• २०८१ माघ २७ आइतबार

‘खिकामाछा टक्सारको ऐतिहासिक दर्पण’ पुस्तक सार्वजनिक

काठमाडौँ ।

‘खिकामाछा टक्सारको ऐतिहासिक दर्पण’ पुस्तक विमोचन गरिएको छ । यशोधरा मावि टक्सारका पूर्व प्रधानाध्यापक गणेश बज्राचार्यद्वारा लेखन तथा सम्पादन गरिएको पुस्तक ‘खिकामाछा टक्सारको ऐतिहासिक दर्पण’ को विष्णु सदन, पिङगलास्थान गौशालामा आइतबार एक समारोहकाबीच विमोचन गरिएको हो ।

कार्यक्रममा इतिहासकार दिनेशराज पन्त, कवि श्याम तमोट, पूर्व प्रधानाध्यापक चन्द्र उदास र इतिहासकार नृसिंह खत्रीले पुस्तकको महत्त्वबारे चर्चा गर्दै शुभकामना व्यक्त गरेका थिए। वक्ताहरूले यो पुस्तकले भोजपुरको खिकामाछा टक्सारको ऐतिहासिक र सांस्कृतिक पक्ष उजागर गर्दै ऐतिहासिक अध्ययनमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे ।

यस्तै प्रमुख अतिथि पूर्व सचिव एवं गीतकार शंकरप्रसाद कोइरालाले पुस्तकमा समेटिएका सामग्रीले इतिहासमा रुचि राख्ने विद्यार्थी, अनुसन्धानकर्ता र पाठकहरूका लागि ‘आँखीझ्याल’ को काम गर्ने बताए । यशोधरा मावि टक्सारका पूर्व प्रधानाध्यापक बज्राचार्यको संयोजनमा आयोजना गरिएको कार्यक्रममा सहभागीहरूले पुस्तकले ऐतिहासिक दस्ताबेजका रूपमा महत्त्वपूर्ण योगदान दिने अपेक्षा व्यक्त गरेका छन् ।