• २०८० मंसिर २० बुधबार

नयाँ वर्षको पूर्वसन्ध्यामा काव्य उत्सवको वसन्तऋतु काव्य वर्षा

काठमाडौँ, चैत्र २७ गते

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपालले नयाँ वर्ष आगमनको अवसर पारेर वसन्तऋतु काव्य उत्सव साहित्यिक कार्यक्रम सम्पन्न गरेको छ । चैत्र २६ गते शनीवार अनलाइन जुमका माध्यमबाट सञ्चालन भएको कार्यक्रममा अनेसास नेपालका महासचिव ऋषभदेव घिमिरेले उपस्थित स्रष्टाहरूलाई स्वागत गर्नुभयो ।

कार्यक्रममा सर्जकहरू उपमा आचार्य, गीता रेग्मी, मञ्जिला अनिल, सिता बिष्ट कार्की, चन्द्रा न्यौपाने, कल्याण पन्त, चित्रा कोइराला, संगीता गौतम, पार्वती भट्ट, हिरा शर्मा संघर्ष आदिले आआफ्ना रचना वाचन गर्नुभएको थियो । महासचिव ऋषभदेव घिमिरे र कार्यक्रम संयोजक पुष्पा खनालले पनि आफ्ना रचना सुनाउनु भएको थियो ।

कार्यक्रममा सहभागी स्रष्टाहरूले वसन्तका गाथा, नयाँ वर्षका हर्ष उमङ्गका साथै नारी चेतना र सौन्दर्यका कुराहरू पनि जोडेका थिए । नयाँ सालको पात्रो पल्टाएर मात्र नयाँ सिर्जना नहुने र नयाँ सिर्जनाका लागि नयाँ लक्ष्य र कर्म आवश्यक रहेको वाचन गरिएका सिर्जनाको भाव थियो ।

जूमको माध्यमबाट सर्जकहरूको सहभागिता गराइएको कार्यक्रमको सञ्चालन अनेसास नेपाल काव्य उत्सव समितिका संयोजक पुष्पा खनालले गर्नुभएको थियो । अग्रजको सम्मान र अनुजलाई प्रेरणा भन्ने उद्धेश्यले अनेसासले काव्य उत्सव कार्यक्रम शुरु गरेको हो ।

विगत पाँच वर्ष देखि प्रत्येक महिनाको अन्तिम शनिवार विविध माध्यम मार्फत यो कार्यक्रम निरन्तर चलिरहेको छ ।