• २०८१ मंसिर १७ सोमबार

ललितकला पुरस्कार, २०७८ आलोक गुरुङलाई

काठमाडौं

वरिष्ठ कलाकार दुर्गा बरालले आफूले पाएको पुरस्कारमा रकम थपेर अक्षयकोष स्थापना गरी सञ्चालनमा ल्याइएको हो ललितकला पुरस्कार ।पोखरेली युवा सांस्कृतिक परिवारले कलामा क्रियाशील स्रष्टालाई प्रत्येक दुई वर्षमा प्रदानगर्ने ललितकला पुरस्कार, २०७८ बाट कलाकार आलोक गुरुङलाई पुरस्कृत गर्ने भएको छ ।

पुरस्कार पाउनु हुने कलाकार गुरुङ तनहुँ अरुबोटमा जन्मेर पोखरामा क्रियाशील चित्रकला, मुहारचित्र र प्रतिस्थापन कलामा अब्बल कलाकार मानिन्छन् । कला मनोरञ्जन र सौन्दर्य मात्रै नभएर चेतनाको उज्यालो हो’ भन्ने गुरुङले हजार भन्दा बढी मुहारचित्र बनाउनुका साथै अन्य सिर्जना गरिसकेका छन् ।

एकल चित्रकला प्रदर्शनी २०१३ दमौली, २०१४ मा पोखरामा, दुईव्यक्ति (दुर्गा बराल–गोपाल श्रेष्ठ) चित्रकला प्रदर्शनी २०३१ बागलुङ, समूह चित्रकला प्रदर्शनी तथा सामूहिककला कार्यशाला अन्तर्गत हङकङ, भारत, सिक्किम, कोरिया तथा नेपालका थुप्रै ठाउँमा उनले आफ्नो कलाप्रदर्शनी गरिसकेका छन् । उनले सिर्जना फाइन आर्ट कलेज र ललितकला क्याम्पसमा समेत आफ्नो कला देखाइसकेका छन् ।

विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित गुरुङलाई नेपालीकलाको विभिन्न विधाको उन्नयनमा पुरयाएको योगदानको कदर गर्दै ललितकला पुरस्कार, २०७८ प्रदान गर्न लागिएको प्रतिभा छनौट समितिका संयोजक वरिष्ठ कलाकार दुर्गा बरालले जानकारी दिए ।

ललितकला पुरस्कारबाट पोखराका पहिलो कलाकार कृष्णप्रसाद श्रेष्ठ, गोपाल श्रेष्ठ, क्षेत्रलाल कायस्थ, बुद्धि गुरुङ, हरेराम जोजिजु, यादवचन्द्र भूर्तेल, सरोजा खड्की, मुकेश मल्ल, लोकप्रसाद गुरुङ र राजन काफ्ले पुरस्कृत भइसकेका छन् । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानका निवर्तमान कुलपति सरुभक्तको प्रमुख आतिथ्यतामा आगामी असार ४ गते शनिबार नगद, ताम्रपत्र र दोसल्लासहित पोखरामा पुरस्कार प्रदान गरिने परिवारका अध्यक्ष मोती भुजेलले जानकारी दिए ।