• २०८२ पुष २, बुधबार

रामचन्द्र दाहालद्वारा लिखित उपन्यास ‘अवसाद’को लोकार्पण

काठमाडौँ ।

सुरभि साहित्य प्रतिष्ठानको १७० औँ कार्यक्रममा रामचन्द्र दाहालद्वारा लिखित उपन्यास ‘अवसाद’को लोकार्पण गरिएको छ । कार्यक्रममा हास्यव्यङ्ग्यकार नगेन्द्रराज पौडेल प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।

कार्यक्रममा सुरभिका संरक्षक युवराज मैनाली, समीक्षक गोपीकृष्ण मैनाली, रामबहादुर पहाडी, घुम्ती कविगोष्ठी नेपालका अध्यक्ष माधवलाल श्रेष्ठ, साहित्यकार विपिन देव र अभिनव साहित्य समाजका उपाध्यक्ष विमल अर्याल अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो ।

प्रतिष्ठानका उपाध्यक्ष परशुराम पराशरको स्वागत मन्तव्यपछि सुरु भएको कार्यक्रममा ‘अवसाद’ उपन्यासको कथा वाचन गरिएको थियो । त्यसपश्चात् प्रमुख अतिथि तथा अन्य अतिथिहरूले संयुक्त रूपमा उपन्यासको विमोचन गर्नुभयो । समीक्षक गोपीकृष्ण मैनालीले उपन्यासको समीक्षा प्रस्तुत गर्नुभएको थियो भने अन्य वक्ताहरूले लेखक दाहाललाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा लेखक दाहालले पुस्तक लेखनका क्रममा आइपरेका विविध अनुभवहरू पनि सुनाउनुभएको थियो । ६० भन्दा बढी साहित्यप्रेमीहरूको सहभागिता रहेको कार्यक्रममा सुशील आचार्य, रञ्जना पराजुली लम्साल, गीता बराल, सरिता दुलाल घिमिरे, मधुसूदनप्रसाद घिमिरे, आलोक चालिसे र अच्युत चालिसेले कथा र लघुकथा वाचन गर्नुभएको थियो । बाजुराम पौडेलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको थियो ।