• २०८२ आश्विन २४, शुक्रबार

कृतज्ञता

नानि भारद्वज

नानि भारद्वज

“आऊ मलाई बचाऊ,आऊ मलाई बचाऊ!”
नजिकै हिंडिरहेको घोरलले चित्कार आइरहेको तर्फ ध्यान बढायो। त्यहाँ उसले एउटा घाइते सिंहलाई देख्यो ।
“त्यस्तो जंगलको शक्तिशाली शासक कसरी यस अवस्थामा पुग्यौ ?” उसले सोध्यो। तर सिंहले केही बोलेन ।
“शासक त थियो तर यसले धेरै निरीह प्राणीको हुर्मत लिएको थियो त्यसैले हामीले यसलाई सत्ताच्युत गराएका हौं ।” नजिकै भएको मिर्गले भन्यो ।
घोरललाई भने दया जाग्यो र भन्यो, “राजा त विष्णुको अवतार यिनलाई मर्न त दिनुहुँदैन ।”
“यसलाई यस्तै हालतमा छोडिदिउँ ।”
“किन ?”
“यसले सैयौं वर्ष देखि मच्चाएको आतंकले हामीलाई त्राहिमाम बनाएको थियो,यो घाइते भएपछि बल्ल हामीले चैनको सास फेर्न पाएका छौं ।” उस्को जिज्ञासा मेट्ने प्रयासमा मिर्गले अनुभूति प्रकट गर्यो ।
“हेर, यो मरिहाल्यो भनेपनि अरु छोटे राजा जन्मनेछन् र हाम्रो झनठूलो हुर्मत लिनेछन् बरु यसैलाई बहुराएर जंगलको नेतृत्व दिनुपर्छ ।” भन्दै घोरलले घाइतेलाई ठेल्दै नजिकैको जरुवामा पुर्यायो । पानीमा बिस्तारै जिब्रो ल्याल्याप पार्दै गरेकोे सिंहलाई सुमसुमाउँदै भन्यो,
“पीर नगरिसियोस् महाराज हजुरलाई म बचाउँछु ।”
घोरलले सिंहलाई बचाउने कसम खाँदै चाकरी गरेको देखेर मिर्गका मनमा पनि तरंग पैदाभयो ।
“कतै यो फेरि सिंहासनमा पुग्योभने त म र मेरो परिवारलाई पनि फाइदा होला नि !” भन्ने सोचेर ऊ पनि चाकरीमा जुट्यो । दुवैको सेवा पाएर सिंह बहुरियो । बहुरिने बित्तिकै उनीहरुले प्रश्न गरे,” अहिले कस्तो छ महाराज ?”
“बल्ल बाँचे तर भोक चैं उखरमाउलो भएर आयो ।”
घोरल र मिर्गले त्रसित मुद्रामा सोधे,” के खाउँ त महाराज?” “अरु त सबै आहार गरेकै हो तँलाई चैं मैले चाख्न पाएको छुइन ।” भन्दै उसले घोरलको गर्धन अँठ्यायो ।


नानि भारद्वज
बौद्ध, काठमाडौं ।