• २०८२ आश्विन ८, बुधबार

बन्धक सपनाहरू

दीपक चौलागाईं

दीपक चौलागाईं

यो उर्वर माटो, यो उन्मुक्त आकाश,
सुन्दर फूल र सुगन्धित हावा
यी कलकलाउदा खोलानालाहरू
धर्तीका ताज
सर्वोच्च हिमश्रृङखलाहरू
यी अनुपम विविधताहरू
एक दिन तिम्रै हातमा सुम्पेकी थिएँ ।

स्मृतिको क्यानभासमा लिखित
यी पौराणिक सम्पदाहरू
मिर्मिरेको यो कलकलाउदो घाम,
बुद्धत्वको शीतल छाया
र आरोग्यका जैविक उद्यानहरू
विश्वासको क्षितिजमा
आशंकाको एउटै टुक्रा बादल थिएन ।

तर तिमीले के गर्यौ ?

काँधभरि
सपनाको घर बोकेर
पाखुरीहरू विदेशिएपछि,
मेरो निधारको उज्यालो
अरबी मरूभूमिमा चम्किन थाल्यो

नव उदारवादको पासोमा
फस्दै गएको सस्तो पसिना
दलालको नव दरबारमा
बेचिने गरेका गोप्य निर्णयहरू
गगनचुम्बी टावरझैँ
राष्ट्रिय गौरवलाई टुक्राटुक्रा पार्दै
तिमीले चढेको
सम्वृद्धिको निजी भर्याङ
र हरेक नेपाली शिरमा
थपिदै गएको साम्राज्यको अभूतपूर्व भार

तर
विश्वासको घेराभित्र,
घातको कालो छाया हुनसक्छ
यसरी त मैले कहिल्यै सोचेकी थिइन

मेरो हातमा अहिले
अभावको जन्जिर कसिएको छ
मेरा पैतालामा
पराश्रयको नेल ठोकिएको छ
मेरा सपनाहरू
असैह्य राजनैतिक ब्यथाले
अस्पतालको सेतो बेडमा बाँधिएका छन् ।

सुन !
म अझै ढलेकी छैन,
मेरो फाँट कहिल्यै चुकेको छैन,
मेरो शिखर कदापि झुकेको छैन,
मेरो नदी आजसम्म रूकेको छैन
यो तपोभूमिमा
स्वाधीनताका बीउहरू उम्रिरहेका छन्
मेरा सन्तानका नशा-नशामा
अझै पनि विद्रोहको आगो दन्किरहेको छ

एक दिन आउनेछ
बगाइएका माटोका कणहरू
फेरि मेरै काखमा समेटिनेछन्
उनीहरू
फेरि आफ्नै आङमा घाम ओढ्नेछन्
आफ्नै माटो हराभरा पारेर
सपनाको संसार सजाउनेछन्
त्यस दिन मेरो नाम
गर्वले उच्चारण हुनेछ
नेपाल !
सन्ततिले निर्धक्क भन्न पाउनेछन्
जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी ।।


दीपक चौलागाईं