• २०८३ जेष्ठ १५, शुक्रबार

अपरिचित अनुहारहरू

 कैलासकुमार पाण्डेय

कैलासकुमार पाण्डेय

एकदमै बिगबिगी छ
अपरिचित अनुहारहरूको ।
नयाँ र जान्ने भनिएको छ
अरूले भत्कायो, हामी बनाउँछौँ
अरूले बिगारे, हामी सपार्छौँ
अरूले खाए, हामी नखाई गर्छौँ
भन्न त धेरै भन्दैछन्
खै के गर्छन् ?
कस्तो गर्छन् ?
अपरिचित अनुहारहरू ।

अस्ति पनि यस्तै
नयाँ सत्ता पुरानो सत्ताको
खेल भएको थियो
उहिले–उहिले पनि यस्तै
नयाँ–पुरानोको भेदको
पर्खाल बनेकै थियो
ठिक्क त्यही त्यस्तै भने होइनन्
जताततै नयाँ–नयाँ, झन् नयाँ देखिँदैछन् ।

अपरिचित अनुहारहरूमा
कतै दक्षिणको झल्को देखिन्छ
कतै उत्तरको
कतै सात समुद्रपारिको झल्को देखिँदैछ ।
कुनै ज्याकेटमा झल्कँदैछन् भने
कुनै ट्याटुमा
कुनै जर्सीमा देखिँदैछन् भने
कुनै पानी बाँड्नमा
मज्जा लिँदै देश जलाउन
पुरानो भत्काउँदै नयाँ बनाउँदै छन्
अपरिचित अनुहारहरू ।

चुपचाप
घरटहरा भत्काइँदैछन्
पुराना ऐन, नियम, नियुक्ति
बर्खास्त हुँदैछन्
नयाँ, जान्ने छान्ने अभियान छ
ट्विट, फेसबुकमा सूचना हेर्न मिल्छन्
डिस्कोर्डबाट देश चलाउँदैछन्
अपरिचित अनुहारहरू ।

दम्भ देखाउँछन्
रिस पोख्छन्
आगो ओकल्छन्
पूर्वाग्रह बोक्छन्
ईर्ष्या पालेर बस्छन्
तोड्ने, फोड्ने, भत्काउनेमा लागेका
अपरिचित अनुहारहरू ।

भत्काएर देश बन्छ भन्छन्
एउटा सिंहदरबार जले के भो
सात बनाउँछौँ भन्छन्
सुनको जलप लगाएर
नवधनाढ्यको सिँढी चढ्दैछन्
अपरिचित अनुहारहरू ।

पुरानाहरू देश छोडून
नछोडे जेल कोच्ने
मुद्दा लगाएर भए पनि कमजोर पार्ने
कुण्ठा बोकेर
पूर्वाग्रह साध्दैछन्
अपरिचित अनुहारहरू ।

देश सबको साझा हो
देश विधिले चल्दछ, व्यक्तिले होइन
रङ्कदेखि राजा सम्म
कानुनमा बराबर हुन्छन्
स्वतन्त्रता, समानता, लोकतन्त्र
राजनीतिक मूल्य र मान्यता बुझेका छैनन्
विश्वास पनि गर्दैनन्
अपरिचित अनुहारहरू ।


कैलासकुमार पाण्डेय
परशुराम–१२, डडेल्धुरा