• २०८२ भाद्र २९, आईतवार

भीम विराग प्रतिष्ठानले ११ सर्जकलाई सम्मान गर्ने

काठमाडौँ ।

भीम विराग संगीत, साहित्य, कला प्रतिष्ठान मकवानपुरले विभिन्न विधाका ११ जनालाई सम्मान गर्ने भएको छ । यही फागुन ७ मा एक साहित्यिक कार्यक्रमबिच सम्मान प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष केशवलाल श्रेष्ठले जानकारी दिनुभयो। अध्यक्ष श्रेष्ठका अनुसार पत्रकार, उद्यमी, संगीतकार, साहित्यकार, स्वास्थ्यकर्मी र विद्यार्थीलाई सम्मान गर्न लागिएको हो ।

प्रतिष्ठानले भीम विराग राष्ट्रिय साहित्य पुरस्कारबाट काठमाडौंकी माया ठकुरी, भीम विराग राष्ट्रिय संगीत पुरस्कारबाट रुपन्देहीका गायक हेमन्त शर्मा, भीम विराग राष्ट्रिय कला पुरस्कारबाट मकवानपुरका कलाकार भोलाराज सापकोटा, भीम विराग राष्ट्रिय पत्रकारिता पुरस्कारबाट काठमाडौंका पत्रकार–साहित्यकार ठाकुर बेल्वासेलाई सम्मान गर्ने भएको छ । प्रत्येक विधाका पुरस्कृतलाई जनही २५ हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

यसैगरी, प्रतिष्ठानले १५ हजार राशिको तुलसीमाया–शिवकुमारी सिर्जनशील नारी सम्मानबाट मकवानपुरकी महिला उद्यमी शोभा श्रेष्ठ, शिला नारी सम्मानबाट मकवानपुरकी महिला उद्यमी मेनका श्रेष्ठ, चिनुकुमारी लामा स्मृति साहित्य सम्मानबाट मकवानपुरका साहित्यकार–बाल साहित्य अभियानकर्मी दीपक गौतमलाई सम्मान गर्ने अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

यस्तै, २) हजार राशिको रामकृष्ण बानियाँ स्मृति लोक संगीत सम्मानबाट पर्वतका लोक दोहोरी गायक कुलेन्द्र विश्वकर्मालाई सम्मान गरिने भएको छ। अध्यक्ष श्रेष्ठका अनुसार १) हजार राशिको भीम–मथुरा बाल प्रतिभा सम्मानबाट मकवानपुरकी विद्यार्थी रीतिका छत्कुली, मंगलादेवी स्मृति स्वास्थ्य सेवा सम्मानबाट मकवानपुरकी स्वास्थ्यकर्मी निर्मला ब्लोन, अजित सेन–कमलेश्वरी गुप्ता भिन्न क्षमता सम्मानबाट मकवानपुरका दृष्टिविहीन मेकानिक सुदर्शन ढकाललाई सम्मान गरिनेछ ।

पुरस्कार वितरण समारोहमा गायक हेमन्त शर्मा तथा लोक दोहोरी गायक कुलेन्द्र विश्वकर्माको विशेष सांगीतिक प्रस्तुति रहने प्रतिष्ठानका सचिव छवि अनित्यले जानकारी दिनुभयो ।