• २०८१ माघ २७ आइतबार

ध्रुव जोशीको निबन्धसंग्रह ‘आफैलाई खोज्दै’ विमोचन

काठमाडौं ।

नेपाल स्रष्टा समाजले आयोजना गरेको एक कार्यक्रममा कृषि वैज्ञानिक ध्रुव जोशीको पहिलो निबन्धसंग्रह ‘आफैलाई खोज्दै’ सार्वजनिक गरिएको छ । ललितपुरस्थित हेरिटेज गार्डेनमा सम्पन्न उक्त कार्यक्रममा प्रा. डा. माधवप्रसाद पोखरेललगायत व्यक्तिले उक्त कृति लोकार्पण गरेका थिए । डा. पोखरेलले पुस्तकभित्रको निबन्धका हरफहरूका चेपचेपमा अर्थ लुकेको बताए । ध्रुव जोशीका निबन्धहरू ‘ध्रुव जोशीकै जस्तो’ भएको उनले उल्लेख गरे ।

समीक्षक प्रा. डा. भरतकुमार भट्टराईले ८२ वर्षीय जोशीका निबन्धमा समाजको यथार्थ प्रकट भएको बताए । उनले यसभित्रका १८ निबन्धको चर्चा गरे । जोशीले आफूले निबन्ध लेख्न २०२८ सालदेखि नै सुरु गरेको बताए । निबन्धका रूपमा आफ्ना अनुभूतिलाई शब्दमा उनेको उनले उल्लेख गरे ।कार्यक्रममा प्रा. रामकुमार पाँडे, पवन आलोक, श्रीओम श्रेष्ठ ‘रोदन’, प्रकाश सायमी, रञ्जना निरौलाले बोलेका थिए ।