिए ।